गजुर नै नभएको मन्दिर ‘बज्रवाराही’ (फोटोफिचर)

दिपा पौड्याल
१७ माघ २०८० १४:२४
68
Shares

काठमाडौं। प्राय मन्दिरहरुमा तपाईले गजुर राखेको देख्नु भएको होला । तर आज हामी गजुर नै नराखिएको बज्रवाराही मन्दिरको बारेमा तपाईलाई बताउनेछौं।

ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको चापागाउँमा अवस्थित छ बज्रवाराहीको मन्दिर । उपत्यकाका चार वाराहीमध्ये बज्रवाराही मन्दिरको बेग्लै विशेषता रहेको यो मन्दिर नेपालको एक शक्तिपीठको रूपमा प्रख्यात छ ।

यस मन्दिरको स्थापना पाटनका राजा श्रीनिवास मल्लले ने.सं ७८६ चैत्र शुक्ल सुदि ८ सोमबारको दिन निर्माण गर्न लगाएको बुझिन्छ । पगोडा शैलीको मन्दिर ने.सं ८५२ मा विष्णु मल्लद्वारा मर्मत गरिएको थियो । यिनै राजाले शिलाको महिष मूर्ति बनाई मन्दिरको ठिक अगाडि पारी ने.सं ८३२ मा स्थापना गरेको कुरा शिलालेखमा उल्लेख गरिएको छ ।

जंगल बीचमा रहेको मन्दिरमा गजुर छैन । मन्दिर एकै रातमा बनाइएको हुनाले गजुर नराखिएको बताइन्छ । किवदन्ती अनुसार बज्रबाराही भएको ठाउँमा पहिला आहाल थियो । एक दिन एउटा राँगो अकस्मात आएर आहालमा बस्यो । त्यही राँगोले देवीको रूप लिएपछि आहाल पुरेर मन्दिर बनाइयो । मन्दिर बनाउँदा-बनाउँदै बिहान भएर भाले बासेपछी गजुर हाल्न नभ्याइको भन्ने कथन रहेको छ ।

तान्त्रिक विधिबाट गुभाजुहरूबाट नित्य पूजा गरिने यस मन्दिरमा अष्टमातृकासहित बज्रवाराहीको शिलाको मूर्ति पनि रहेको छ। दुर्गाकवचमा वाराही देवीको चर्चा विभिन्न ठाउँमा गरिएको हुनाले पनि बज्रवाराही उपासनाको ठूलो महत्व रहेको यहाँका पूजारी बताउँछन्।

प्राकृतिक, धार्मिक तथा ऐतिहासिक खोज गर्ने पर्यटकहरू पुग्नै पर्ने यो ठाउँमा बिभिन्न ४८ किसिमका चराचुरुङ्गी र करिब १६६ किसिमका वनस्पति पाइन्छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *