बाबुरामलाई सांसद जोगाउन माओवादीकै निर्णय मान्नैपर्ने संसदीय बाध्यता

डिसी नेपाल
२५ फागुन २०८० १३:३९

काठमाडौं। परिवर्तित गठबन्धनप्रति असन्तुष्टि जनाएका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको दल नेपाल समाजवादी पार्टीलाई माओवादी केन्द्रकै निर्देशन मान्नैपर्ने संवैधानिक बाध्यता छ।

उनको दलबाट निर्वाचित एक संघीय र दुई प्रदेश सांसदहरुले माओवादीकै निर्वाचन चिन्ह लिएर निर्वाचित भएकाले सोही दलकै संसदीय मर्यादामा रहनुपर्ने बाध्यतासँगै बाबुरामको दलमा संकट निम्तिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २१ गते पुरानो गठबन्धन परिवर्तन गर्दै एमाले, रास्वपासहितको नयाँ गठबन्धन बनाएपछि असन्तुष्ट देखिएका बाबुराम आफूसँग भएका सांसदहरुको पद जोगाउन पनि माओवादीसँग सहकार्य गनुपर्ने बाध्यात्मक अवस्थामा पुगेका छन्।

यद्यपि उनले तारन्तार सामाजिक संजालमा नवगठित गठबन्धनप्रति कटाक्ष गर्दै आफ्ना पूर्वसहकर्मी प्रचण्ड लक्षित टिप्पणी गरिरहेका छन्।

‘इनफ इज इनफ’ भन्दै उनले लेखेका छन, ‘केही चतुरहरूको निकृष्ट सत्तालिप्सा निम्ति पटकपटक मञ्चन हुने यस्ता फोहरी खेलले भर्खर जरा गाड्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने, जनता र नयाँ युवा पुस्तामा वितृष्णा बढाउने र प्रतिगमनको आधार तयार पार्ने खतरा झन् बढ्ने भयो।’

उनले अगाडि लेखेका छन्, ‘केही निरीह सांसदको पोको बोकेर एउटासँग गठबन्धन गर्दा ‘संविधान र लोकतन्त्रको रक्षाको निम्ती’ भन्ने अनि केही महिनाभित्र अर्कोसँग घाँटी जोड्दा ‘वामपन्थी कम्युनिष्ट एकताका निम्ती’ भन्ने! यस्तो नांगो अवसरवादलाई जनयुद्धको गौरवशाली विरासतसँग जोडेर उल्टै ठूलै उथलपुथल भन्ने! विचरा सोझा कार्यकर्ता किंकत्र्यव्यविमुढ बनेर मनलागी नलागी ताली ठोक्ने!’

उनले प्रधानमन्त्री प्रचण्डलक्षित यसप्रकारको अभिव्यक्ति दिएपछि माओवादी केन्द्रसँगको एकता प्रक्रिया पनि अलमलमा परेको बताइन्छ। यद्यपि उनको दलका सहअध्यक्ष र अर्का अध्यक्ष भने माओवादीसँग चाँडो एकता टुंग्याउन उनीमाथि दबाव बढाइरहेको बताइन्छ।

बाबुरामकै दलका केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले पनि बिहीबार एक विज्ञप्ति जारी गर्दै वर्तमान परिवर्तित गठबन्धनले गम्भीर ध्यानाकर्षण गरेको बताउँदै यसलाई सकारात्मक रुपमा लिन नसकिने जनाएको छ।

विज्ञप्तिमा आगामी सत्ता र कुर्सीको खेलमा नलागेर वैकल्पिक राजनीतिक अभियानलाई निरन्तरता दिइने बताइएको छ। गत निर्वाचनमा माओवादीको चुनाव चिन्ह लिएर बाबुरामको दल नेसपाबाट संघ र प्रदेशसहित तीन सांसद निर्वाचित भएका छन्।

गोरखा २ (क) बाट गण्डकी प्रदेशसभातर्फ फणिन्द्र देवकोटा निर्वाचित भएका छन्। यस्तै वागमती प्रदेशतर्फ सिन्धुली २(ख)मा गंगानारायण श्रेष्ठ निर्वाचित भएका छन्।
संघतर्फ सर्लाही २ मा नेसपाकै अर्का अध्यक्ष रहेका महिन्द्रराय यादव निर्वाचित भएका हुन्। उनी यस अघि कांग्रेसससहितको सत्ता गठबन्धनमा प्रचण्ड नेतृत्वको सरकारमा खानेपानी मन्त्री रहेका थिए।

यता, सोही दलका सहअध्यक्ष रहेका गंगानारायण श्रेष्ठ भने अहिलेको गठबन्धन परिवर्तन भन्दा पनि शासन प्रणालीका विषयमा अध्यक्ष बाबुरामले असन्तुष्टि व्यक्त गरेको बताउँछन्।

अहिले देखा परेको असन्तुष्टि समग्र व्यवस्थाप्रति रहेको उनको भनाइ छ। सत्ता परिवर्तनको खेल कुनै व्यक्ति विशेषका कारणले नभएर व्यवस्थाकै उपज रहेको उनले जनाए।

यसको समाधान प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको व्यवस्था गर्नुपर्ने उनी बताउँछन्।

माओवादीकै निर्वाचन चिन्ह लिएर निर्वाचित भएका उनले माओवादीकै संसदीय दलमा रहेकाले सोही दलको संसदीय परिधिभित्र रहनुपर्ने बाध्यता सुनाए।

वागमती प्रदेशका आन्तरिक मामला मन्त्रीसमेत रहेका श्रेष्ठले डिसी नेपालसँग भने, ‘अहिलेको अस्थिरताको उपज कुनै व्यक्तिकै कारणले भएको भन्दा पनि शासकीय स्वरुपकै उपज यो निम्तिएको हो। त्यसैले यसको विकल्पमा प्रत्यक्ष निर्वाीचत कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदको व्यवस्था गरिनुपर्छ भन्ने पार्टीको संस्थागत धारणा हो।’

हाल सरकार सञ्चालनका लागि गठबन्धनमा आएको बदलाव पनि अहिलेको व्यवस्थाकै उपज रहेको बताउँदै त्यसलाई परिवर्तन गर्नुपर्ने पार्टीको मतस्वरुप अध्यक्ष बाबुरामको असन्तुष्टि देखिएको उनी दाबी गर्छन्।

माओवादीसँग एकताका लागि दुबै दलको संयोजन समिति गठन भइसकेकाले पार्टीमा विवाद नरहेको उनले प्रष्ट्याए। अध्यक्ष बाबुरामकै नेतृत्वमा संयोजन समिति गठन गरिएकोले संस्थागत रुपमा एकमत रहेको उनले जिकिर गरे।

उनले भने, ‘मंसिर ६ मा बसेको बैठकले एकता गनृ आवश्यक गृहकार्य गर्ने निर्णय गरिसकेकाले संस्थागत रुपमा कुनै विवाद छैन। दुबै दलले संयोजन समिति गठन गरिसकेकाले एकता प्रक्रियाले पूर्णता दिन प्रयत्नशील छौं।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *