इलाम-२ उपनिर्वाचनः त्रिपक्षीय भिडन्तमा कसको पल्ला भारी?

डिसी नेपाल
२६ चैत २०८० ७:२९

काठमाडौं। इलाम-२ मा रिक्त प्रतिनिधिसभाको १ सिटका लागि आउँदो १५ वैशाखमा हुन गइरहेको निर्वाचनमा स्वतन्त्रसहित २० जना उम्मेदवारको मनोनयन परेको छ। एक महिनादेखि गर्माएको इलामको निर्वाचनमा यसपटक पहिचानवादी र स्वतन्त्र उम्मेदवारले ठूला राजनीतिक दललाई चुनौती दिने देखिन्छ।

इलाममा विगतका निर्वाचनभन्दा यसपटक फरक चित्र देखिएको छ । कोशी प्रदेशको नामलाई लिएर पहिचानवादी पक्षधरले विरोध गरिरहेको अवस्थामा यसपटकको निर्वाचन रोचक बन्ने देखिन्छ । सो क्षेत्रमा सबैले आ–आफ्नो पक्षको जीत सुनिश्चित भनिरहेका छन् । तर, यस निर्वाचनको अवस्थालाई आँकलन गर्दा सुरुमा गत वर्षको मतपरिणामलाई पनि हेर्नुपर्ने हुन्छ ।

एमाले सांसद स्वर्गीय सुवासचन्द्र नेम्वाङले अघिल्लो निर्वाचनमा १ सय १४ को साँघुरो मतले निर्वाचन जितेका थिए । त्यतिबेला नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गरेका थिए । त्यस समयमा गठबन्धन भएकाले गठबन्धनबीचको निर्वाचनका कारण दुई पक्षीय प्रतिस्पर्धा भए पनि यसपटक भने पहिचानवादी पक्षधरका कारण चार पक्षीय निर्वाचन हुने सम्भावना छ । नेम्वाङले त्यतिबेला ३० हजार २० मत ल्याएर विजयी हुँदा कांगे्रसका खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका थिए ।

सुवास नेम्वाङको निधनपछि यसपटक एमालेले उनका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । एमालेले उपनिर्वाचनमा सहानुभूति मत बटुल्न पनि सुहाङलाई उठाएको हो । नेपाली राजनीतिमा यसअघि पनि श्रीमान्को मृत्युपछि श्रीमती, बाबुको निधनपछि छोरालाई उम्मेदवार बनाउने परम्परा एमालेमा पहिलो भने होइन ।

यसअघि पनि वंश परम्पराको राजनीतिलाई प्राथमिकता दिइँदै आएको छ । यसअघिको वंश परम्परामा राजनीतिक उत्तराधिकारी पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारीको निधन भएपछि उपनिर्वाचनमा टिकट पाएकी विद्यादेवी भण्डारी त्यसको पहिलो उदाहरण हुन् । त्यसपछि यस परम्परालाई एमालेले निरन्तरता दिँदै आएको छ । त्यसपछि कांग्रेस र माओवादीले पनि यसको सिको गरेका छन् ।

यसपटक परिवारबाटै राजनीतिक उत्तराधिकारीका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई अघि सार्नुको पछाडि सहानुभूति मतसँगै अत्यधिक बहुमतले जित्ने लक्ष्य एमालेले राखेको छ । तर, इलामका मतदाताले एमालेलाई दिने आधा मत पहिचान पक्षधरलाई जाने सम्भावना पनि उत्तिकै छ । एमाले पहिचानको विरोधी भन्दै पहिचानवादी पक्षधरले इलाममा जनमत बनाइरहेका छन् ।

अघिल्लो निर्वाचनको परिणाम हेर्दा बलियो देखिएको एमालेको मत पहिचानवादी पक्षधरमा बाँडिएमा एमालेबाट उम्मेदवार बनेका सुहाङलाई निर्वाचन जित्न मुस्किल पर्नसक्ने सम्भावना उत्तिकै छ । एमालेका उम्मेदवारलाई यसपटक माओवादीले सघाउने भनेर विज्ञप्ति नै जारी गरिसकेको छ । तर, माओवादीकै नेता तथा कार्यकर्ता भने आफ्नै पार्टीको निर्णयमा कति अडिग हुन्छन् भन्नेमा शंका छ । केन्द्रमा सत्ता गठबन्धनपछि माओवादी नैतिक संकटका बाबजुद एमालेको उम्मेदवारलाई सघाउने निचोडमा पुगेको हो ।

त्यसो हुँदा सहज रूपमा जित निकाल्न सकिने एमालेले आँकलन गरे पनि सत्ता गठबन्धनकै घटक नेकपा एकीकृत समाजवादीका तर्फबाट जितबहादुर राईलाई उम्मेदवार बनाइएको छ । राई एमाले पृष्ठभूमिका हुन् । यसअघि कोशी प्रदेशको नामकरणको सवालमा एकीकृत समाजवादीले लिम्बुवान प्रदेश बनाउनुपर्छ भनेर पहिचान पक्षधर देखिएको कारण पहिचानवादी र एमालेको भोटसमेत उसले लिनसक्ने देखिन्छ । यसो हुँदा सुहाङलाई जित निकाल्न झनै गाह्रो पर्नेछ । त्यस्तै, पहिचानवादी पक्षधरबाट निर्वाचनमा होमिएका डकेन्द्रसिंह लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् ।

उनलाई प्रदेश १ को पुनः नामकरण संघर्ष समितिमा आबद्ध ४१ बढी घटकसहितका दलको समर्थन रहेको छ । डकेन्द्रलाई डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी, जसपासहितका दलको पनि समर्थन छ । साथै, किराँती धर्म गुरुको पनि डकेन्द्रलाई समर्थन भएको हुँदा डकेन्द्र ठूला दल कांग्रेस र एमालेका लागि चुनौती बनेका छन् । एमाले पृष्ठभूमिका भएकाले उनले पनि एमालेको भोट काट्नसक्ने आँकलन गर्न सकिन्छ । किनकि डकेन्द्रले पहिचानको कुरा उठाएर निर्वाचनमा होमिएका छन् ।

यता, कांग्रेसका बलिया प्रतिस्पर्धीका रूपमा रहेका डम्बरबहादुर खड्का यसपटक निर्वाचन जित्ने दाउमा छन् । पहिचान पक्षधरका कारण सबैभन्दा बढी एमालेकै मत काटिने भएकाले यसपटक कांग्रेस उम्मेदवारको पल्लाभारी हुने सम्भावना रहेको कांग्रेसको आँकलन छ । अघिल्लो पटक माओवादीसहितको मत पाएका खड्कालाई यसपटक त्यो सुविधा छैन । तर, पहिचानवादी पक्षधर निर्वाचनमा होमिएका कारण कांग्रेसले यसपटक सहज जित निकाल्ने आँकलन गरे पनि पार्टीभित्र अन्तरघात हुने अवस्था आयो भने समस्या हुने देखिन्छ ।

भर्खरै गठबन्धनबाट बाहिरिएको कांग्रेसले यस उपनिर्वाचनमा एकजुट हुनसकेन भने आउँदो २०८४ सालको निर्वाचनमा झनै संकट बेहोर्ने निश्चित छ । त्यसैले, यसपटक कांग्रेसका गुट, उपगुट र समूहले केन्द्रबाट टिकट वितरण भएलगतै हामी सबै एकजुट छौं भनेर सन्देश दिएका छन् । तर, सो सन्देश निर्वाचनसम्म निरन्तर रहने हो कि होइन भन्ने शंका नै छ । यदि निरन्तरता रह्यो भने कांग्रेललाई जित निकाल्न सहज हुने देखिन्छ ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसले अघिल्लो पटक यस निर्वाचन क्षेत्रमा पर्ने पालिका र वडामा बलियो उपस्थिति जनाएको थियो । जनजातिको मत बाँडिदा त्यसको फाइदा कांग्रेसले लिनसक्ने सम्भावना पनि उत्तिकै छ । यसैले फेरि पनि कांग्रेसले सुहाङलाई बलियो चुनौती दिने देखिएको छ । फेरि पनि दुई पुराना र ठूला दल एकातिर आमनेसामने हुने स्थितिमा छन् ।

अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परम्परागत दलबाट आफूहरू फरक भएको भन्दै निर्वाचनमा होमिएको छ । रास्वपाले सो क्षेत्रमा मिलन लिम्बुलाई अघि सारेको छ । माओवादी पृष्ठभूमिका लिम्बुलाई रास्वपाले अघि सारे पनि जनताले कति मन पराउँछन् त्यो भने आउँदो निर्वाचनको परिणामले देखाउला । अघिल्लो पटक रास्वपाका प्रकाश सापकोटाले इलाम–२ मा १ हजार ३ सय ८० मत ल्याएका थिए ।

तर, यसपटक रास्वपाले इलामकै रैथाने लिम्बुलाई निर्वाचनमा उतारे पनि पहिचानवादी पक्षधरले धेरै मत काट्ने आँकलन त्यहाँका स्थानीय नेताले गरिरहेका छन् । रास्वपाको स्पष्ट भिजन नभएको र संघीयता नमान्ने पार्टी भएको भन्दै निर्वाचनमा आमजनतामा प्रचारप्रसार भइरहँदा त्यसको प्रभाव पर्ने देखिन्छ । २०८४ सालमा स्पष्ट बहुमत ल्याउँछौं भनिरहेको रास्वपाका लागि इलाम–२ को उपनिर्वाचन खरो परीक्षा हुने देखिएको छ ।

अघिल्लो पटक कसले कति मत प्राप्त गरेका थिए ?

अघिल्लो निर्वाचनमा इलाममा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको थियो । एमालेले २६ हजार ५ सय ६२ मत प्राप्त गर्दा कांग्रेसले २२ हजार ३ सय ३३ मत ल्याएको थियो । माओवादीले ५ हजार १ सय ५३ मत मात्रै पायो भने रास्वपाले ४ हजार ६ सय ८६ मत प्राप्त गरेको थियो ।

मंगोल नेसनल अर्गनाइजेसनले १ हजार ६ सय ६१, राष्ट्रिय जनमुक्ति पार्टीले १ हजार ४ सय १३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ३ सय १९, राप्रपाले १ हजार १ सय ९१, जसपाले ९ सय ६, नेकपा एकीकृत समाजवादीले ५ सय ८६, नेकपा माक्र्सवादीले १ सय २९, जनमत पार्टीले १ सय २४, आमूल परिवर्तन मसिहा पार्टी नेपालले १ सय ५, लोसपाले ९९, नेमकिपाले ७१ र नेपाली जनता दलले ६० मत प्राप्त गरेका थिए । तर, यसपटक अघिल्लो वर्षको मतपरिणामलाई मात्रै आँकलन गरेर निर्वाचनको परिणाम यही नै हुन्छ भन्नसक्ने अवस्था देखिँदैन । पहिचानवादी पक्षधरका कारण इलाममा यसपटक निर्वाचन रोचक बन्नसक्ने र ठूला भनिएका दलको मत कटौती हुनसक्ने सम्भावना भने प्रचुर मात्रमा देखिन्छ ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *