मुख्यमन्त्री कार्कीको अभिव्यक्ति : असक्षमले सक्षमहरुमाथि शासन गर्ने पद्धति भएको चित्रण

शरद रिजाल
२६ माघ २०८० ७:४४

काठमाडौं। राजनीतिक क्षेत्रकै उपहास हुनेगरी कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको अभिव्यक्तिपछि अहिले सामाजिक संजाल निकै तातेको छ।
उनले केही दिन अघि आफ्नै प्रदेशको एक कार्यक्रममा खरिदार तहका कर्मचारीलाई उपेक्षा गर्दै अभिव्यक्ति दिएका थिए।

मोरङको सुन्दर हरैचामा रहेको साजिलाल माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा उनले फस्ट बेञ्चमा बस्ने खरिदार बनेको र आफू लास्ट बेञ्चमा बस्ने मुख्यमन्त्री बन्न सफल भएको बताएका थिए।

उज्जवल भविष्यउन्मुख कलिला विद्यार्थीहरुलाई हौसला र उत्प्रेरणा पैदा गराउनुपर्नेमा कोशी प्रदेशका मुख्यमन्त्री रहेका उनले कर्मचारीप्रति उपेक्षा गर्दै निजामती क्षेत्रप्रति विकर्षण ल्याउने दूराशयपूर्ण अभिव्यक्ति दिएका छन्।

उनको अभिव्यक्तिको चौतर्फी आलोचित भइरहेको छ। उनको अभिव्यक्तिको आशयले राजनीतिक क्षेत्रमा रहेका विद्यमान नेताहरुको असक्षमताको उजागर गरेको सर्वत्र चर्चा छ।

निजामती कर्मचारी संगठनहरुले कर्मचारीको उपेक्षा गर्ने मुख्यमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै बक्तब्य दिएका छन्।

आफू आबद्ध राजनीतिक क्षेत्रकै उपहास हुनेगरी मुख्यमन्त्री कार्कीले दिएको अभिव्यक्तिले उनी मुख्यमन्त्री बनेर व्यक्तिगत रुपमा सफल कहलिए पनि यस क्षेत्रको असफलता र अक्षमताको यथार्थता चरित्र चित्रण गरेका छन्।

उनको अभिव्यक्ति आफ्नै लागि प्रत्युत्पादक र आफ्नो क्षेत्रप्र्रतिको अवमूल्यन पनि हो। उनी स्वयंंमले पनि आफ्नो अभिव्यक्ति मार्फत राजनीतिमा अक्षमहरुको हालीमुहाली रहेको स्वीकार गरेको प्रष्टै हुन्छ।

पछिल्लो समय नेपालको राजनीतिमा मौलाएको निराशाको कारक मुख्यमन्त्रीको कार्कीको जस्तै अभिव्यक्ति र सोही अनुरुपको ब्याबहारिक असफलता पनि एक कारक हो।

अहिले नेपालमा अधिकांश मानिसहरु राजनीतिक क्षेत्रलाई झुठको खेती गर्ने अविश्वसनीय क्षेत्रका रुपमा व्याख्या गर्दछन्। दिनानुदिन यस क्षेत्र प्रति जनमानसमा थप असन्तुष्टि बढ्दै गइरहेको छ।

नेताहरुमाथि भौतिक आक्रमण गर्ने तहसम्म नागरिकहरु उत्रिन थालेका छन्। यसैमा मुख्यमन्त्रीको अभिव्यक्तिले सक्षमहरु जागिरे बन्ने र असक्षमहरुले राज्य सञ्चालन गरेको यथार्थता झनै सतहमा ल्याएको छ।

यद्यपि यसको व्यावहारिक रुपमा पुष्टि नेताहरुले गरिरहे पनि राजनीतिक क्षेत्रकै एक हस्ती आफैंले सहस्र स्वीकार गर्दै सार्वजनिक अभिव्यक्ति दिने स्तरमा मुख्यमन्त्री पुगेका छन्।

‘राजनीति फोहोरी खेल हो’ भन्ने भनाइ पछिल्लो समय चरितार्थ हुँदै गइरहेको हालको सन्दर्भमा मुख्यमन्त्रीको अभिव्यक्तिले असक्षमहरुले सक्षममाथि शासन गर्ने पद्धति नै राजनीति भएको नयाँ भाष्य खडा गरिदिएको छ।

उनको अभिव्यक्तिले नेपालको योग्यता प्रणालीमा नै प्रश्न उठाएको छ। निजामती कर्मचारीको छनोट लोकसेवा आयोगले गर्ने गर्दछ। लोक सेवाको निष्पक्षतामाथि हालसम्म कहीँ कतैबाट प्रश्न उठाइएको छैन।

निजामति कर्मचारी नियुक्ति प्रक्रियामा आयोगले प्रतिस्पर्धात्मक परीक्षामार्फत अब्बल एवं उत्कृष्टलाई निष्पक्षरुपमा चयन गर्ने योग्यता प्रणालीको मानक बनाएको छ। आयोगकोे प्रतिस्पर्धात्मक परीक्षा उत्तीर्ण भएर योग्यता र सक्षमतासहित नियुक्त गरिएका कर्मचारीमाथि नै मुख्यमन्त्रीले प्रश्न उठाएका छन्।

राजनीतिक दलको कार्यकर्ता बन्न पार्टीप्रति बफादार बन्नुपर्छ। दलीय कार्यकर्ताका लागि निश्चित मापदण्ड र योग्यताको आवश्यकता छैन। तर निजामति कर्मचारी बन्न कठोर मेहनत र लगनशीलताको जरुरत पर्दछ।

निश्चित मापदण्ड र तिव्र प्रतिस्पर्धात्मक परीक्षा पार गरेर निजामती सेवामा प्रवेश गरेका कर्मचारीलाई उपेक्षित गर्ने उनको अभिव्यक्तिले समग्र कर्मचारीको आत्मसम्मानमा चोट पुर्याएको छ।

राज्यका स्थायी सरकारको रुपमा रहेका कर्मचारी लक्षित मुख्यमन्त्री कार्कीको अभिव्यक्तिले लोकसेवा आयोगको योग्यता प्रणालीमा आधारित उत्कृष्ट कर्मचारी छनौट प्रक्रिया र त्यसको विश्वसनियतामाथि नै प्रश्न उठाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *