निर्लज्ज मन्त्री ज्वाला : मन्त्री पद बचाउन अध्यक्ष नेपालमार्फत प्रधानमन्त्रीसमक्ष हारगुहार

शरद रिजाल
११ फागुन २०८० ७:३८

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बालकुमारी घटना छानबिनका लागि गठित समितिले दोषी ठहर गरेको सार्वजनिक भएपछि अहिले चौतर्फी आलोचित बनेका छन्।

गत पुस १३ गते कोरियन भाषा परीक्षा (ईपीएस) मा सहभागी हुन नपाएका आन्दोलित युवाहरुको उत्तेजित भिडमा मन्त्री ज्वालाको प्रवेशपछि भड्किएको परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई युवाको निधन भएको थियो।

सोही दिन मन्त्री ज्वालाको प्रवेशले उग्र रुप लिँदा उनी सवार गाडी आगलागीसँगै दुई युवाले ज्यान गुमाएका थिए। मन्त्री ज्वालाले संयमता गुमाएर उत्तेजित भिडमा पुगेपछि उक्त घटना घटेको भन्दै उनको आलोचना त्यसबखत पनि भएको थियो।

सुरुमा आफू घटनास्थलमा नभएको सार्वजनिक सञ्चारमाध्यममा  उनले  दाबी गरेका थिए। उनले सिंहदरबारबाट निस्किएर ग्वार्कोस्थित कान्तिपुर पार्टी प्यालेसमा सोही दिन जारी पार्टीको बैठकमा आफूलाई छाडेर गाडी फर्किने क्रममा युवाहरुले आगलागी गरेको बताएका थिए।

तथापि  उनी सवार गाडी जल्नुअघि घटनास्थलमा ज्वालाले आक्रोशित युवाहरुसँग सवाल जवाफ गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भने प्रतिक्रियाविहीन बनेका थिए।

त्यस घटनालगत्तै अनुसन्धानका लागि गठित छानबिन समितिले आफ्नो अध्ययन प्रतिवेदन सरकारसमक्ष पेश गरिसकेको छ।

सोही प्रतिवेदनमा मन्त्री ज्वाला घटनास्थलमा प्रवेशको उपज दुई युवाको ज्यान जानेगरी उक्त घटना घटेको प्रष्ट उल्लेख गर्दै उनको निलम्बित पिएसओ र फिल्ड कमाण्डर रहेका डिएसपीलाई पनि दोषी ठहर गरिएको छ।

छानबिन समितिको प्रतिवेदनमा उल्लेखित तथ्य सार्वजनिक भएपछि दुई युवाको ज्यान जानेगरी घटित उक्त घटनाको मूलकारक मन्त्री ज्वाला नै रहेको बताइएको छ। यस विषय सार्वजनिक भएपछि अहिले उनको चर्को आलोचना गर्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग सर्वत्र उठाइएको छ।

उनको राजीनामाको माग गर्दै सडकदेखि सदनसम्म तातिएको छ। एमालेका सांसद रघुजी पन्तले बिहीबारको संसद बैठकमा मन्त्री ज्वालाको राजीनामा मागेका थिए।

एमाले लगायत अन्य विपक्षी दलका सांसदहरुले पनि उनको राजीनामा माग गर्दै सदनमा आवाज उठाएका छन्। यस्तै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मन्त्री ज्वालाको राजीनामा माग्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ।

उनी आबद्ध दल एकीकृत समाजवादीले भने छानबिन समितिको प्रतिवेदन अध्ययनपछि निर्णय लिइने बताएको थियो।बिहीबार  मन्त्री ज्वालाबारे छलफल गर्न बसेको सचिवालय बैठकले छानबिन समितिको प्रतिवेदन अध्ययन गरेपछि मात्रै निर्णय लिइने जनाइएको हो।

चौतर्फी विरोध र आन्दोलित हुँदा पनि मन्त्री ज्वाला भने राजीनामा दिने मनस्थितिमा नरहेको उनी निकट स्रोतले बताएको छ ।
उनले आफ्नो पद बचाउका लागि पार्टी अध्यक्ष माधव कुमार नेपालमार्फत प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष नहटाउन अनुनयविनय गरेको स्रोतको दाबी छ।

स्रोतका अनुसार अध्यक्ष नेपालले यही विषयमा असन्तुष्टि जनाएपछि प्रधानमन्त्री दाहाल मन्त्री ज्वालाबारे कठोर निर्णय लिन हच्किएका हुन्।

उनले मन्त्री ज्वालाबारे कुनै अप्रिय निर्णय नलिन प्रधानमन्त्रीलाई सुझाउँदै कठोर निर्णय लिएमा गठबन्धनबारे सोच्न सकिने चेतावनी दिएका थिए।

अध्यक्ष नेपालले केही समय पछि छानबिन समितिले तयार पारेको प्रतिवेदन अध्ययन पछि आफ्नो दलले यसबारेमा उचित निर्णय लिने बताउँदै त्यसअघि कुनै पनि कदम नचाल्न प्रधानमन्त्री दाहाललाई सचेत गराएको स्रोतले जनाएको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *