माधव नेपाललाई हराएर चर्चामा आएका झग्गु सुवेदी १६ वर्षपछि संसदमा प्रवेश गर्दै

भन्छन्- विगतको जित असाधारण, अहिलेको सहज

शरद रिजाल
१२ माघ २०८० १२:४८

काठमाडौं। माओवादी नेता झग्गु सुवेदी २०६४ मा माधव नेपाललाई अप्रत्याशित रुपमा पराजित गरेपछि राष्ट्रिय राजनीतिमा चर्चामा आएका थिए। राष्ट्रिय राजनीतिमा चर्चित बन्ने अवसर प्राप्त गरे पनि त्यसयता माओवादी खस्किँदो जनाधारले कुनै पनि निर्वाचनमा उनी विजयी हुन सकेनन्।

उनको जितले तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले १४ वर्षदेखि विराजमान पार्टीको कार्यकारी पद गुमाउनु परेको थियो। २०६४ मा दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनलाई काठमाडौं २ मा सुवेदीले रौतहट ६ मा माओवादीकै देवेन्द्र पटेलले पराजित गरेका थिए।

दुबै निर्वाचन क्षेत्रमा पराजय व्यहोरेपछि उनको राजनीतिक यात्रा ओरालो लागेको थियो। लामो समयसम्म पार्टीको नेतृत्वमा रहेका उनको महत्वकांक्षा आज पनि पार्टी अध्यक्ष बन्न लालायित छन्।

एमालेमा पराजय पछि महासचिव पद हस्तान्तण गरे पनि फेरि अध्यक्षको मोहले नवौं महाधिवेशनमा एमाले अध्यक्ष केपी ओली विरुद्ध उम्मेदवारी दिएर नेपाल पराजित भएका थिए।

अहिले त्यसैको तुषस्वरुप नयाँ पार्टी गठन गरेर अध्यक्ष बनेका छन्। उनलाई सुवेदीले पराजित गरेपछि राजनीतिमा निकै ठूलो धक्का लाग्यो त्यसको परिपूर्ती गर्न आजसम्मै उनको अथक मेहनत जारी छ।

यता सुवेदीलाई पनि नेपालमाथिको जित पछिको ओज राष्ट्रिय राजनीतिमा कायम राख्न सकेनन्। उनले त्यसपछि कुनै पनि निर्वाचनमा विजयी हुन असमर्थ रहे। उनी २०४९ को स्थानीय निर्वाचनमा रोल्पाको जिविस सभापति भएका थिए।

त्यसको दुई वर्षपछि माओवादी गठन हुँदै उनको दलले युद्ध सुरु गरेपछि उनी भूमिगत भएर जनयुद्धमा हेलिए। माओवादी युद्धमा प्रवास र भूगोलका विभिन्न जिम्मेवारी लिँदै शान्ति प्रक्रियापछि काठमाडौंको उम्मेदवार बनेका थिए।

त्यतिबेलाको समय माओवादीमय थियो। त्यसकै उपज उनले माधव नेपाल हराए। तर त्यो उभार कायम रहन सकेन। अन्ततः वाम गठबन्धन हुँदा पनि २०७४ मा काठमाडौं ६ बाट पराजय ब्यहोरे। अहिले फेरि मतपरिणाम पूर्वनिर्धारित राष्ट्रियसभामा उम्मेदवारी दिएर विजयी बनेका छन्।

राजनीतिक उतारचढावयुक्त यात्रा पार गर्दै अहिले राष्ट्रियसभामार्फत १६ वर्षपछि संसदीय यात्रा तय गरेका छन्। तर जनताबाट अनुमोदित भएर होइन, कांग्रेसको सहयोगमा दलीय जनप्रतिनिधिको मतले स्थायी संसदको रुपमा रहेको माथिल्लो सदन राष्ट्रियसभामा प्रवेश गर्दैछन्।

उनले विगतमा माधव नेपाललाई पराजय गरेको क्षणलाई असाधारण विजयको रुपमा परिभाषित गरेका छन्। नेता सुवेदीले डिसी नेपालसँग प्रतिक्रिया दिँदै त्यतिबेलाको जितले आफू र आफ्नो दललाई चर्चामा ल्याएको बताउँछन्। तर अहलिे राष्ट्रियसभाको जित सहज रहेको उनी औंल्याउँछन्।

‘त्यो मेरो असाधारण विजय थियो, हाम्रो पार्टीलाई चर्चित बनायो र मलाई पनि चर्चामा ल्यायो।’, २०६४ को आफ्नो विजय स्मरण गर्दै उनले डिसी नेपालसँग भने।

त्यसयता माओवादीको क्षयीकरणले गर्दा उनले कुनै पनि निर्वाचनमा जित हात पार्न सकेनन्। २०७० मा उम्मेदवारी नै नदिएका उनले २०७४ मा काठमाडौं ६ मा बामगठबन्धन हुँदा कांग्रेसका भिमसेन दास प्रधानसँग पराजय ब्यहोर्न पुगे।

२०७४ को निर्वाचनमा वामपन्थी दलको प्रभाव नरहेको क्षेत्रका बाबजुद् पनि थोरै मतले पराजित हुनु्लाई आफ्नो मत सम्मानजनक रहेको उनको तर्क छ।

‘त्यतिबेला थोरै मतले पराजित भएको हुँ। एमालेका नेता योगेश भट्टराई पटक पटक पराजित भएको क्षेत्र हो। कांग्रेसको जनाधार बलियो भएको क्षेत्र थियो’, उनले भने, तैपनि मैले देशभरका माओवादीका उम्मेदवारहरुमा कम मतान्तरले पराजित हुनेमा पर्छु। १३०० मतले पराजित हुन पुगे। ’

विगतमा माधव नेपाललाई पराजय गरेर संंसद प्रवेशको क्षणलाई असाधारण र अहिलेको पूर्वनिर्धारित मत परिणामसहितको राष्ट्रियसभा निर्वाचनको जितलाई सामान्य रुपमा लिएको सुवेदी बताउँछन्।

राष्ट्रियसभाको गरिमालाई कायम राख्न आफ्नो अथक मेहनत कायम राख्ने उनको जिकिर छ। सबैको सल्लाह सुझाब ग्रहण गर्दै उत्पीडितको पक्षमा आवाज बुलन्द गर्ने उनले दाबी गरे।

‘मेरो विगतका अनुभवलाई प्रयोग गर्ने छु । जनताका लागि बोल्ने हो। जनताका समस्यालाई सम्बोधन गर्ने छु। गरिखानेको पक्षमा वकालत गर्ने छु’, राष्ट्रियसभाका नवनिर्वाचित सांसद सुवेदी भन्छन्, ‘उत्पीडितको पक्षमा वकालत गर्ने छु। विज्ञहरुसँग सरसल्लाह गरेर राष्ट्रियसभालाई गरिमामय बनाउने छु।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *