कृष्णबहादुर महरा रुपन्देहीबाट पक्राउ

डिसी नेपाल
५ चैत २०८० १०:३२

काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले रुपन्देहीमा नियन्त्रणमा लिएको छ । रोल्पा हिँडेका महरालाई प्रहरी नियन्त्रणमा लिएको हो । पक्राउ परेका महरालाई भैरहवाबाट काठमाडौं ल्याइएकाे छ।

महरालाई सुन तस्करी प्रकरणमा पक्राउ गरिएको हो । सुन तस्करीबारे छानबिन गर्न पूर्व न्यायाधीश डिल्लीराज आचार्यको  संयोजकत्वमा गठित उच्चस्तरीय आयोगले महरालाई सुन तस्करीमा संलग्न भएको आरोपमा मुद्दा चलाउन सिफरिस गरेको थियो ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले सरकारलाई बुझाएको छानबिन प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । उच्चस्तरीय छानबिन आयोगले केही दिनअघि मात्र गृहमन्त्रीलाई यो प्रतिवेदन बुझाएको थियो ।

महरा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष हुन् । गृहमन्त्रीलाई प्रतिवेदन बुझाइएको भोलिपल्टै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रवि लामिछानेलाई भेटेर प्रतिवेदनले सिफरिस गरेका कारवाहीलाई कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन आयोगले महरासहित राजश्व अनुसन्धान विभागका पूर्व महानिर्देशक झलकराम अधिकारीलाई समेत मुद्दा चलाउन सिफरिस गरेको थियो । आयोगले सिआइबी प्रमुख किरण बज्राचार्यलाई विभागीय कारवाही गर्न पनि सिफरिस गरेको थियो ।

महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल सुन तस्करीकै आरोपमा पहिलेदेखि नै पुर्पक्षका लागि थुनामा छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार प्रतिवेदन बुझ्दै यसमा समावेश विषयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *