रेखा थापा : सन्तान अमेरिकी बनाउने, फिल्म नेपालमा चलाउने

शरद रिजाल
१७ माघ २०८० ११:३७

काठमाडौं। सन्तान जन्माउन अमेरिका पुगेकी रेखा थापाको नेपालमा चलचित्र ‘उपहार’ प्रदशनको मिति नजिकिँदै छ।

उनले चलचित्रको पब्लिसिटी सामाजिक सञ्जालमार्फत गरिरहेकी छिन्। उनको चलचित्र उपहार फागुन २५ गतेदेखि नेपालमा रिलिज हुँदैछ।

नेपालमा प्रदर्शन मिति निश्चित गरेर सन्तान जन्माउन अमेरिका पुगेकी हुन्। चलचित्र निर्माता तथा निर्देशक छवि ओझासँगको बैबाहिक सम्बन्ध टुटेपछि उनले दोस्रो बिहे जाजरकोटका प्रेमी बलराम शाहीसँग गरेकी थिइन्।

उनको दास्रो बिहेपछिको पहिलो सन्तान जन्माउने योजनासहित अहिले थापा अमेरिकामा छिन्। उनले नेपालमा चलचित्र प्रदर्शनको मिति तय गरेर आफ्नो सन्तान अमेरिकी नागरिक बनाउन अमेरिका उडेकी हुन्।

अमेरिकामा आफ्नो सन्तानको उतैको नागरिकता सुनिश्चित गर्न उनी अमेरिका उडेको भन्दै उनको बारेमा निकै टिकाटिप्पणी भइरहेको छ।

उनको उदाहरण दिँदै नेपाली राष्ट्रियताको चित्रण गर्न थालिएको छ। अमेरिका उडान पछि नेपालमा विगतमा व्यक्त उनको राष्ट्रवादप्रति व्यंग्य गर्दै उनको निकै आलोचना भएको छ।

राप्रपाकी नेतृसमेत रहेकी उनले गत निर्वाचनमा मोरङ ४ बाट उम्मेदवारी दिएर पराजित भएकी थिइन्। अहिले सन्तानलाई अमेरिकी नागरिक बनाउने मोहले उनी गर्भावस्थामै अमेरिका पुगकी हुन्। चलचित्रको व्यावासायिक प्रयोजनका लागि नेपाली दर्शकको साथ खोजेकी उनले सन्तानको भविष्य भने अमेरिकामा देखेकी छिन्।

राप्रपाकी नेतृसमत रहेकी उनले आफ्नो सन्तान अमेरिकामा जन्माएर त्यहाँको जन्मशिद्ध नागरिक बनाउन पुगेको भन्दै उनकै पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कटाक्ष गरेका थिए।

उनकै पार्टी अध्यक्ष लिङ्देनले थापालक्षित टिप्पणी गर्दै सन्तान जन्माउन समेत विदेशी भूमिमा जाने अवस्थाले नेपालको दुरावस्था झल्काएको बताएका थिए।

उनको अभिव्यक्ति पछि अभिनेत्री थापाले अमेरिकाबाटै लिदेनलाई जवाफ फर्काउँदै राष्ट्रवादी कहलिनेले आफ्नो सन्तानलाई किन अमेरिकामा बसाएको भन्दै नेपाल फर्काउन चुनौती दिएकी थिइन्।

यी दुबैको वाकयुद्धपछि यो विषय अझै चर्चा र टिप्पणीको माध्यम बनेको छ। अरुलाई अर्ती उपदेश र उदाहरण पेश गरेका अध्यक्ष लिँदेन पनि आफ्ना सन्तानलाई अध्ययनको लागि अमेरिका पुर्याएको विषय सार्वजनिक चर्चाको विषय बनेको छ।

उनकै छोरी अमेरिका पुगेको भन्दै अहिले आलोचना भइरहेको छ। तर, अध्ययनका लागि पठाइएको राप्रपा निकट नेताहरुले बताउँदै आएका छन्। अहिले अभिनेत्री थापाको अमेरिका प्रस्थानको विषय नेपाली राजनीतिमा राष्ट्रियता चित्रित गर्ने माध्यम बनाइएको छ।

उनले नेपालमा चलचित्रको मिति टुंग्याएर सन्तानलाई अमेरिकी नागरिक बनाउन अमेरिका उडेको विषयले चर्चा चलेको छ। अमेरिकी नागरिक बनाउने मोहले अमेरिकाको यात्रा तय गरेपनि उनको चलचित्र्र उपहार’को व्यावसायिक प्रवर्धनका लागि सामाजिक सञ्जालमार्फत प्रचार प्रसारमा अग्रसरता जनाइरहेकी छिन्।

नेपालमा महिला सशक्तीकरणको पक्षमा चलचित्र निर्माण गरेकी थापाले सन्तान जन्माउन अमेरिकी यात्रा तय गरेपछि आलोचना गर्ने क्रम बढ्दो छ।

चलचित्र नगरीमा साहसिक महिलाको पहिचान बनाएर राजनीतिमा होमिएकी उनी अहिले सन्तानलाई अमेरिकी नागरिक बनाउन त्यहाँ पुगेपछि उनले विगतमा व्यक्त गरिएको अभिव्यक्ति प्रति प्रश्न उठाइएको छ।

नेपाली राष्ट्रियताको पक्षमा प्रखरताका साथ आवाज उठाउँदै आएकी थिइन् । उनले आफू अभिनित चलचित्रमा समेत महिला सशक्तीकरण जागृत गर्ने भूमिकामा देखिँदै आएकी थिइन्।

नेपाली चलचित्रमा महिलालाई पनि मूल भूमिकामा देखाएर फिल्म निर्माण र व्यावसायिक सफलता हासिल गर्न सकिने सन्देश उनले नेपाली चलचित्र क्षेत्रमा प्रवाह गरेकी थिइन्।

नेपाली राजनीतिमा राष्ट्रवादी धारणा व्यक्त गर्दै राजसंस्था पुनस्र्थापनाको पक्षमा आन्दोलित राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिएर पराजित भएकी थिइन्। उनी हालकी राप्रपाकी महामन्त्री कुन्ती शाहीसँग पराजित भएकी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *