नेपाली राजनीतिमा अस्थिरताको प्रचण्ड मानक, सत्ता र शक्तिका लागि जता पनि लहसिने प्रवृत्ति

शरद रिजाल
२२ फागुन २०८० १४:१०

काठमाडौं। नेपालको राजनीतिमा सत्ताको उलटफेर कतिबेला कसरी आउँछ कसैलाई हेक्का हुँदैन। आआफ्ना स्वार्थप्रेरित क्रियाकलापले मेल नखाँदा दलहरु कतिबेला मिल्छन् र कति बेला कुन निहुँमा टाढिन्छन्, पत्तो नै पाउन मुस्किल छ।

यही पेरिफेरिमा सोमबार एक अप्रत्याशित घटनाले नेपाली राजनीति निकै तरंगित बन्न पुग्यो। प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सत्तासहयात्री अदल बदलले मुलुकको राष्ट्रिय राजनीतिको स्थिरतामाथि नै प्रश्न उठेको छ।

हालको निर्वाचन प्रणालीले नै कसैको स्पष्ट बहुमत नआउने अवस्था छ। यसर्थ पनि सानो दलको हैसियतमा पुगेपनि माओवादीले सत्तासहयात्री परिवर्तन गर्दै सरकारको आयु लम्ब्याउने अवसर प्राप्त गरिरहेको छ।

यही अवसरको उपयोग गरेर सोमबार प्रधानमन्त्री प्रचण्डले सरकारको सहयात्री कांग्रेसलाई पाखा लगाएर एमालेसँगको यात्रामा अघि बढेका छन्। यद्यपि उनको यो सहयात्राको अवधिबारे भने कसैले यकिन गर्नसक्ने अवस्था छैन। किनभने विगतका दृष्टान्तले उनी सत्ताका लागि जतापनि ढल्किने अस्थिर यात्रीको मानक बनाइसकेका छन्।

यस अघि सत्ता गठबन्धनमा कांग्रेसलाई दिने भनिएको राष्ट्रियसभाको अध्यक्ष आफैंले पाउनुपर्ने दाबी माओवादीले गरेको थियो। त्यही निहुँमै सत्ता गठबन्धन नै परिवर्तन गरेर आफूलाई प्रधानमन्त्री बनाएको एमालेसहितको नयाँ गठबन्धन प्रचण्डले बनाएका छन्।

नेपालको राजनीतिमा पहिलो दल हुँदै, तेस्रोमा सीमित भएको माओवादीले आफ्नो शक्ति क्षिण हुँदै गएपनि अनेकौं दाउपेचले सत्तारोहण गर्ने अवसर प्राप्त गरेको छ। तर अरुमा आश्रित भएर गरिरहेको सत्तारोहणले लाभ भन्दा पनि हानि बढी भइरहेको विगतदेखिका चुनावी परिणामले दर्शाउँछ।

तत्कालीन २०७४ को आम निर्वाचनमा पनि माओवादीले कांग्रेससँग सत्तायात्रा गर्दै एमालेसँग वाम गठबन्धनमा जाने निर्णय गरेको थियो। २०७२ को संविधान निर्माण पछि आफ्नै पहलमा बनेको एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढालेर प्रचण्ड कांग्रेससँग लहसिन पुगेका थिए।

कांग्रेसको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डले आलोपालोको सहमति अनुसार समयमै कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता सुम्पिएका थिए। त्यतिबेला देउवालाई सरकार सुम्पिएर सोही सरकारमा सामेल रहेको माओवादीले आम निर्वाचन नजिकिँदै गर्दा एमालेसँग सहकार्यको चाजोपाजो मिलाएर वाम गठबन्धनसहित चुनावमा होमिएको थियो।

करिब दुईतिहाईको चुनावी परिणाम पछि एमालेसँग पार्टी एकता नै गरि नेकपा बनाएका प्रचण्डले नवगठित पार्टीभित्रको तिव्र अन्तरद्वन्द्व माधव नेपाल र झलनाथ खनालसहित अलग समूहको नेतृत्व गर्दै अर्का अध्यक्ष ओली विरोधी संघर्ष चर्काएका थिए।

पार्टी एकता भएको करिब दुई वर्षभित्र तिव्र अन्तरसंघर्षले नवगठित नेकपाको यात्रा लामो समय जान सकेन। यही क्रममा अध्यक्षद्वयमध्येका एक ओलीको संसद विघटनले पार्टी विभाजनको संघारमा पुगेको थियो।

अन्ततः पार्टीभित्रको तिव्र अन्तरद्वन्द्व र ओलीको दुई पटकको संसद विघटन हुँदै सर्वोच्चको आदेशले दुबै पार्टी ब्युँतिएपछि आआफ्नै पूर्ववत् दल एमाले र माओवादी पुनर्गठित गर्न पुगे।

ओलीको दोस्रो पटकको संसद विघटन पछि देउवालाई प्रधानमन्त्री बनाउने अदालतको परमादेशले वाम गठबन्धनको यात्रा दुई वर्षकै वरपर ब्रेक भएको थियो।त्यसयता ओली प्रचण्ड सम्बन्ध निकै तिक्ततापूर्ण बनेको थियो।

आआफ्ना पूर्ववत् दलमा फर्किएका ओली-प्रचण्ड र नेकपाको अन्तरसंघर्षकालमा प्रचण्डकै पक्षमा लागेका माधव नेपालले पनि अलग दल खोल्न बाध्य भएपछि केही समय नेपालमा वाम गठबन्धनको बहस नै निरर्थक सावित भएको थियो।

दुई दल एकीकृत बनेको नेकपा विभाजन हुँदा भने तीन टुक्रामा परिणत भएको थियो। अझै नेकपाकालमा उपाध्यक्ष रहेका बामदेव गौतम पनि अलग दल गठनको अभ्यास गरेका थिए। उनले अहिले पनि अलग दल गठन गरेर छुट्टै बसेका छन्।

यसरी नेपालको राजनीतिमा यस अघि असफल भइसकेको वाम गठबन्धनको बहस सोमबारदेखि फेरि चर्चा सुरु हुन थालेको छ। यसलाई आधार बनाएर दलहरुले नयाँ समीकरण बनाएको दाबी प्रचण्डले गरिरहेका छन्।

तर, सत्तारोहणका लागि प्रधानमन्त्री प्रचण्डको सहकार्य र धोकाधडीको श्रृंखला हेर्न भने त्यति टाढा जानुपर्दैन। उनले गत वर्ष पुस १० गते चुनावी गठबन्धन गरेको कांग्रेसलाई लत्याएर एमालेको सहयोगमा प्रधानमन्त्री बनेका थिए।

उनले दुई महिनाभित्रै फेरि गठबन्धन परिवर्तन गरेर चुनाव अघिको कांग्रेससहितको गठबन्धनमा सरिक भएका थिए। राष्ट्रपति निर्वाचनको मनोनय दर्ता गर्ने दिन फागुन १३ मा कांग्रेसका उम्मेदवारलाई सघाउने गरी एमालेसँगको सहकार्यमा पूर्णविराम लगाएका थिए।

त्यसको करिब एक वर्षपछि सोमबार प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाएको एमालेसँग सहकार्य पुगेका छन्। विगतदेखि हालसम्म उनका सहयात्री अदलबदलको श्रृंखला यतिमै रोकिनेमा विश्वस्त हुन सकिने अवस्था भने अझै देखिएको छैन।

नयाँ गठबन्धन कायम गरेको दिनमै उनले यसलाई उथुलपुथलको संज्ञा दिँदै आफू बाचुञ्जेल क्रमभंग गरिरहने दावा गरेका छन्। उनले राजधानीमा आयोजित एक कार्यक्रममा माओवादी यथास्थितिमा रम्न नसक्ने बताउँदै आफ्नो जीवनकालमा निरन्तर उथलपुथल ल्याउने घोषणा गरेका छन्।

उनको गठबन्धन परिवर्तन गरिएको दिनमै व्यक्त यस प्रकारको अभिव्यक्तिले पनि नवगठबन्धनको आयु पनि त्यति लामो समय जानेमा शंका कायमै छ। यद्यपि आफ्नो अस्तित्व रक्षाका लागि प्रचण्डलाई कुनै गठबन्धनमा आबद्ध नभइ चुनाव लड्ने अवस्था छैन। यसले पनि प्रचण्डको नयाँ सहयात्रा चुनावी गठबन्धनसम्म पुग्ने अनुमान गरिएको छ।

चुनावी परिणाम आफ्नो पक्षमा हासिल गर्न र सत्तारोहणका लगि जता पनि लहसिने प्रचण्ड प्रवृत्तिले नेपालको राजनीतिमा अस्थिरताको नयाँ मानक बनाएको छ। यसले समग्र राजनीतिमा मौलाएको वितृष्णालाई थप मलजल पुर्याएको राजनीतिका जानकारहरु बताउँछन्।

राजनीतिमा मूल्य मान्यता भन्दा पनि विशुद्ध सत्ता लाभ र हानिका आधारमा  क्षण भरमै गरिने गठबन्धन परिवर्तनले आशा भन्दा पनि निराशा निम्त्याउने निश्चित छ। उनको यस कदमले सत्ताको आयु लम्ब्याउने क्षणिक परिस्थिति निर्माण भएपनि आगामी निर्वाचनमा उनको दलीय हैसियत भने थप कमजोर बन्ने राजनीतिक वृत्तमा आँकलन गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *