नारायणी अस्पतालमा छोरी जन्मिएपछि छाडेर आमा बेपत्ता

डिसी नेपाल
१३ फागुन २०८० १८:३५
64
Shares

पर्सा। वीरगंजस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन्। वीरगंजको नारायणी अस्पतालमा शनिबार बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन्।

सुत्केरी व्यथा लागेपछि शुक्रबार साँझ सासूसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालले बताएको छ। अस्पतालमा रानीघाट-६ वीरगंजको ठेगाना टिपाए उनीहरूले दुवैजनासँग मोबाइल नभएको बताएका थिए।

छोरी जन्मिएपछि सीतालाई परिवारका सदस्यले गाली गरेको स्वास्थ्यकर्मीले बताए। अस्पतालमै पनि परिवारका सदस्यले तनाव दिए जस्तो देखिएको उनीहरूको भनाइ छ।

यसअघि सीताका तीन छोरी जन्मिएका थिए। उनीहरू फागुन १२ गते दिनभर अस्पतालमै बसेका थिए। साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर हिँडेका हुन्। साँझपख बेडमा शिशु मात्रै देखेपछि स्वास्थ्यकर्मीले खोजी गरे पनि भेटिएनन्।

आइतबार मध्याह्नसम्म पनि उनीहरू नभेटिएको अस्पतालले जनाएको छ। छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिँडेको प्रसूति वार्डको नर्सिङ इन्चार्ज हेमा थापाले दिइन्।

“अस्पतालमा सासु र बुहारी मात्रै आएका थिए। श्रीमान  खोइ भन्दा कमाउन गएका छन् भनेर जवाफ दिएकी थिइन्,” थापाले भनिन्, “छोरी जन्मेपछि सासु रिसाइरहेकी थिइन्। शिशु नै छोडेर जालान् जस्तो लागेको थिएन। हिजैदेखि खोजिरहेका छौं, भेटिएका छैन।” शिशु स्वस्थ रहेको र एनआईसीयूमा राखिएको थापाले बताइन्।

छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिँडेको अस्पतालको दाबी छ। अस्पताल वरपर खोजतलास गर्दा नभेटिएपछि अस्पताल प्रशासनले प्रहरीलाई जानकारी गराएको छ। उनीहरूले गलत ठेगाना टिपाएर गएकाले खोजीमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए।

“उनीहरूले टिपाएको ठेगानामा त्यो नाम र हुलियाको मानिस भेटिएन। पहिले नै योजना बनाएर घटना घटाएको आशंका गरेका छौं,” डीएसपी थापाले भने। उनीहरूको खोजतलास जारी रहेको उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *