उपत्यका बाहिर सात वटा मेडिकल कलेज खुल्ने प्रक्रियामा छन् : मन्त्री राई

डिसी नेपाल
२ फागुन २०८० २१:४०
40
Shares

कटारी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले डा गोविन्द केसीको आन्दोलनपश्चात् सरकारले उपत्यका बाहिर सात वटा मेडिकल खोल्ने गरेको प्रतिबद्धता कार्यान्वयन चरणमा रहेको बताएका छन्।

आज यहाँस्थित त्रिवेणी माविको ५६औँ वार्षिकोत्सव समारोहमा मन्त्री राईले दुई वटा मेडिकल कलेज स्थापनाको चरणमा रहेको र दुई वटाको विस्तृत परियोजना प्रस्तुत भएको बताए। साथै बाँकी तीन वटाको जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको उनको भनाइ थियो।

‘डा केसीको आन्दोलनपछि आएको अवधारणाअनुसार काम अगाडि बढेको छ, त्यसमध्ये यहाँ एउटा मेडिकल कलेज स्थापना हुन्छ’, उनले भने, ‘मेडिकल कलेज स्थापनाका लागि कम्तीमा एक सय बिघा जग्गा हुनुपर्छ, अहिले जग्गा खोजीको प्रक्रिया जारी छ।’

सांसद अम्बरबहादुर रायमाझीले शिक्षा नीति सबैलाई बराबरी हुने गरी ल्याउनुपर्नेमा जोड दिए। कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले यो विद्यालयमा आवासगृह, विद्यालय बस, छात्राबास निर्माणलगायतका लागि मन्त्री राईको ध्यानाकर्षण गराए।

कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले दरबन्दीअनुसार शिक्षक नपाउँदा दरबन्दी मिलानमा समस्या भएको भन्दै मन्त्री राईलाई दरबन्दीअनुसार शिक्षक उपलब्ध गराउन माग गरे।

विद्यालयले तीनदिने विभिन्न कार्यक्रममा वार्षिकोत्सव मनाएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण कार्कीले बताए। वार्षिकोत्सवका अवसरमा विद्यालयले विभिन्न सम्मान, प्रशंसा तथा प्रमाणपत्र, पुरस्कार वितरण गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *