शिवरात्रीको महत्त्व

अमेरिकाबाट नेपाली राशिफल

फाल्गुण कृष्णपक्ष चतुर्दशीको दिन महाशिवरात्रीको नामले प्रसिद्ध छ। भगवान  शंकरको आराधना गर्ने मुख्य दिन हो शिवरात्री। अन्य देवीदेवताहरूको पूजाआराधना दिउँसो गरिन्छ, तर शिवजीको पूजा रात्रीको समयमा गरिन्छ, त्यो पनि फाल्गुण कृष्ण चतुर्दशीका दिन। किन?

फाल्गुण कृष्ण चतुर्दशीका दिन शिवजीको पूजा आराधना गरिन्छ। भगवान शंकर संहारशक्ति तथा तमोगुणका अधिष्ठातृ देवता हुन्। त्यसैले अन्धकारयुक्त रात्री शंकरजीलाई प्रिय लाग्नु स्वाभाविक देखिन्छ।

रात्री संहारकालको प्रतिनिधि हो, किनकि रात्रीको आगमनसँगै सर्वप्रथम प्रकाशको संहार हुन्छ, जीवको दैनिक क्रियाकलापका साथै चेतनताको पनि संहार हुन्छ र सम्पूर्ण विश्व अचेत भएर निद्रादेवीको शरणमा जान्छ। यस्तो स्थितिमा प्राकृतिक दृष्टिले पनि रात्रीकाल संहारका अधिष्ठातृ देवता शिवजीलाई अन्धकार प्रिय हुनु स्वाभाविक देखिन्छ।

शिवरात्री मात्र नभएर अन्य रात्री पनि शिवजीलाई उत्तिकै प्रिय हुन्छन्। जस्तै : प्रदोषको समयमा पनि शिवजीको विशेष पूजा आराधना गरिन्छ। शुक्ल पक्षमा चन्द्रमा क्रमशः पूर्ण स्थितिमा आउने भएकाले चराचर जगत्का सम्पूर्ण रसवान् पदार्थहरूको पनि क्रमशः वृद्धि हुँदै जान्छ।

त्यसै गरी कृष्णपक्षमा चन्द्रमा क्रमशः क्षीण हुँदै जाने हुँदा रसवान् पदार्थहरूमा क्षीणता हुने गर्दछ। चराचर जगत्का हृदयका अधिष्ठातृ देवता चन्द्रमा कृष्णपक्षको औंशीमा एकदमै क्षीण हुने हुँदा त्यसको प्रभाव भूमण्डलका सम्पूर्ण प्राणीमा पर्दछ।

फलस्वरूप प्राणीको अन्तःकरणमा तामसी शक्ति प्रबल हुन्छ। जसले गर्दा अनेक प्रकारका नैतिक एवम् सामाजिक अपराधहरूको उदय हुन्छ, जसलाई भूत प्रेतआदि भनिन्छ। यी भूत प्रेत आदिलाई शिवका गण भनिएको छ। यिनका नियामक भूतभावन भगवान शिवजी हुनुहुन्छ।

दिनको समयमा यी तामसी प्रवृत्तिका भूत प्रेतआदिले सूर्यको प्रकाश एवम् जीवको जागरुकताका कारण तामसी शक्तिको विशेष प्रभाव देखाउन सक्दैनन्। कृष्णपक्षको अन्धकारमय रात्रीको आगमनसँगै यिनको प्रभाव पनि प्रबल हुने गर्दछ।

भगवान् शिवलाई कृष्णपक्षको अन्धकारमय रात्री प्रिय हुनुको एक कारण यो पनि हो। अमावश्या (चन्द्रक्षय तिथि) आउनुभन्दा अगाडि नै ती भूतप्रेतआदि तामसी शक्तिहरूलाई शान्त गर्नका लागि एकमात्र उपाय उनका अधिष्ठाता देवता भगवान् आशुतोष शिवजीको आराधनाको विधि शास्त्रमा उल्लेख गरिएको हो।

कृष्णपक्षको यही रात्रीमा शिवजीको आराधना गर्ने नियम बनाइएको हो। यहाँ सन्देह के हुन सक्छ भने कृष्णपक्ष त हरेक महिनामा हुन्छन् तर ती हरेक महिनाको चतुर्दशीलाई किन शिवरात्री भनिँदैन? फाल्गुन कृष्णपक्षको चतुर्दशीलाई मात्र किन महाशिवरात्री भनिन्छ?

अवश्य पनि हरेक महिनाको चतुर्दशीलाई शिवरात्री भनिँदैन तर शिवको आराधना गर्ने रात्री भने अवश्य हो। पञ्चांगमा यसको नाम भिन्नभिन्न रूपमा उल्लेख गरिएको छ। हरेक महिनाको कृष्णपक्ष चतुर्दशी शिवजीको आराधना गर्ने विशेष दिन हो।

यही कुरालाई पुष्टि गर्नका लागि फाल्गुन कृष्ण चतुर्दशीलाई स्पष्ट रूपमा ‘महाशिवरात्री’ भनिएको छ। यसको अर्थ अन्य रात्री शिवरात्री हुन् भने फाल्गुण कृष्ण चतुर्दशीको रात्री ‘महाशिवरात्री’ हो।

यस कारण क्षयपूर्ण तिथि अर्थात् अमावस्याको दुष्प्रभावबाट बच्नको लागि एक दिन पहिले अर्थात् चतुर्दशीको रात्रीमा शिवजीको उपासना गरिन्छ। त्यसै गरी क्षयपूर्ण तिथिहरूको अन्तिम महिना भन्दा एक महिना अघि अर्थात् चैत्र महिना भन्दा एक महिना पूर्व फाल्गुणमा यो पर्वको वर्णन गरिनु युक्तिसङ्गत देखिन्छ।

किनकी पर्व वर्षको उपान्त्य महिना तथा महिनाको उपान्त्य दिनमा मनाउने गरिन्छ। किनकी यस समयमा अज्ञात शक्तिको सत्तामा प्राकृतिक सुन्दरताको पनि संहार भइरहेको प्रतीत हुन्छ।

चारैतिर उजाड वातावरण, पतझडका कारण प्रकृति सुख्खा र फुस्रो देखिन थाल्दछ। यस्तो लाग्छ कि भगवान शिवको रौद्रशक्ति प्राकृतिक सुन्दरताको संहारमा लागेको छ।

रुद्र एकादश रूपमा हुने भएकाले वर्षको एघारौं महिना अर्थात् फाल्गुणमा शिवजीको पूर्ण स्वरूपको अवस्थामा महाशिवरात्री पर्वको निरूपण गरिएको हो। प्राकृतिक सुन्दरताका प्रदाताका रूपमा शिवजीको पूजा आराधना गरिन्छ।

फलस्वरूप महिनाको अन्त्यमा अर्थात् वसन्त ऋतुको आगमनसँगै सम्पूर्ण प्रकृति हरियालीयुक्त हुन्छ। प्राकृतिक सुन्दरता चरम उत्कर्षमा पुग्छ। मानौं शिवजी प्रसन्न भई प्राकृतिक संहार छोडेर शान्त र कल्याणकारी शङ्कर बनेर विराजमान हुनुहुन्छ।

त्यसैले महाशिवरात्रीका दिन शिवको उपासना, पूजा आराधना गर्नु आध्यात्मिक, पारमार्थिक रूपले मात्र नभइ जीवन सरल र सहजताका साथै प्रकृतिसँग जीवको सम्बन्धलाई अझ घनिष्ट बनाउनको लागि पनि आशुतोष शिवको आराधना यस समयमा गर्नु समयसान्दर्भिक देखिन्छ।

शिवपूजामा बेलपत्र किन?

शिवपुराणआदि विभिन्न वैदिक ग्रन्थमा शिवजीको पूजाआराधना गर्दा बिल्वपत्र अनिवार्य चाहिने विधान छ। गणेशजीलाई दूवो प्रिय लागेजस्तै शिवजीको बेलपत्र पनि प्रिय वस्तुअन्तर्गत पर्दछ।

विभिन्न पुराणमा एउटा बेलको वृक्ष (रुख) लगाउनाले मानिसको सात पुस्ता (यदि नर्कको बासमा भए पनि तर्दछन्) भनेर लेखिएको छ। बेलको वृक्ष (रुख) लगाउने मानिसलाई कुनै पनि घरसम्बन्धी पीडा सहनुपर्दैन भनेर पनि विभिन्न ग्रन्थमा सांकेतिक चर्चा परिचर्चा गरिएको पाइन्छ।

दर्शनं बिल्ववृक्षस्य स्पर्शनं पापनाशनम्।
अघोरपापसंहारमेकबिल्वं शिवार्पणम्।।

अर्थात् बेलवृक्षको दर्शन एवम् स्पर्श (छुने कार्य) गर्नाले मात्र पाप नष्ट हुन्छ भने बेलको रुख रोप्नाले कति पुण्य मिल्ला सोझै अनुमान गर्न सकिन्छ। यसैगरी विभिन्न आध्यात्मिक एवम् पौराणिक ग्रन्थहरूमा त के सम्म पनि भनिएको छ भने एउटा बेलको रुख रोप्नु र एक करोडको सुनको पैसा दान गर्नुको फल बराबर हुन्छ पनि भनिएको छ।

यदि कुनै मनुष्य अखण्ड (खण्डित नभएको) बेलपत्रद्वारा एक पटक मात्र भगवान शिवजीको पूजाआराधना गर्दछ भने सम्पूर्ण पापबाट मुक्त भएर शिवधाम प्राप्त गर्न सफल हुन्छ।

यसैगरी जुन पुरुष या स्त्री भक्ति र श्रद्धापूर्वक भगवान शिवजीको बेलपत्रद्वारा पूजा गर्दछन्, तिनीहरू यस लोकमा (संसारमा) ऐश्वर्यवान् या विभिन्न धनधान्य एवम् ऐश्वर्यले सहित भएर शिवलोक जान्छन् भनिएको छ।

आफ्नाे घर, कार्यालय, कर्पाेरेट भवन, सामाजिक सङ्घसंस्थाआदिको नजिकै यदि बेलको वृक्ष रोपेमा त्यहाँ रहेको वास्तुदोष निवारण हुने पनि प्रमाणद्वारा पुष्टि भइसकेको छ।

रुद्राभिषेक किन ?

शिवजीलाई प्रसन्न गर्नका लागि महत्वपूर्ण कार्यअन्तर्गत रुद्राभिषेकलाई लिइन्छ। भगवान््् शिव आसुतोष हुनुहुन्छ। आशुतोष भनेको छिट्टै नै भक्तको भक्तिभावबाट खुशी हुनु हो।

अतः भगवान शिवजीलाई रुद्राभिषेकबाट नै छिट्टै खुशी बनाउन सकिने मान्यता रहिआएको छ। विभिन्न वैदिक ग्रन्थहरूमा शिवजीलाई प्रसन्न गर्नका लागि रुद्राभिषेकदेखि अन्य कुनै विधि नभएको कुरा उल्लेख छ।

रुद्राष्टाध्यायीद्वारा रुद्राभिषेक गर्नाले धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्न सकिन्छ। विभिन्न रोगबाट पनि छुटकारा पाइन्छ भन्ने मान्यता रहेको छ। संसारमा यस्तो कुनै पनि वस्तु छैन, जहाँ रुद्राभिषेकबाट प्राप्त गर्न नसकियोस्। दुर्लभभन्दा दुर्लभ वस्तु पनि एक पटक मात्र रुद्राभिषेक श्रवण गर्नाले पाइन्छ भन्ने शिवपुराणमा छ।

अतः शिवजीको पूजाआराधना गर्नका लागि रुद्राभिषेकको महत्ता महŒवपूर्ण छ। यो छिट्टै नै आप्नो मनोकामना सिद्ध गर्नका लागि अति उपयोगी रहेको उपर्युक्त तथ्यबाट पनि स्पष्ट हुन्छ। अतः शिवजीको पूजामा रुद्राभिषेक अग्रणी रहेको छ। अझै यसको महŒव शिवरात्रीको अवसरमा विशेष रहेको छ।

अप्रिप १६देखि ३० सम्मको राशिफल

मेष राशि : चु,चे,चो,ला,लि,लु,ले,लो,अ

वैदेशिक यात्राको योग देखिन्छ। मनमा चञ्चलता बढ्नेछ। साना बालबच्चासँग आकर्षण बढ्नेछ। मनमा उत्साह साहस बढ्नेछ। आफन्तहरुले अपेक्षाकृत सहयोग गर्लान्। अध्ययन अध्यापनमा बाधा आउनेछ। निकृष्ट कार्यबाट धन दौलत आर्जन भए पनि नष्ट होला। व्यापार व्यवसायमा वृद्धि हुनेछ।

वृष राशि : इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

साथीभाइसँग विवाद हुन सक्ला। दूधजन्य पदार्थको व्यापारबाट लाभ मिल्नेछ। जागिरमा विवाद आउने देखिन्छ। मातापिताबाट सहयोग पाइएला। ससुरालीसँग सामान्य मनमुटाव रहला। अध्ययन अध्यापनमा सुधार आउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। खर्चमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा उन्नति हुनेछ। मनमा प्रसन्नता बढ्नेछ।

मिथुन राशि : का,कि,कु,घ,ङ,छ,के,को,हा

अचल सम्पत्ति जोडिएला। मनमा हर्ष बढ्नेछ। शरीरमा आलस्यता आउनेछ। सन्तानबाट सहयोग मिल्ने छैन। थालिएको काममा निरन्तरता दिन समस्या पर्नेछ। अध्ययनमा भन्दा अध्यापनमा समय खर्चिने देखिन्छ। खर्चमा वृद्धि हुनेछ। आम्दानी घट्नेछ। आगोबाट भय रहेको हुँदा सावधान रहनु होला। भाग्योदयको योग भने प्रबल रहेकोछ।

कर्कट राशि : हि,हु,हे,हो,डा,डि,डु,डे,डो

आफन्तको सहयोगले वैदेशिक यात्रामा सफलता मिल्ने देखिन्छ। मातापिताको सहयोगले साहित्य संगीतमा रुचि बढ्नेछ। गरेका कामबाट सन्तुष्टि नै मिल्नेछ। स्वास्थ्यमा सुुधार आउनेछ। कार्यमा बाधा, विवाद आउनेछ। आर्थिक पक्ष कमजोर बन्ला। मनमा खिन्नता, चिन्ता बढ्नेछ। अध्ययन अध्यापन पक्ष राम्रो देखिँदैन।

सिंह राशि : मा,मि,मु,मे,मो,टा,टि,टु,टे

आफन्तजनसँग भेटघाट हुनेछ। धार्मिक क्षेत्रको यात्रा होला। व्यापार व्यवसायमा सफलता नै मिल्ने देखिन्छ। धार्मिक कार्यमा खर्च बढ्ला। समाजमा मान प्रतिष्ठा बढ्नेछ। घर घडेरीको व्यापारमा लाभ मिल्नेछ। पुरस्कार, मान सम्मान पाइनेछ। पेट सम्बन्धी समस्याले सताउन सक्ला। मनमा खिन्नता बढ्ला।

कन्या राशि : टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

ससुराली वा मावलीबाट सहयोग नै पाइनेछ। आर्थिक क्षेत्रमा सुधार हुनेछ। अनुहारमा कान्ति छाउनेछ। सवारी साधनको किनबेच होला। अकस्मात् धनागमको योग देखिन्छ। स्वास्थ्यमा सुधार आउनेछ। मनमा उत्साह बढ्नेछ। परिवारको सहयोग रहने छैन। अध्ययन अध्यापन सामान्य रहनेछ।

तुला राशि : रा,री,रु,रे,रो,ता,ती,तु,ते

राज्यबाट कार्यमा उल्झन आउनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। धार्मिक कार्यमा रुचि बढ्ने छ। विद्यामा प्रगति हुनेछ। साहित्य संगीतमा रुचि बढ्नेछ। मनमा उत्साह हर्ष बढ्नेछ। घरमा मांगलिक कार्य होला। दाजुभाइको सहयोगले अल्झिएका कार्य सुचारु हुनेछन्। भाग्योदयको योग रहेकोछ।

वृश्चिक राशि : तो,ना,नी,नू,ने,नो,या,यि,यू

वैदेशिक व्यापारबाट लाभ मिल्नेछ। महत्वपूर्ण सामग्री हराउन सक्छ। अध्ययन अध्यापनमा रुचि बढ्नेछ। राजनीतिमा सफलता मिल्नेछ। राज्यबाट मान सम्मान पाउने योग छ। माया प्रेम बढ्नेछ। नयाँ व्यापारको थालनीले फाइदा नै हुनेछ। वैदेशिक व्यापारबाट घाटा होला। बसाइ सराइ एवं स्थानान्तरणको योग छ।

धनु राशि : ये,यो,भा,भी,भू,धा,फा,ढा,भे

स्वास्थ्यमा सामान्य समस्या रहनेछ। व्यापार व्यवसायमा वृद्धि हुनेछ। दाजुभाइबाट सहयोग मिल्नेछ। शत्रु परास्त हुनेछन्। जागिर पाइने वा पदोन्नति हुने योग छ। राजनीतिमा विवाद बढ्नेछ। अध्ययन अध्यापन फलदायी रहनेछ। आय आर्जनमा सुधार आउनेछ। धार्मिक कार्यमा समय व्यतित हुनेछ।

मकर राशि : भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी

गरेका कार्यबाट सन्तुष्टि नमिल्ला। अनावश्यक वाद-विवाद एवं तर्क-वितर्कको सामना गर्नु पर्ला। प्रसस्त धन सञ्चयको अवसर मिल्नेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। साहित्यिक सभा सम्मेलनमा सहभागी हुने अवसर प्राप्त हुनेछ। विपरित लिंगीबाट धोका हुन सक्नेछ। अनावश्यक यात्राको योग पनि छ।

कुम्भ राशि : गु,गे,गो,सा,सी,सु,से,सो,द

मनमा क्रोध उत्पत्र भइ कार्यमा बाधा पर्न सक्नेछ। चोट पटकको योग पनि रहेको हुँदा सावधान रहनु होला। पारिवारिक सहयोग मिल्नेछ। गरेका कार्यबाट आर्थिक लाभ हुनेछ। वैचारिक सद्भाव बढ्नेछ। खर्चमा वृद्धि हुनेछ। सुखद यात्राको योग रहेकोछ। गीत–संगीतमा रुचि बढ्नेछ। शत्रुहरु परास्त हुनेछन्। शैक्षिक क्षेत्र प्रभावित हुनेछ।

मीन राशि : दी,दु,थ,झ,ञ,दे,दो,चा,ची

अचल सम्पत्तिको खरिद बिक्री हुनेछ। कार्यमा उत्साह र विश्वास बढ्नेछ। सन्तानसुख प्राप्त हुनेछ। पक्षको पूर्वाद्र्ध कालीन समय सुखद रहनेछ। दाम्पत्य जीवन सुखमय बत्रेछ। यात्रामा सफलता मल्नेछ। आर्थिक क्षेत्र सबल बत्रेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। शत्रूहरु बढे पनि विजय नै हात लाग्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *