आजदेखि मौसममा सुधार हुने
काठमाडौं। पश्चिमी वायुको प्रभावले हिजो देशभर आंशिकदेखि सामान्य बदली रहेपनि आजदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ।
बुधबार साँझदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वीभेगतिर सरिरहेकाले गएरातिदेखि मौसममा सुधार हुँदै आएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।
हिजो राजधानी काठमाडौंलगायत देशका अधिकांश भागमा मौसम बदली रहेको र मधेश प्रदेशका एक-दुई स्थान तथा काठमाडौंका केही स्थानमा छिटफुट वर्षा भएको थियो।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको र देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आज आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। उता कोशी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment