मानव सेवा आश्रमद्वारा दश हजार सडक मानवको उद्धार

डिसी नेपाल
२८ माघ २०८० २३:४६

बागलुङ। हालसम्म देशभर १० हजार सहयोेगापेक्षी सडक मानवको उद्धार गरिएको मानव सेवा आश्रमले उद्धारसँगै सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ।

मानव सेवा आश्रमले सञ्चालन गरेको सडक मानवमुक्त अभियानलाई सफल बनाउन उद्धारसँगै सचेतना अभियान थालिएको छ।

दुई पटकसम्म मेची– महाकाली उद्धार अभियान सम्पन्न गरिसकेको मानव सेवा आश्रमले पछिल्लो समय आमाबाबाको महत्ता जगाउँदै सडक मानवमुक्त अभिायनलाई तीव्रता दिएको छ। आमाबाबाको महत्वबोध गराउन सके सडकमा धेरै बाआमा जानु नपर्ने भन्दै उद्धारसँगै सचेतनाको काममा मानव सेवा आश्रम लागिरहेको छ।

मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र, प्रेम र आफूलाई जन्मदिने मातापिताको महत्व बोध गराई, प्रेम, सद्भाव, करुणालाई जन–जनमा, मन–मनमा पु¥याउने उद्देश्यले जिल्ला जिल्लामा आमा सेमिनार गर्दै हिँडेको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए।

जिल्ला जिल्लामा आमा सेमिनार गर्ने सिलसिलामा अहिले मानव सेवा आश्रम देश दौडाहमा छन्। आमा सेमिनार कार्यक्रममा उपस्थित दर्शकलाई सडक मानवको उद्धार, उपचार, पुनर्मिलन, मेची महाकाली यात्राको विषय समेटिएको वृत्तचित्र प्रदर्शन गर्दै हिँडेको अधिकारीको भनाइ छ।

उक्त वृत्तचित्र हेरेपछि प्रशिक्षण कार्यक्रममा रामजी अधिकारीले आमाबाबु पहिलो ईश्वर रहेको भन्दै बाबाआमाको महत्व झल्काउने गरी, योग, साधना र ध्यानसमेत गराएका थिए। आमा सेमिनार सकिँदा कसैको पनि आँखा ओभानो नदेखिएको पाइएको छ।

आमा र बाबालाई सम्झेर सबै छोराछोरी रोएको सेमिनारमा प्रस्तुत दृश्यले सबैलाई भावुक बनाएको थियो। अध्यक्ष अधिकारीले आफूलाई छोराछोरीको बाबाआमाभन्दा बाबाआमाको छोराछोरीका रुपमा आफूलाई लिन आग्रह गरे।

“उद्धारले मात्रै सडक मानवमुक्त नेपाल हुन कठिन छ, सचेतना जगाउनुपर्ने अर्को काम हो, जबसम्म छोराछोरीले म पनि कसैको छोराछोरी हो भनेर सम्झदैनन् तबसम्म सडकमा मानव भेटिरहन्छन्, एक जिल्लाबाट अर्को जिल्लामा लगेर आमाबाबालाई छोड्ने मनोरोगीलाई जङ्गलमा लगेर छोड्ने कार्य रोक्न सचेतना आवश्यक छ”, अधिकारीले भने, “आमा सेमिनार कार्यक्रमले आमाबाबाको महत्वबोध गराउने प्रेम र सद्भाव र करुणालाई जनमानसमा पुर्‍याउने उद्देश्य आमा सेमिनार हो।”

समाजमा सकारात्मक रुपान्तरणका लागि मानव सेवा आश्रमको अभियान र मानवीय कर्ममा जुटेकाको प्रयासले मानवता प्रवद्र्धनमा टेवा पु¥याउने आश्रमको लक्ष्य रहेको छ। मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीका अनुसार मानव सेवा आश्रम स्थापना भएदेखि हालसम्म १० हजार सडक मानवको उद्धार गरिएको बताउँदै २०८२ मा सडक मानवमुक्त अभियानमा लाग्न सबैलाई आग्रह गरे।

हाल १९ जिल्लाका २४ सेवा केन्द्रमार्फत ७७ जिल्लाबाटै सडक मानवको उद्धार, उपचार, हेरचाह र पुनर्मिलन गर्दै आएको आश्रममा हाल एक हजार आठ सय आश्रित रहेका छन्।

मातृत्व र मातृभूमिप्रतिको दायित्वबोध गराउन मानवसेवा आश्रमले जिल्ला जिल्लामा स्थानीय संघ संस्थाको साझेदारीमा आमा सेमिनार गरी मानवता, राष्ट्रियता, परोपकार र आफूलाई जन्मदिने मातापिता र मातृभूमिप्रतिको महत्वबोध गराउँदै आएकोमा बागलुङमा बागलुङ उद्योग वाणिज्य संघ बागलुङले सहकार्य गरी आमा सेमिनार सम्पन्न गरेको अध्यक्ष नरेश कँडेलले जानकारी दिए।

परिवारबाट अपहेलित हुनुपर्दा अहिले कतिपय बुबाआमा सडक पेटीमा पुग्नुपरेको, घरभित्रै खुम्चिएर बस्नुपरेको र कतिपयले आत्महत्याको प्रयाससमेत गरेको सत्य घटना अधिकारीले आफ्नो प्रस्तुतिको क्रममा सुनाउँदै आमाबुबाप्रतिको स्नेह र सम्मानको महत्व दर्शाउनका लागि आमा सेमिनार महत्वपूर्ण भूमिका खेल्दै आएको बताए।

विसं २०६९ मा हेटौँडामा स्थापना भएको मानव सेवा आश्रमले जिल्ला जिल्लामा शाखा स्थापना गर्दै सेवा सञ्चालन गर्दै आएको छ। बागलुङ शाखा २०७३ सालमा स्थापना भए पनि हाल आफ्नै भवनसमेत निर्माणाधीन अवस्थामा रहेको मानव सेवा आश्रम बागलुङ शाखाका संयोजक विपना तामाङले बताइन्।

तामाङका अनुसार विद्यार्थीलाई नै आमाबाबाप्रतिको माया र सम्मान जगाउनका लागि विद्यार्थी केन्द्रित सचेतना कार्यक्रमसमेत गरिँदै आइएको छ। उद्धारभन्दा घरबाटै मानव अपहेलित भएर सडकमै आउन नदिन सचेतनामूलक कार्यक्रमलाई समेत आश्रमले तीव्रता दिन थालिएको तामाङले बताइन्। हाल बागलुङ शाखामा ५५ जना सहयोगापेक्षी मानव आश्रित रहेका छन्।

सडकपेटी एवं सार्वजनिकस्थलमा अति कष्टपूर्ण जीवन बिताउन विवश सहयोेगापेक्षी बेसहारा, असहाय, अशक्त, अनाथ, शारीरिक तथा मानसिकरूपमा कमजोर मानवमुक्त राष्ट्र नेपाल निर्माण, घोषणा र त्यसको कार्यान्वयनको लक्ष्य मानवसेवा आश्रमले तय गरेको छ। सहयोगापेक्षीको उद्धार, उपचार, पालनपोषण एवं सम्भव भएकाको पारिवारिक पुनर्मिलनलगायत काम गर्दै आइरहेको छ।
(((




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *