कांग्रेसमा चर्किँदै ‘हिन्दूराष्ट्र’ को मुद्दा

डिसी नेपाल
७ फागुन २०८० १०:२२

काठमाडौं। प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको महासमिति बैठक आज सुरु हुँदैछ। आजबाट सुरु हुने महासमिति बैठकको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन्।

महासमिति बैठकमा हिन्दूराष्ट्रको पक्षमा वकालत गर्नेहरुको संख्या बढ्ने देखिएको छ। गत शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा नेपाली कांग्रेसका २२ केन्द्रीय सदस्यले पूरक प्रस्ताव पेस गर्दै सनातन हिन्दूराष्ट्रको पक्षमा उभिने गरी प्रस्ताव बनाउन पार्टीको ध्यानाकर्षणसमेत गराएका थिए।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शंकर भण्डारीसहितका नेताले हिन्दूराष्ट्रको लागि अब निरन्तर महाअभियान नै अगाडि बढाउने भन्दै घोषणापत्र नै जारी गरेका थिए। यसले नेपाली कांग्रेसभित्र हिन्दूराष्ट्र बनाउनुपर्ने आवाज क्रमशः ठूलो बन्दै गइरहेको देखिएको छ।

केही समय पहिला कांग्रेस सभापति शेरबहादुर देउवाले पनि गणतन्त्रको विकल्प सोच्न नसकिए पनि हिन्दूराष्ट्रको विषयमा भने पुनर्विचार गर्न सकिने अभिव्यक्ति सार्वजनिक मञ्चबाटै दिएको थियो। जसकारण पनि कांग्रेसभित्र हिन्दूराष्ट्रको पक्षमा रहेका विचारहरू खुल्दै गइरहेको देखिएको हो।

कांग्रेस नेतृत्वमा २०७२ सालमा संविधान जारी गरिएको थियो। संविधानमा मुलुकलार्य धर्म निरपेक्ष राष्ट्र बनाउने निर्णय गरिएको थियो। यसअघि २०६३ सालको अन्तरिम संविधानमा नेपालले हिन्दु राष्ट्रको हैसियत गुमाएको थियो। त्यति बेला नै कसैको दबावमा धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै विरोध भएको थियो।

९४ प्रतिशत हिन्दू धर्मालम्बी भएको मुलुकमा जबरजस्ती धर्म निरपेक्ष मुलुक घोषणा गरिएको भन्दै विरोध भएपनि विरोधका स्वर अहिलेको जस्तो जबरजस्त रुपमा उठ्न सकेको थिएन।

तर पछिल्लो समय नेपाललाई हिन्दू राष्ट्र बनाउन दबाव बढ्दै गएको छ। जसको प्रभाव कांग्रेस महासमिति बैठकमा समेत पर्ने देखिएको छ। कांग्रेस सांसद एवं केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा भएको छ।

भण्डारीले हिन्दराष्ट्र नेपालको महाअभियानमा साथ दिनको लागि पार्टीका नेता, महासमिति सदस्य तथा महाधिवशन प्रतिनिधिसहित सम्पूर्ण कार्यकर्ता र शभुच्छुकहरूमा आग्रह गरेका छन्। आजदेखि ललितपुरको गोदावरीमा शुरु हुने कांग्रेसको चार दिने महासमिति बैठकमा यसले ब्यापकता पाउने धेरैजसो महाधिवेशन प्रतिनिधिहरुको भनाइ छ।

विदेशीका आडमा सनातन हिन्दू राष्ट्र मुलुकलाई धर्म निरपेक्ष बनाएको भन्दै यतिबेला चौतर्फी रुपमा नेपाललाई हिन्दू राष्ट्र बनाउन दबाव बढिरहेको छ। कांग्रेस नेता भण्डारी नेतृत्वको महाअभियानको महासचिवमा कांग्रेसका केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य एवम् विराटनगर नगरपालिकाको पूर्वप्रमुख भीम पराजुली र केन्द्रीय सदस्य एवम् सांसद मुक्ताकुमारी यादव रहेका छन्। कांग्रेसमा पछिल्लो समय हिन्दूराष्ट्रलाई एजेण्डा बनाउनुपर्ने दबाब बढ्दै गइरहेको छ।

गत शुक्रवारको केन्द्रीय समितिको बैठकमा पार्टी सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा उभिनु पर्ने भन्दै २२ जना केन्द्रीय सदस्यले हस्ताक्षर संकलन गरेर महासमिति बैठकको पूरक एजेन्डा बनाउन माग गर्दै सभापति शेरबहादुर देउवालाई प्रस्ताव पत्र बुझाएका थिए।

महासमितिका बैठकमा पनि भण्डारीको नेतृत्वमा हिन्दू राष्ट्रको एजेण्डा उठाउने तयारी छ। अघिल्लो महासमितिको बैठकमा पनि भण्डारीसहित महासमिति सदस्यहरूले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर अभियान नै चलाएका थिए।

९४ प्रतिशतभन्दा बढी वैदिकै सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको विषयप्रति उनीहरूको असहमति छ।

अब यो मुद्दा राप्रपाको मात्र रहेन भन्ने पनि कांग्रेसका नेताहरुले देखाइदिएका छन्। यसपालि महासमितिमा कनु पनि हालतमा हिन्दू राष्ट्र कांग्रेसको एजेण्डा हुनुपर्नेमा भण्डारी लगायतका नेताहरुको जोड छ। उनीहरुले महासमितिलाई कसरी प्रभावित पार्न सक्छन् भन्ने चासो ब्याप्त छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *