शरणार्थीलाई रुवाण्डा पठाउने विधेयक बेलायती संसदबाट पारित

डिसी नेपाल
११ वैशाख २०८१ १२:२४

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकको महत्वाकांक्षी रुवाण्डा विधेयक औपचारिक रुपमा स्वीकृत भएको छ ।

यो विधेयक बेलायतको तल्लो सदन हाउस अफ कमन्समा पारित भएपनि माथिल्लो सदन (हाउस अफ लर्ड्स) मा अड्किएको थियो । अब हाउस अफ लर्ड्सले पनि विधेयक पारित गरेको छ । यो विधेयक राजपरिवारको स्वीकृतिपछि कानुन बन्नेछ ।

रुवाण्डाको कानुन मार्फत बेलायती सरकारले आफ्नो देशमा शरण लिइरहेका केही व्यक्तिलाई मध्य अफ्रिकी देश रुवान्डामा पठाउनेछ।

यो विधेयकको विपक्षी दलबाट चर्को आलोचना भए पनि पटक–पटकको बहसपछि अन्ततः सोमबार राति प्रतिपक्षले आफ्नो आपत्ति फिर्ता लिएपछि विधेयक पारित भएको हो ।

१० देखि १२ हप्ताभित्र रुवाण्डाका लागि पहिलो उडान सुरु हुने प्रधानमन्त्री सुनकले बताए ।

बेलायती सरकारले रुवाण्डा विधेयकको उद्देश्य इङ्लिश च्यानलबाट अवैध रूपमा बेलायत आउने शरणार्थीहरूलाई रोक्नु रहेको बताएको छ।

गृहमन्त्री जेम्स क्लेभरलीले भने – विधेयक पारित हुनु “शरणार्थीहरूलाई रोक्ने हाम्रो योजनाको ऐतिहासिक क्षण हो।”

बेलायती सरकारको यो योजना नोभेम्बर २०२३ मा रोकिएको थियो जब बेलायतको सर्वोच्च अदालतले सर्वसम्मतिले रुवान्डा योजनालाई अवैध घोषित गर्यो।

यसपछि बेलायती सरकारले यो योजनालाई अगाडि बढाउन संसदमा नयाँ विधेयक पेस गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *