गर्मीका कारण गरिबहरूको संख्या ७०० प्रतिशत बढ्ने
काठमाडौँ । विश्व बैंकको पछिल्लो प्रतिवेदनले विश्वका सहरहरूमा बढ्दो गर्मी एक ‘साइलेन्ट किलर’का रूपमा फैलिरहेको डरलाग्दो तथ्य सार्वजनिक गरेको छ।
विशेष गरी ‘ग्लोबल साउथ’ भनिने विकासोन्मुख देशहरूका सहरहरूमा तीव्र सहरीकरण र जलवायु परिवर्तनका कारण यो समस्या निकै भयानक बन्दै गएको छ। प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सहरमा बस्ने र खतरनाक गर्मीको सामना गर्ने गरिबहरूको सङ्ख्यामा ७०० प्रतिशतले वृद्धि हुनेछ।
यसको अर्थ आजको तुलनामा सात गुणा बढी मानिसहरूले गर्मीको कहर झेल्नुपर्नेछ, जसले जनस्वास्थ्य, शिक्षा र आर्थिक उत्पादकत्वमा गम्भीर असर पार्नेछ।
सहरहरूमा बढ्दो कङ्क्रिटको प्रयोग र रुख-बिरुवाको कमीका कारण उत्पन्न ‘अर्बन हिट आइल्याण्ड इफेक्ट’ले गर्दा तापक्रम १० डिग्री सेल्सियससम्म बढी महसुस हुने गरेको छ। यो अत्यधिक गर्मीले गर्दा मजदुरहरू काममा जान नसक्ने, विद्यालयहरू बन्द गर्नुपर्ने र स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढ्ने जस्ता समस्याहरू देखिन थालेका छन्।
बढ्दो गर्मीसँगै बिजुलीको मागमा हुने वृद्धिले ऊर्जा प्रणालीमा समेत ठुलो दबाब सिर्जना गरेको छ। प्रतिवेदनले पश्चिम अफ्रिका र दक्षिण-पूर्वी एसियाका सहरहरूलाई सबैभन्दा उच्च जोखिमको क्षेत्रका रूपमा पहिचान गरेको छ, जहाँ गरिब परिवार र बाहिर काम गर्ने मजदुरहरू यसको पहिलो सिकार बन्नेछन्।
यस संकटको सामना गर्न विश्व बैंकले यूएन-ह्याबिट्याट र यूएनईपीसँगको सहकार्यमा ‘ह्यान्डबुक अन अर्बन हिट म्यानेजमेन्ट इन द ग्लोबल साउथ’ सार्वजनिक गरेको छ। तीन भागमा विभाजित यो निर्देशिकाले नीति निर्माता र प्राविधिकहरूलाई गर्मीको जोखिम मापन गर्न र समाधानका उपायहरू अपनाउन मार्गदर्शन गर्दछ।
यसमा हरियाली प्रवर्द्धन, भवनहरूमा प्राकृतिक हावा र प्रकाशको व्यवस्था, छतमा बगैँचा र सस्तो शीतलन प्रविधि जस्ता किफायती समाधानहरू सुझाइएको छ। विज्ञहरूका अनुसार अब गर्मीलाई केवल मौसमी समस्या मानेर बेवास्ता गर्ने समय सकिएको छ र सहरहरूले तत्कालै सक्रिय कदम नचाले भविष्यमा मानवीय र आर्थिक क्षति अझै भयावह हुने निश्चित छ।







डिसी नेपाल







Facebook Comment