बंगलादेशलाई उछिन्दै संयुक्त राष्ट्रसंघमा सर्वाधिक शान्तिसेना पठाउने देश बन्यो नेपाल

डिसी नेपाल
२५ माघ २०८० १२:५०

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघका शान्ति स्थापना मिशनमा सबैभन्दा धेरै शान्ति सेना तथा अन्य शान्ति स्थापक कर्मचारीहरु पठाउने देश बनेको छ । बंगलादेशलाई उछिन्दै नेपाल संयुक्त राष्ट्रसंघको शान्ति सेना मिशनमा सबैभन्दा धेरै शान्ति स्थापक पठाउने देश बनेको हो ।

हाल संयुक्त राष्ट्रसंघका विभिन्न मिशनमा कूल ६ हजार २ सय ४७ नेपालीहरुले योगदान गरिरहेका छन् । यसअघिको शीर्ष देश बंगलादेश दोस्रोमा झरेको छ जसका ६ हजार १ सय ९७ जना शान्ति स्थापकहरु संयुक्त राष्ट्रसंघका विभिन्न मिशनमा खटिएका छन् । तेस्रो स्थानमा भारत छ जसका ६ हजार ७३ जनाले शान्ति स्थापनामा योगदान गरिरहेका छन् । रुवान्डाका ५ हजार ९ सय १९, पाकिस्तानका ४ हजार १ सय ६४ शान्ति स्थापकहरु तैनाथ छन् ।

राष्ट्रसंघीय शान्ति मिशनमा नेपालका सबैभन्दा बढी ट्रुप अर्थात सैनिक जवानहरु तैनाथ छन् । विभिन्न मिशनमा नेपालका ५ हजार ५ हजार ८ सय ६५ ट्रुपहरु, ४२ जना मिशन एक्सपर्टहरु, १८० फर्म्र्ड पुलिस युनिटहरु, ५६ जना प्रहरी र १०४ स्टाफ अफिसरहरु तैनाथ छन् ।

पश्चिमी साहाराको मिनुर्सो मिशनमा ५ जना, सेन्ट्रल अफ्रिकन रिपब्लिकको मिनुस्का मिशनमा १ हजार २ सय ३९ जना, मालीको मिनुस्मा मिशनमा ८३ जना, कंगोमा मोनुस्को मिशनमा १ हजार १ सय ५० जना, इराकमा उनामी मिशनमा ८८ जना, सिरिया र इजरायलको युद्ध रोक्न तैनाथ अन्डफमा ४८६ जना तैनाथ छन् ।

साइप्रसको अन्फीसाइपमा ४ जना, लेबनानको युनिफिलमा ८ सय ७२ जना, सुडानको अब्येयीमा तैनाथ युनिस्फामा १०५ जना, हुडायेडाहमा २ जना, सर्बियाको कोसोभोमा १ जना, सुडानको अनमिसमा १ हजार ९ सथ ७४ जना, लिबियाको अन्समिलमा २३५ जना तैनाथ छन् सोमालियामा १ जना, ट्रस सुपरभिजन अर्गनाइजेशनमा २ जना तैनाथ छन् ।

यी विभिन्न मिशनहरुमा कैयौं पटक नेपालीहरुले पूरै मिशनको नेतृत्व गरेका छन् । केही मिशनहरुमा अहिले पनि नेपालीहरु कमाण्डिङ अफिसरहरु छन् । नेपालले यसरी राष्ट्रसंघका शान्ति मिशनहरुमा शान्ति स्थापकहरु पठाउन थालेको दशकौं भइसकेको छ ।

राष्ट्रसंघका मिशनहरुमा यसअघि सबैभन्दा धेरै शान्ति स्थापकहरु बंगलादेशका थिए । अहिले नेपालले उछिन्नुको पछाडि केही मिशनहरु बन्द भएर त्यहाँ तैनाथ बंगलादेशी सैनिकहरु फिर्ता भएका कारण हुन सक्ने नेपाली सेनाका प्रवक्त सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए ।

‘हामीले आफ्नो तरिकाले शान्ति स्थापक पठाउने होइन, उताबाट जस्तो जनशत्तिः जति संख्यामा माग भएर आउँछ त्यही अनुसार पठाउने हो’ प्रवक्ता भण्डारीले डिसीनेपालसँग भने ‘हाम्रो संख्या सबैभन्दा धेरै हुनुले अन्तर्राष्ट्रिय संस्थाले हामीमाथि धेरै विश्वास गरेको भने बुझ्न सकिन्छ ।’

अन्तर्राष्ट्रिय संख्याले नेपाली सेनामाथि विश्वास गरेर यति ठूलो संख्यामा नेपाली सैनिकहरु माग गर्नु नेपालको लागि गौरवको विषय भएको उनले बताए । ‘माग भएर आउँदा हामीले सक्नेजति शान्ति स्थापकहरु पठाउने गरेका छौं’ उनले भने ‘राष्ट्रसंघलाई आवश्यक परेको अवस्थामा उताबाट माग भए हामीले १० हजारसम्म शान्ति स्थापकहरु पठाएर योगदान गर्न सक्छौं ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *