बलात्कार आरोप लागेपछि फरार रहेका युवा पक्राउ

डिसी नेपाल
२९ माघ २०८० २२:३२
32
Shares

राजविराज। बजारमा मोबाइल बनाउन दिएर घर फर्किँदै गरेकी महिलालाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका युवक नौ महिनापछि सोमबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–५ मझौरा टोलका ३२ वर्षीय मो. कुर्बान मियाँ रहेका छन्।

हनुमाननगर कंकालिनी नगरपालिका–१ भारहदमा मोबाइल बनाउन दिएर घर फर्किँदै गर्दा जेठ ७ गते राति हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित महादेवा र भारदहको बीच बेलहा पुल छेउमा आरोपितले समातेर मकै बारीमा लगेर बलात्कार गरेको र रातभर राखेको २५ वर्षीया महिलाले बताएकी छन्।

उम्किएर भाग्न खोज्दा ज्यान मार्ने धम्की दिएका आरोपितले भोलिपल्ट भारत हिँड्न दबाब दिएको पीडितले बताइन्। आफ्नो सानो छोरा ल्याई दिने सर्त राखेपछि आरोपित बच्चा लिन महिलाको घर गएपश्चात पछि लागेर घर पुगेकी महिलाले होहल्ला गरेपछि आरोपित फरार भएका थिए। महिलाको सात वर्षीया छोरी तथा चार र साढे एक वर्षीय छोरा छन्।

घटनापछि गाउँघरमा छलफल गरेर पञ्चेती गर्न खोजिएको स्थानीयले बताए। गाउँसमाजकै सल्लाहमा प्रहरीमा उजुरी परेको गाउँलेहरुले बताए। जिल्ला प्रहरी कार्यालयमा जेठ १४ गते उजुरी दर्ता भएको थियो। सप्तरी जिल्ला अदालतबाट जेठ २९ गते पक्राउ पुर्जी जारी भएको थियो। खोजी गर्ने क्रममा फरार आरोपित गाउँघरबाटै पक्राउ परेपछि हिरासतमा राखेर अनुसन्धान थालिएको इन्स्पेक्टर प्रमोद खड्काले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *