लठ्ठा चुँडिएपछि त्रिशूलीको पुल बन्द

डिसी नेपाल
२४ चैत २०८० ८:४६
112
Shares

नुवाकोट। नुवाकोटको विदुर नगरपालिका-६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ।

देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुडिँएकाले पुलबाट आवागमन बन्द गरिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार गत पुस पहिलो साता पुलको लठ्ठामा समस्या देखिएपछि दुईपांग्रे सवारीसाधनलाई मात्र पुलबाट आउजाउको अनुमति दिइएको थियो। उनले जतिसक्दो चाँडो मर्मतसम्भार गरेर पुल पुनः सञ्चालन हुने प्रतिबद्धता व्यक्त गरे।

विदुर नगरपालिका-४ बजारबाट सिधै विदुर-६ मान्द्रेढुंगा हुँदै तारकेश्वर गाउँपालिका र धादिङबेँसी पुग्ने छोटो बाटोको उक्त पुल बन्द भएपछि सिमचउर र देवीघाटस्थित धुनिबेँसीको पुल प्रयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ।

बट्टार बजारबाट मान्द्रेढुंगा हुँदै चैनपुर, दाङसिंह जाने उक्त मुख्य सडकखण्ड विदुर नगरपालिकाको प्रस्तावमा ‘प्रादेशिक सडक गुरुयोजना’मा समावेश गरिएको पूर्वाधार विकास कार्यालय नुवाकोटले जनाएको छ। सडकलाई गुरुयोजनामा समावेश गरिएको भए पनि पुलको मर्मतसम्भार एवं पुनःनिर्माण सम्बन्धमा निर्णय भएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *