साहित्य सदन नेपालले राष्ट्रव्यापी कविता प्रतियोगितासहित कविता महोत्सव गर्ने
काठमाडाैं। साहित्य सदन नेपालले विश्व कविता दिवस (मार्च २१) चैत्र ८ गते कविता महोत्सव गर्ने भएको छ। साहित्य सदन नेपाल जनस्तरबाट स्थापित साहित्यिक संस्था हो।
२०४३ सालमा कवि केदारमान व्यथितका अध्यक्षतामा स्थापित यस संस्थाले भाषा-साहित्य र संस्कृतिका क्षेत्रमा महत्त्वपूर्ण कार्यहरू गर्दै आएको छ। व्यथितपछि रमेश विकल र अमिर थापाले नेतृत्व गरेको यस संस्थाको हाल अध्यक्ष प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल छन्।
यस संस्थाले हृदयचन्द्र स्मृति सम्मान, गोपालप्रसाद रिमाल पुरस्कार र व्यथित काव्य सम्मान जस्ता पुरस्कार र सम्मानको स्थापना गरेर विशिष्ट साहित्यकारहरूलाई सम्मान गर्दै आएको छ।
जन प्रज्ञा-प्रतिष्ठानका रूपमा स्थापित यस संस्थाले एउटा प्रेक्षालयका साथ हाल महानगरपालिकाको सहयोगमा आधुनिक सुविधासम्पन्न भवनको निर्माण गरी आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ।
हाल साहित्यकारहरूका लागि आवासीय साधना कक्ष, वाचनालयसहितको पुस्तकालयको निर्माण गरेको छ। यसै सन्दर्भमा यस संस्थाले कवि र कवितालाई सम्मान गर्ने उद्देश्यले आगामी चैत्र ८ गते (मार्च २१) विश्व कविता दिवसका दिन राष्ट्रव्यापी कविता प्रतियोगितासहित कविता महोत्सव गर्ने निर्णय गरेकाे साहित्य सदनका अध्यक्ष प्रा. डा. हेमनाथ पौडेलले बताए।
उक्त दिन प्रतियोगी कविका साथै अतिथि कविहरूका समेत कविता वाचन हुने र कविता विमर्शका साथ महोत्सव सम्पन्न गरिने कुरा उनले बताए। यस सन्दर्भमा प्रतियोगितामा सामेल हुन इच्छुक कविहरूका लागि सदनले एक सूचना प्रकाशित गरी कविता आह्वान गरेको छ।
सन् १९९९ मा संयुक्त राष्ट्र संघको शैक्षिक तथा सांस्कृतिक संगठन युनिस्कोले मार्च २१ लाई विश्व कविता दिवस मनाउने निर्णय गरेपछि संसारभरि विश्व कविता दिवस मनाइदै आएको छ। यसै अवसरमा सदनले उक्त दिन कविता महोत्सव गर्न लागेको जनाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment