अघिल्लाभन्दा संसदका यो अधिवेशन उपलब्धिमूलकः सभामुख
काठमाडौं। सभामुख देवराज घिमिरेले तुलनात्मक रुपमा अघिल्ला अधिवेशनभन्दा प्रतिनिधिसभाको तेस्रो अधिवेशन उपलब्धिपूर्ण भएको बताएका छन्।
प्रतिनिधिसभाको तेस्रो अधिवेशन अन्त्यका अवसरमा आज आयोजित बैठकमा उनले कानुन निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्नेलगायतका कार्यमा तुलनात्मक रूपमा अघिल्ला अधिवेशनभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको बताएका हुन्।
सभामुख घिमिरेले भने, “अघिल्ला अधिवेशको तुलनामा तेस्रो अधिवेशन उपलब्धिपूर्ण भए पनि पर्याप्य भने हुन सकेन। राजनीतिक दलहरूबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका आधारमा आगामी अधिवेशन अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास लिएको छु।”
उनले अधिवेशन अवधिभर सक्रियतापूर्वक सहभागी हुने सदस्यलाई धन्यवाद ज्ञापन गर्दै संसदीय कार्यमा सहयोग गर्ने सङ्घीय संसद् सचिवालयका कर्मचारी, सुरक्षालगायतका सबै संयन्त्रलाई धन्यवाद ज्ञापन गरे।
“संसद् जनताको भावनालाई जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले अभिव्यक्ति दिने प्रमुख स्थान भएकाले यहाँ आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोश पनि व्यक्त हुन्छन्”, उनले भने, “नेपाली समाज र राजनीतिमा रहेका विविधता, विरोध र बहस पनि स्वाभाविक रूपमा देखिन्छन् । संसद्मा अभिव्यक्त जनप्रतिनिधिका आवाजलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्दा त्यसले सुशासन कायम गर्न र असन्तुष्टिको निवारण गर्न मद्दत पुर्याउँछ।”
संसद्मा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पुर्याउन सके यस गरिमामय संस्थाको महत्व र समयको उचित सदुपयोग हुनसक्ने सभामुखको भनाइ थियो। संसद् जति क्रियाशील र प्रबुद्ध भयो त्यसले त्यति नै विधि निर्माणमा गुणात्मक प्रभाव पार्ने बताउनुभयो । त्यस अवसरमा उहाँले नयाँ वर्ष २०८१ सालको शुभकामना व्यक्त गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment