माइतीघर क्षेत्रको निषेधाज्ञा हट्यो
काठमाडौं। काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र शनिबारदेखि हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै गत फागुन ४ गतेदेखि लागू गरिएको निषेधाज्ञा हटाएको जानकारी दिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा आज जारी सूचनामा भनिएको छ, ‘हाललाई सुरक्षा चुनौती विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति काठमाडौंको आजको सिफारिसअनुसार माइतीघर मण्डलादेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई २०८१ वैशाख १ गतेदेखि निषेध आदेश कायम नरहने सबैलाई सूचित गरिन्छ।’
यसअघि काठमाडौंका विभिन्न स्थानमा दुई महिनासम्मका लागि भेला, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभाजस्ता विरोधका कार्यक्रम नगर्न आदेश जारी गरिएको थियो।
यस्तै, गृह मन्त्रालयले सार्वजनिक सम्पत्ति तोडफोड र सुरक्षाकर्मी लक्षित आक्रमण गर्ने प्रवृत्तिविरुद्ध सरकारले कडा नीति लिने जनाएको छ। मन्त्रालयले आज प्रेस विज्ञप्तीमार्फत विभिन्न मुद्दा र मागमा हुने आन्दोलनका क्रममा उछृङ्खल गतिविधि गरी सार्वजनिक सम्पत्ति तोडफोड र सुरक्षाकर्मी लक्षित आक्रमण गर्ने प्रवृत्तिविरुद्ध सरकारले कडा नीति लिने जानकारी दिएको हो।
नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई सम्मान गर्दै नेपालको संविधान र प्रचलित कानूनको प्रतिकूल नहुने गरी प्रदर्शन गर्न पाउने हक सुनिश्चित गर्ने र तोकिएका निषेधित क्षेत्र कम गर्ने कार्य भइरहेको समेत जनाएको छ। मुलुकी देवानी संहिता, २०७४ र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जरिवानासहितको कारबाही हुने मन्त्रालयले जनाएको छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment