बाजुरामा लोभलाग्दो आलु खेती

डिसी नेपाल
१४ वैशाख २०८३ १९:२७

बाजुरा। बाजुराका हरेक गाउँ बस्तीमा आलु व्यवसाय फस्टाउँदै गएको छ। कृषि पेशामा आत्मनिर्भर यहाँका किसानहरुले पछिल्लो समय आलु खेतिलाई बढवा दिँदै गएका छन्।

अन्नबाली भन्दा जीविकोपार्जनमा आलु व्यवसाय सहज भएपछि अहिले यहाँका अधिकांश कृषकहरुले ठूलो मात्रामा आलु खेती गरिरहेका छन्। बाजुराका ९ वटै स्थानीय तहमा आलु खेती गर्ने गरिन्छ।

बिशेषगरी बाजुराको बडीमालिकामा सबैभन्दा बढी आलु उत्पादन हुने गर्छ। खेती कम गरेपनि आलुको उत्पादन भने राम्रो हुने गरेको छ। बडीमालिका ७ ढम्कनेलाई बाजुरा जिल्लाको आलुको राजधानी भनेर चिनिने गरिन्छ।

जहाँ १ जना किसानले २० देखि ६० क्विन्टलसम्म आलु फलाउने गरेका छन्। आलुको उत्पादन,प्रवद्र्धन र बजारीकरणमा सहयोग पुर्याउन वि.सं.२०७६ साल कात्तिकमा आलु महोत्सव सञ्चालन गरिएको थियो।

महोत्सवपश्चात् ढम्कनेको आलु देशका ठूला शहर पोखरा, काठमाडौं, नेपालगञ्ज, धनगढी लगायतका सहरहरूमा बजारिकरण गरिएको थियो। अहिले पनि यहाँको आलु ती शहरमा जाने गर्छ। आलु पाठशाला समेत सञ्चालनमा रहेको छ।

आलुबाट आलु चिप्स, मम, खीर, समोसा र पकौडा लगायत ३० बढी परिकार बनाउन सकिन्छ। बाजुरामा करिब एक हजार ९२५ हेक्टर जमिनमा झण्डै २० हजार ४७० मेट्रिकटन आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराको तथ्यांकमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *