करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका दुई लाख ४५ हजार यहुदी अझै जीवित
Ruth Winkelmann, 95, who is one of the survivors of the Holocaust, attends an interview with the Associated Press in Berlin, Germany, Wednesday, Jan. 17, 2024. Almost 80 years after the Holocaust, about 245,000 Jewish survivors are still living across more than 90 countries. A new report reveals that nearly half of them, or 49%, are living in Israel, 18% in Western Europe, 16% in the United States, and 12% in countries of the former Soviet Union. (AP Photo/Ebrahim Noroozi)
काठमाडौं। करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका करिब दुई लाख ४५ हजार यहुदी अहिले पनि ९० भन्दा बढी मुलुकमा बसिरहेको एउटा नयाँ प्रतिवेदनबाट थाहा भएको छ।
न्युयोर्कमा रहेको क्लेम्स कन्फरेन्सका अनुसार तीमध्ये करिब आधा (४९ प्रतिशत) इजराइलमा बसेका छन् भने पश्चिम युरोपमा १८ प्रतिशत, अमेरिकामा १६ प्रतिशत र १२ प्रतिशत पूर्वसोभियत सङ्घका मुलुकहरूमा छन्।
जनसाङ्ख्यिकीय प्रतिवेदनको प्रकाशनअघि यहुदी नरसंहारबाट बचेकाहरू अझै कति जीवित छन् भन्ने अस्पष्ट अनुमानहरू मात्र थिए। अधिकांश धेरै बूढा र प्राय कमजोर स्वास्थ्य अवस्था भएका औसत ८६ वर्ष उमेरका उनीहरूको सङ्ख्या तीव्ररूपमा घटिरहेको छ।
बाँचेका मानिसहरूमा २० प्रतिशत ९० वर्षभन्दा माथिका छन् र पुरुषहरू (३९ प्रतिशत) को तुलनामा धेरै महिला (६१ प्रतिशत) अझै जीवित छन्। उनीहरूको जन्म सन् १९२८ पछि भएको थियो । उक्त प्रतिवेदन अगस्टमा सङ्कलन गरिएको आँकडामा आधारित हो।
क्लेम्स कन्फरेन्सका कार्यकारी उपाध्यक्ष ग्रेग स्नाइडरका अनुसार यी त्यस्ता यहुदीहरू हुन् जो यसै संसारमा जन्मेका थिए जसले उनीहरूको हत्या भएको हेर्न चाहन्थे। तिनीहरूले युवाअवस्थामा यहुदी नरसंहारको अत्याचार सहे र आफ्नो परिवार तथा समुदायलाई समाप्त गर्ने शिविर र बस्तीहरूको खरानीबाट सम्पूर्ण जीवन पुनः सुरु गर्न बाध्य भए।
यहुदी नरसंहारका क्रममा नाजी तथा तिनका सहयोगीहरूले ६० लाख युरोपेली यहुदी र अन्य अल्पसङ्ख्यकको हत्या गरेका थिए। नाजीले कब्जा गरेको युरोपमा कति यहुदी मृत्यु शिविर, यहुदी बस्ती वा अन्य लुकेर बसेका थिए भन्ने स्पष्ट छैन तर उनीहरूको सङ्ख्या युरोपमा युद्धपूर्वको यहुदी जनसङ्ख्याभन्दा अत्यन्त कम थियो।
पोल्यान्डमा सन् १९३९ मा त्यहाँ रहने ३३ लाख यहुदीमध्ये तीन लाख मात्र बाँचेका थिए। एडोल्फ हिटलर सत्तामा आएको वर्ष सन् १९३३ मा जर्मनीमा करिब पाँच लाख ६० हजार यहुदी बस्दै आएका थिए। सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यमा आप्रवासन तथा विनाशका कारण उनीहरूको सङ्ख्या करिब १५ हजारमा घटेको थियो।
पूर्वसोभियत संघका मुलुकबाट दुई लाख १५ हजारभन्दा धेरै यहुदी आप्रवासी तथा उनीहरूका परिवार जर्मनी आएसँगै सन् १९९० पछि जर्मनीमा यहुदी समुदाय फेरि बढ्यो। ती मुलुकबाट आएकामध्ये नरसंहारमा जीवित केही मात्र थिए।
जनसाङ्ख्यिकीय प्रतिवेदनअनुसार हाल जर्मनीमा १४ हजार दुई सय मात्र नरसंहारबाट बाँचेका यहुदी बस्छन्। तीमध्ये एक रुथ विन्केलम्यान हुन् उनी बर्लिनको उत्तरी बाहिरी भागमा एउटा बगैँचाको शेडमा आफ्नी आमा र बहिनीसँग लुकेर बाँचेकी थिइन्।
उनका बुबा असविट्जको मृत्यु शिविरमा हत्या गरिएको थियो। उनकी कान्छी बहिनी एस्तरको सोभियत लाल सेनाद्वारा बर्लिन स्वतन्त्र हुनुभन्दा केही साता पहिला सन् १९४५ मा भोक र थकानका कारण मृत्यु भएको थियो।
अहिले पनि बर्लिनमा बस्दै आएकी ९५ वर्षीया विन्केलम्यानले प्यारो बुबालाई नसम्झेको आफ्नो जीवनमा त्यस्तो कुनै दिन नभएको बताइन्। “यसले सधैं पीडा दिन्छ, पीडा दिनरात हुन्छ”, उनले भनिन्।
क्लेम्स कन्फरेन्सले ‘जर्मन सरकारसँग क्षतिपूर्ति कार्यक्रमहरूका लागि योग्यता मूल्यांकन गर्ने सम्झौताका आधारमा’ प्रतिवेदनले यहुदी नरसंहारबाट बचेकाहरूलाई परिभाषित गरेको बताएको छ।
जर्मनीका लागि उक्त परिभाषामा सन् १९३३ जनवरी ३० देखि सन् १९४५ मेसम्म मुलुकमा बसोबास गर्ने यहुदी समावेश गर्दछ। सन् १९३३ जनवरी ३० मा हिटलर सत्तामा आएका थिए र सन् १९४५ मेमा दोस्रो विश्वयुद्धमा जर्मनीले बिनासर्त आत्मसमर्पण गरेको थियो।
समूहले नाजीअन्तर्गत पीडित यहुदीहरूका तर्फबाट दावीहरू सम्हाल्छ र प्रत्येक वर्ष जर्मनीको वित्त मन्त्रालयसँग क्षतिपूर्तिका लागि वार्ता गर्दछ। जर्मनी सन् २०२४ का लागि विश्वभरमा यहुदी नरसंहारबाट बचेकाहरूका लागि समग्रमा थप एक अर्ब ४० करोड अमेरिकी डलर विस्तार गर्न सहमत भएको क्लेम्स कन्फरेन्सले जुनमा बताएको थियो।
सन् १९५२ देखि जर्मन सरकारले नाजीद्वारा उत्पीडनको परिणामस्वरूप हुने पीडा र हानिका लागि व्यक्तिहरूलाई ९० अर्ब डलरभन्दा धेरै भुक्तानी गरेको छ।
क्लेम्स कन्फरेन्सले धेरै क्षतिपूर्ति कार्यक्रम सञ्चालन गर्दछ र विश्वस्तरमा बाँचेका मानिसहरूलाई सिधै भुक्तानी गर्दछ। उसले विश्वभरमा तीन सयभन्दा धेरै सामाजिक सेवा एजेन्सीहरूलाई अनुदान प्रदान गर्दछ र बाँचेका मानिसहरूको घरेलु हेरचाह, भोजन, औषधि, यातायात र सामाजिकीकरण जस्ता सेवा प्राप्त गरेको सुनिश्चित गर्दछ।
कन्फरेन्सले धेरै शैक्षिक परियोजनाहरू पनि सुरु गरेको छ। बाँचेका यहुदीहरूको सङ्ख्या कम भइरहेको र यहुदीविरोधी भावना पुनः बढ्न थालेकाले यस्ता परियोजनाले बाँचेका मानिसहरूको गवाहीलाई युवा पुस्तासम्म हस्तान्तरण गर्ने महत्त्वलाई दर्शाउँछ।
“हामीले संकलन गरेको तथ्यांकले हामीलाई नरसंहारबाट बाँचेका कति र कहाँ छन् भनेर मात्र बताउँछ, अधिकांश बाँचेकाहरूको हेरचाह र सेवाहरूको आवश्यकता बढिरहेको यसले स्पष्ट संकेत गर्दछ”, क्लेम्स कन्फरेन्सका अध्यक्ष गिडियन टेलरले भनिन्, “अब यो घट्दो जनसङख्यामा हाम्रो ध्यान दोब्बर गर्नुपर्ने समय हो, उनीहरूलाई हाम्रो सबैभन्दा बढी आवश्यकता छ।”
बर्लिनमा बाँचेकी विन्केलम्यानले दशकौंसम्म कसैसँग यहाँसम्म कि आफ्ना श्रीमान्लाई पनि नरसंहारका क्रममा भोगेको त्रासका बारेमा बताइनन् तर सन् १९९० को दशकमा एक दिन एक अपरिचित उनीसँग आए।
उनले डेभिड स्टारको पेन्डेन्टसँगै उनको हारलाई देखे। त्यसपछि उनले विन्केलम्यानलाई उहाँ यहुदी नरसंहारबाट बाँच्नुभएको भन्दै उनकी छोरीको स्कुल कक्षामा आफ्ना अनुभवबारे कुरा गर्न सक्नुहुन्छ भनी प्रश्न गरे।
“जब मैले यहुदी नरसंहारका बारेमा ती छात्राहरूसँग कुरा गर्न थालेँ, मेरो आँसु थामिएन तर त्यसबेलादेखि मैले यसबारेमा धेरै पटक कुरा गरेँ र प्रत्येक पटक मैले कम आँसु बगाएकी छु”, गत साता उनले एपीलाई भनिन्।
जुन आतंककबाट आफू र बाँकी बाँचेकाहरू गुज्रिनुभयो त्यसको कहिले पनि अन्त्य हुन नसक्ने भन्दै विन्केलम्यानले अब आफ्नो कथा सुनाउनुलाई आफ्नो जीवनको मिसन बनाएको बताइन्। पन्चानब्बे वर्षको उमेरमा पनि उनी अहिले पनि जर्मनीभरका स्कुलहरूमा जान्छिन् र उनका श्रोताहरूका लागि एउटा सन्देश दिन्छिन्।
“म बालबालिकाहरूलाई भन्छु, हामी सबैको ईश्वर एउटै हुन्, यद्यपि हामीले उहाँलाई अलग अलग नाम दिएका छौँ र उहाँका लागि अलग अलग प्रार्थना गर्दछौँ, हामीलाई केले अलग बनाउँछ भन्दा पनि हामीलाई केले एकताबद्ध गर्छ भनेर हामीले हेर्नुपर्छ”, उनले भनिन्, “हामी असहमत भए पनि हामीले एकअर्कासँग कुरा गर्न छाड्नु हुँदैन ।”







डिसी नेपाल







Facebook Comment