सडक व्यापारीको मानव अधिकारको सम्मान र संरक्षण गर्न अपिल

डिसी नेपाल
१८ फागुन २०८० ९:५३

काठमाडौं। श्रमजिवी स्वरोजगार सडक व्यापारी नागरिकका मानव अधिकारको सम्मान र संरक्षण गर्न अधिकारकर्मीहरूले अपिल गरेका छन् । अपिलमा काठमाडौँ महानगरको जननिर्वाचित नागरिक नेतृत्वले धैर्यताकासाथ संवादको माध्यमले समस्याको समाधान गर्ने प्रयास गर्नुको साटो महानगर प्रहरी परिचालन गरी अत्यधिक बल प्रयोग गरेर केही सडक व्यापारीलाई गम्भीर घाइते बनाएको र उनीहरूको सामान लुटपाटको शैलीमा जफत गरेको घटनाप्रति खेद व्यक्त गरिएको छ ।

इन्सेकका अध्यक्ष डा। कुन्दन अर्यालसहितका अधिकारकर्मीद्वारा फागुन १७ गते जारी अपिलमा सडक तथा सार्वजनिक स्थलमा नागरिकमाथि कुटपिट गर्ने अपराधिक कार्यमा संलग्न जोसुकैलाई कानुनी कारबाहीको दायरमा ल्याउन नेपाल प्रहरी र महानगर प्रशासन लगायत सम्बन्धित सबै निकायसँग माग गरिएको छ ।

अधिकारकर्मीहरूद्वारा जारी गरिएको अपिल:

अपिलमा भनिएको छ- ‘जीविकोपार्जनको अरु विकल्प नभएर राजधानीको सडकमा सानोतिनो व्यापार गर्दै आएका स्वरोजगार नागरिकहरू उपर श्रृङ्खलाबद्ध रूपमा हुँदै आएको अत्यधिक बल प्रयोगका घटना स्थानीय प्रशासन ऐन, स्थानीय सरकार सञ्चालन ऐनको मात्र होइन, महानगर प्रहरी बल ऐनको समेत उल्लङ्घन भएको छ ।’

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) ले स्थानीय सरकारहरूलाई दिएको नगर प्रहरी बल गठन गर्ने अख्तियारीको दुरुपयोग रोकिनु पर्छ भन्नेमा हामी जोड दिन्छौँ । स्थानीय तहको नीति, कानुन तथा निर्णय कार्यान्वयनमा अपेक्षित उपलब्धि हासिल गर्न यस्तो प्रहरी संरचनाको कल्पना स्थानीय सरकार सञ्चालन ऐनले गरेको स्मरण गराउन चाहन्छौँ ,’अपिलमा भनिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को मर्म विपरीत हतियार प्रयोग गर्ने अख्तियारीसमेत नपाएको नगर प्रहरीका कतिपय कृयाकलापहरूमा अत्यधिक बल प्रयोगको प्रवृत्ति बढ्दै जानु चिन्ताजनक रहेको अधिकारकर्मीहरूले जनाएका छन् ।

काठमाडौँ महानगरपालिकाको पनि संविधानको धारा ३३ ले सुनिश्चित गरेको रोजगारीको अधिकार लगायतका मौलिक हकलाई सम्मान संरक्षण र परिपूर्ति गर्ने दायित्व रहने स्मरण गराइएको छ । ‘त्यसलाई कुल्चेर लघु पूँजीमा आश्रित सडक व्यापारीलाई कुनै विकल्प नदिई व्यापार–व्यवसायबाट बेदखल गराउने कार्यले जीविकोपार्जनको अरु विकल्प नभएका विपन्न नागरिकलाई अन्ततः गरिबीको दुष्चक्रबाट उम्किनै दिँदैन,’अपिलमा भनिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *