पुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै राप्ती सोनारीवासी

डिसी नेपाल
२५ फागुन २०८० १४:१२

बाँके। खहरेखोलामा पुल नहुँदा बाँकेको राप्ती सोनारी गाउँपालिकावासीले यात्रा गर्दा जोखिम मोल्नुपरिरहेको छ।

गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले खहरेखोलामा पुल नहुँदा बालबालिकालाई विद्यालय पठाउन समेत समस्या भएको बताएका छन्।

राप्ती सोनारी–९ खैरीटोलका लालबहादुर विकले स्थानीय डुडुवा खोलामा पुल नहुँदा काठको लप्कोबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताए।

“हिउँदमा जसोतसो गरी खोला तरे पनि वर्षात्मा जोखिम मोल्नुपर्छ”, उनले भने। खैरीटोलबाट पढ्न गुरुवागाउँ जानुपर्ने भएकाले खोला तर्न बालबालिकालाई सकस हुन्छ।

राप्ती सोनारी–९ को भक्तेखोला र चुके नालामा वर्षात्मा आउने बाढीले स्थानीय प्रभावित बन्दै आएका छन्। खहरेखोलामा पुल नबन्दा जोखिम मोल्नुपरेको स्थानीय माधव पौडेलले बताए।

राप्ती सोनारी–७ फत्तेपुर नयाँवस्तीका शंकर यादवले विसम्मवरपुर र पदनाहा गाउँ नजिकको खहरेखोलामा पुल नहुँदा वर्षात्मा आवागमन ठप्प हुने बताए। पुल नहुँदा राप्ती सोनारी–६ र ७ वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायत बस्तीका बासिन्दा समस्यामा छन्।

राप्ती सोनारी–९ का वडाध्यक्ष सोहनलाल थारूले वडामा सडक, पुल तथा नदी नियन्त्रणका लागि तटबन्ध निर्माणलगायत काम गर्नुपर्ने भए पनि सीमित बजेटका कारण गर्न नसकिएको बताए। “वडाका धेरै टोलमा पुलको आवश्यकता छ, निर्माणका लागि पहल भइरहेको छ”, उनले भने।

राप्ती सोनारीका अध्यक्ष तप्तबहादुर पौडेलले राप्ती सोनारी–९ खैरीटोलस्थित डुडुवाखोलामा पुल निर्माणका लागि पहल भइरहेको बताए। सीमित बजेटका कारण स्थानीयको माग पुरा गर्न नसकेको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *