जनताले नयाँ अनुहार मात्रै होइन, नयाँ सोच र कार्यशैली खोजिरहेका छन् : गणेश पराजुली

डिसी नेपाल
२६ वैशाख २०८३ २०:३७

ठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले जनताले नयाँ अनुहार मात्र नभई नयाँ सोच, संस्कार र कार्यशैली खोजिरहेको बताएका छन्। पार्टीको प्रशिक्षण विभागले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उनले सांसदहरूलाई जनअपेक्षाअनुसार जिम्मेवार र परिणाममुखी ढंगले क्रियाशील हुन आग्रह गरे।

उपनेता पराजुलीले राजनीतिलाई सेवा, जिम्मेवारी र परिणामसँग जोड्नुपर्ने जनअपेक्षा रहेको उल्लेख गर्दै उक्त अपेक्षा र पार्टीप्रतिको विश्वासलाई परिणाममा बदल्नुपर्नेमा जोड दिए।

पराजुलीले प्रशिक्षणबाट हासिल हुने अनुभव र ज्ञानले आगामी संसद् अधिवेशनलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले संसद र संसदीय समितिको भूमिका, पार्टी–संसद र सरकारबीचको समन्वय, संसदीय मर्यादा र आचरण, तथ्यमा आधारित बहस, जनउत्तरदायी राजनीतिक व्यवहार तथा प्रभावकारी नेतृत्व विकासजस्ता विषयमा प्रशिक्षण केन्द्रित रहने बताए।

‘आजको राजनीति केवल नाराले चल्दैन। क्षमता, तयारी, अध्ययन र परिणामले राजनीतिलाई परिभाषित गर्छ। जनताले अब कसले के भन्योभन्दा पनि कसले के गर्‍यो भन्ने आधारमा मूल्यांकन गर्न थालेका छन्’, उनले भने, ‘रास्वपाले सुरुदेखि नै सुशासन, पारदर्शिता, जवाफदेहिता र परिणाममुखी राजनीतिलाई मूल आधार बनाएको छ। त्यसैले जनतासँग गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न सक्षम सांसद र सशक्त संसदकाे आवश्यकता छ।’

उनले प्रशिक्षणलाई औपचारिक कार्यक्रम मात्र नभई सिकाइ, आत्ममूल्यांकन, अनुभव आदानप्रदान तथा भविष्यको राजनीतिक संस्कार निर्माण गर्ने अवसरका रूपमा लिन आग्रह गरे।

उद्घाटन समारोहपछि उपसभापति एवं अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बन्द सत्रमा सांसदहरूलाई प्रशिक्षण दिएका थिए। यसैगरी महामन्त्री भूपदेव शाहले पार्टी, सरकार र सदनबीचको समन्वय तथा उपनेता पराजुलीले संसदीय समितिमा सांसदहरूको भूमिकाबारे प्रशिक्षण दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *