रालेमा नेपाल डे भव्य रुपमा मनाइयो

कृष्णराज खनाल
१० वैशाख २०८१ ९:५५

राले। नर्थ क्यारोलिनाको मोरिसभिलमा शनिवार आठौँ नेपाल डे भव्य रुपमा सम्पन्न भएको छ। नेपाल र अमेरिकाको राष्ट्रिय गानपछि सुरु भएको कार्यक्रमा सहभागी हुन यस भेगका मानिसहरु उत्साहपूर्वक ओइरिएका थिए।

राले वरपर बसोवास गर्ने नेपालीहरुको साझा संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिना (एनसीएनसी) ले विगतको वर्षझै यस वर्ष पनि नेपाल डे मनाएको हो।

नेपाल डे औपचारिक रुपमा प्रत्येक वर्ष अप्रिल महिनाको तेस्रो शनिवार मनाइने घोषणा भए बमोजिम यस वर्ष अप्रिल २० शनिवारका दिन नेपालीहरुको बाक्लो बसोवास रहेको स्थान मोरिसभिलमा सो कार्यक्रम भव्य रुपमा आयोजना भएको हो।

कार्यक्रमको नर्थ क्यारोलिना तल्लो सदनकी सदस्य या लिउ, वेक काउन्टीका कमिस्नर, मोरिसभिल, केरी र एपेक्स टाउनका प्रतिनिधिहरुले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए। सो अवसरमा करिब एक हजार मानिसहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा नर्थ क्यारोलिना सरकारका उच्च पदस्थ कर्मचारीहरु, मोरिसभिल, केरी, एपेक्स र राले क्षेत्र वरपरका टाउन पदाधिकारीहरु पनि मार्चपासमा सहभागी भई औपचारिक सभाबाट नेपाल डेको सफलताको कामना मात्र कामना मात्र गरेनन्, नेपाल र नेपालीको खुलेरै प्रशंसा पनि गरेका थिए।

उनीहरुले नेपालीहरुले मोरिसभिल वरपर क्षेत्रको साँस्कृतिक, समाजिक र आर्थिक उन्नतिमा ठूलो योगदान दिएको स्मरण गर्दै समुदायमा यसले ठूलो सकारात्मक सन्देश पुर्याएको बताएका थिए।

उनीहरुले नेपालीहरुले दोस्रो विश्वयुद्धमा पुर्याएको गर्विलो योगदानको पनि स्मरण गर्दैै नेपाली कला र संस्कृतिको उन्नयन संरक्षणमा लागेकोमा खुसी पनि व्यक्त गरेका थिए।

उनीहरुले नेपाली नयाँ वर्षले नेपालीहरुमा खुसी र समृद्ध आओस् भन्ने कामना पनि गरेका थिए। यसरी मन्तव्य दिनेहरुमा आयुग एण्ड निकोले, आर्नो जिगरम्यान,डन मियल, प्रोटेम सतिश गरिमेला, मारिया सेरभानिया र या लु सेरभानिया रहेका थिए।

सो अवसरमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीको शुभकामना सन्देश पनि पढेर सुनाइएको थियो।

नेपाल डे का अवसरमा नेपाली खानाको अधिक परिकार, नेपाली पोशाक, धर्म दर्शन, साँस्कृतिक र पुरातात्विक महत्वका स्थान र महत्व आदि झल्काउने जस्ता विविध स्टलहरु स्थापना गरिएको थियो।

त्यसैगरी बालबालिकाका लागि वाउन्सी हाउस, स्लाइड आदि राखिएको थियो भने आम मानिसहरुका लागि साँस्कृतिक कार्यक्रम, डिजे र व्याण्ड समावेश गरिएको थियो। जसमा स्थानीय कलाकारहरु वसन्त खड्का, श्याम लामिछाने, ऐश्वर्या तिवारी, मुकेश अधिकारी, सञ्जीप खनालका अतिरिक्त नेपालबाट आएका गायक हेमन्त शर्माले पनि आफ्नो जोडदार प्रस्तुति दिएका थिए।

कार्यक्रममा यहाँ सञ्चालनमा रहेको नेपाली स्कुलका भाइबहिनीहरुले मै छोरी सुन्दरीदेखि डम्फुमा सेलो, आँखैमा राख्छु मेरो देश, घिन्तांग, वारी जमुना पारी जमुना, कौरा नृत्य, लेकका हामी केटाकेटी, गुराँसै फुल्यो बनैमा, काले केटाले, माइती घर, कैले फूल बनी जस्ता गीत र नृत्यले माहोल तताएको थियो भने दाइभाइको लाइभ व्याण्डले दर्शकदीर्घालाई तानेको थियो।

सो अवसरमा राफल चिठ्ठा र रक्तदान कार्यक्रम पनि राखिएको थियो। मम, सेल रोटी र आइसक्रिमको स्टलमा मानिसहरु झुम्मिएका थिए।

संस्थाकी महासचिव कल्पना भण्डारी र सदस्य निभिता शर्माले सञ्चालन गर्नुभएको सो कार्यक्रमको दोस्रो सत्र भने गितिका पराजुली, अजय शर्मा, प्रियांशु नेपाल र सम्यम लामिछानेले सञ्चालन गरेका थिए।

नेपाल परेड डे आयोजक समितिका अध्यक्ष विक्रम गौतममले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेका थिए भने युवाका तर्फबाट विशेष्ट थापाले मन्तव्य राखेका थिए। संस्थाका उपाध्यक्ष नारायण लुइँटेलले संक्षिप्त प्रतिक्रिया दिँदै आगामी वर्षमा युवा र बालबालिका केन्द्रित कार्यक्रमलाई अझ अगाडि बढाउँदै लगिने जानकारी दिए।

संस्थाका अध्यक्ष विकास शाक्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमपछि शाक्यले आयोजक, सहभागीहरु, चन्दादाता, अतिथि, स्वयंसेवी र कार्यक्रम सफल पार्न योगदान पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

विदेशमा नेपाली संस्कृति, परम्परा र रीतिरिवाजको जगेर्ना र उत्थानका लागि सक्रिय रहेको एनसीएनसी गैर नाफामूलक संस्था हो। यसले स्थानीय रुपमा नेपालीहरुलाई विदेशमा चिनाउन ठूलो योगदान दिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *