मानव शरीरमा वास्तुशास्त्रीय तत्वको प्रभाव

अमेरिकाबाट नेपाली राशिफल

संसारको निर्माण पञ्चतत्वले भएको छ। त्यस्तै प्राणीहरुको शरीर पनि पञ्चतत्वले नै बनेको छ। प्राणीहरु मध्ये सर्वश्रेष्ठ चेतनशील प्राणीको रुपमा रहेको मानिसको रचना पाँचै तत्वले भएको छ।

जसमा पृथ्वी (माटो) अन्न, खाद्यपदार्थ, बीज), जल (पानी, रस, घिउ, मह), तेज (आगो, बिजुली, सूर्य), वायु (प्राण, अपान, व्यान, उदान, समान, हावा प्राणशक्ति), आकाश (खुल्ला ठाँउ, अवयव विवरणहरु पृथ्वी र ग्रहहरुका बीचको विवर (ओढार)हरु पर्दछन्। यी पञ्चतत्वबीचको अलौकिक समन्वय नै प्रकृतिशक्ति हो, जो जननी शक्तिका रुपमा रहेको छ।

जननी शक्तिलाई स्वतस्फूर्त आफ्नो नियमअनुसार संसारको सञ्चालन गर्न हस्तक्षेप गरियो भने प्राणी, वनस्पति, सजीव, निर्जीव सबैतत्वमा नकारात्मक प्रभाव पर्दछ। अहिले एक्काइसौँ शताब्दीको युगलाई वैज्ञानिक औद्योगिक युग भनेर हल्ला चलाइको छ। प्राकृतिक तत्वको विनाशको युग भनेर प्रकृतिवादीहरुले भन्ने गर्दछन्।

मानवजीवनको लागि संकट थपिँदै गएको आजको युगको समाप्तिको लागि आधार तयार गरिँदै छ। प्राकृतिक संरचनालाई मानवीय अतिक्रमणले संसारलाई नै आक्रान्त बनाउँदै लगेको छ। भूमिलाई कुरुप बनाउदै अनियन्त्रित विकासको नाममा शहरीकरण गरिँदै छ। पृथ्वीलाई दूषित बनाउदै भौतिकवादको उद्घोष गरिँदै छ।

पृथ्वीलाई दूषित बनाउदै भौतिकवादको उद्घोष गरिँदैछ। भूगर्भमा रहेको जलशीरालाई छेदन गरिँदै छ। जस्तो हाम्रो शरीरका नशालाई काटेर बाँच्न कल्पना गरिए जस्तो। शून्यमा सिर्जना हुँदैन तर नहुने कुराको निरर्थक प्रयास गरिँदै छ। हाम्रै सन्दर्भमा पनि दिनप्रतिदिन प्राकृतिक सम्पदाको विनाशलीला मचाइँदै छ।

केही व्यक्तिको स्वार्थपूर्तिका लागि जल,जंगल,जडिबुटि,उत्पादन क्षमता भएको भूमिजस्ता प्राकृतिक तत्वको विनाश गरिँदै छ। भौगर्भिक जलाशयको विनाश गरिँदै छ। आकाशीय जललाई भूमिमुनि जान नदिएर ढलको माध्यले खोलामा बगाइदै छ। सिमेन्टीको प्रयोग गरी भूमिगत पानीको जीवनचक्रलाई अवरोध गरिँदै छ।

सामान्य आवासका लागि बनाइने घर, भवनका छेउमा अनिवार्य रुपमा सम्पूर्ण घडेरीको वीस प्रतिशत भूमि सिमेन्ट नलेपी आकाशे पानी संकलित भई जमीनमुनी जाने र एक व्यक्ति दूईवटा रुख रोप्ने, जोगाउने वा त्यसकार्य बरावरको रकम स्थानीय निकायलाई तिर्नू पर्ने तथा स्थानीय निकायले आफ्नो स्वामित्वमा रहेको जग्गामा हरेक व्यक्तिको नाम लेखेर रुख रोप्ने नियम बनाउनु उपयोगी हुने देखिन्छ।

यस्तो गरिएमा वास्तुशास्त्रीय आधारमा जीवनचर्या चलाउन सकिन्छ।मानवजीवनमा वास्तुशास्त्रीय पाँचतत्वको प्रभाव प्रत्यक्ष पर्दछ। वास्तुशास्त्रका आधारभूत पाँच तत्वका बारेमा संक्षिप्त रुपमा पृथक चर्चा गर्नु वाञ्छनीय ठहर्छ।

पृथ्वी तत्व

पृथ्वीलाई तर्कशास्त्रले ‘गन्धवती पृथ्वी’ भनेको छ। पृथ्वीतत्व अन्तर्गत माटो, ढुंगा, काठआदि पदार्थ पर्दछन्। यसैमा स्पर्शशक्ति, ध्वनिशक्ति, स्वरुपात्मक शक्ति तथा रसात्मक शक्ति निहित रहन्छ।

सम्पूर्ण प्राणीको निवास र आश्रयस्थलका रुपमा रहेको पृथ्वीलाई पूर्वीय अध्यात्मवादले माताका रुपमा उल्लेख गरेको छ। त्यसैले पृथ्वीलाई माताका रुपमा स्थापित गरी वैदिक वाङमयले शिलान्यासका समयमा वा अन्य कर्मकाण्डीय पद्धति अनुसार उद्घोष गर्दछ-

पृथ्वी त्वया धृता लोका देवी त्वं विष्णुना धृता।
त्वं च धारय मां देवी पवित्रं कुरु चासनम्।।

पृथ्वी तत्वकै प्राकृतिक रुपान्तरित रुप अन्न, फल, फूल आदि हुन्। अर्थात् माटो नै रुपान्तरण भएर मानव शरीरको हाडछाला बन्दछ। यो गन्धवती पृथ्वीले सम्पूर्ण प्राणीको शरीर बनेको छ। त्यस्तै प्राणीहरुको निवास, घर, भनव, दरवार, मठमन्दिर जस्ता संरचना पृथ्वी तत्वको प्रधानतामा बनेको छ।

अतः प्राण रहुन्जेल मात्र, सुडोल, सफा, राम्रो देखिने शरीर प्राण छुटेपछि दुर्गन्धित बन्दै पुनः पृथ्वीतत्वमा लीन हुन्छ। संरचनाको पनि हेरविचार राम्रो बाहिरी भित्ताहरु राम्रा भएनन् भने टिकाउ हुँदैनन्।

जलतत्व

पाँच तत्व मध्ये जलतत्व पनि एक प्रमुख तत्व हो। प्राणीका शरीरमा रहने जल, रगत, मासी सबै जल तत्व हो। जल तत्व नभई संसारको कल्पना गर्न सकिँदैन। जल र आगो आपसमा विरोधी तत्व हुन्। अर्थात् जल र तेजबीचको समन्वयले संसारलाई सञ्चालन गर्न ठूलो भूमिका खेलेको छ।

जल नभै संसारका प्राणी वनस्पति जिवीत रहन असम्भव छ। जललाई शीततत्व पनि भनिन्छ। मानव शरीर लगभग ७० प्रतिशत जल रहन्छ। यति मात्रामा रहेको जलमध्ये एकपतिशत बिग्रिए पनि वाथ, पित्त, कफजन्य रोग लाग्दछ। गृहनिर्माणमा पनि जलतत्व अनिवार्य तत्व हो।

जलको स्थान पनि वास्तुशास्त्रीय आधारमा हुनुपर्दछ। समुचित जलको समायोजन नभएमा मानव शरीरमा अनेकौं रोग लाग्दछ त्यस्तै गृहनिर्माणमा जलतत्वको समुचित व्यवस्थापन भएन भने निवासकर्ता सवै प्राणीहरुलाई पानीजन्य समस्याहरु आउने गरेको देखिन्छ।

जलको समुचित व्यवस्थापन बिना यो संसारमा जीवनको कल्पना पनि गर्न सकिँदैन। अतः मानव जीवन, जगत्, भवनका लागि पनि पानीको विशिष्ट महत्व रहेको छ। जलको वाफ, वरफ रुपान्तरित रुप हो। शारीरिक जलको विकार पसिना, पिसाव, बोसो, आँशु आदि हुन्।

तेज (अग्नि) तत्व

तेजलाई सामान्यतया जलतत्वको विरोधी तत्वका रुपमा चिनिन्छ। यद्यपि जलतत्वभित्र तेज तत्व अर्थात् बिजुली रहन्छ। आधुनिक जीवनमा बिजुली, आगो अनिवार्य आवश्यकीय तत्वका रुपमा स्थापित छ। यसको मूल स्रोत सूर्य हो।

संसारको विकासका लागि सूर्य अर्थात् अग्नितत्व प्रमुख कारण हो। मानव शरीरमा रहने तेज अर्थात् तातोपन हरायो भने मानव अर्थात् प्राणी निर्जीव बन्दछ। संसारको सृष्टिक्रम सञ्चालनमा तेजको जति भूमिका रहन्छ त्यस्तै मानव जीवन सञ्चालनमा पनि रहन्छ नै।

तेजको सामान्यगुण तातोपन अर्थात् उष्णत्व हो। भवननिर्माणमा सूर्य अर्थात् उष्णत्वको समन्वय, आगो, चूल्होको स्थान निर्धारण महत्वपूर्ण पक्ष हो। यसमा मेशिन, अग्नि, चूल्हो, ग्यारेजजस्ता पदार्थको (स्थान)को समन्वय गरिन्छ। अग्नि दावानल (वनको), बडवानल (जलको), जठरानल (प्राणीको पेटको) गरी तीन प्रकारका हुन्छन्।

यो ऊर्जाको रुप पनि हो। सकारत्मक ऊर्जा प्राप्त होस् भन्नाको लागि वास्तुशास्त्रीय नियम अनुसार व्यवस्थापन गर्नुपर्दछ। तेजको प्रमुख स्रोत सूर्य र प्रातकालीन सूर्यको किरण मानवका लागि अपरिहार्य तत्व हो। वास्तुशास्त्रानुसार भवन,घर,दरवार तेलनान्मक रुपमा न्यानो हुनु पर्दछ।

वायु तत्व

पञ्चतत्वमध्ये वायुशक्ति पनि प्रमुख शक्तिका रुपमा रहन्छ। वायुतत्वले सम्पूर्ण जीवनलाई जीवन र प्राण प्रदान गर्दछ। यसैले चेतना र ज्ञानात्मक अवस्था प्रदान गर्दछ। वायुशक्ति नै प्राणशक्ति हो। संसारमा वायु शक्तिको अभावमा जीवन रहँदैन। पृथ्वीमा नै वायु मण्डल रहेको हुँदा यहाँ जीवन छ।

यो वायुमण्डलमा अक्सिजनको मात्रा २१ प्रतिशत छ। यही अक्सिजन मानवको पनि प्राणशक्तिको सञ्चालनमा सहयोगी बन्दछ। मानव शरीरमा रहने वायुलाई प्राण, अपान, व्यान, उदान र समान नामले पुकारिन्छ। अक्सिजनको विनासले अनेकौं भयावह स्थिति पैदा हुन्छ।

अक्सिजनलाई प्राणीले लिन्छन् र कार्वनडाइअक्साइडका रुपमा फााल्दछ। त्यही मानवले फालेको कार्वनडाइअक्साइड बिरुवाले ग्रहण गर्दछ र अक्सिजन फाल्दछ। अतः मानव र वनस्पति बीचको अन्योन्याश्रित सम्बन्धले मानवसमाज र वनस्पति प्रकृति सञ्चालन हुन्छ।

सूर्यास्तको समयमा अधिकांश बोटबिरुवाले कार्वनडाइअक्साइड फाल्दछन् र दिउँसो अक्सिजन फाल्दछन्। त्यसैले दिउँसोको घाममा बिरुवाको छहारीमा शितल हुन्छ। यो वायुमण्डलमा नाइट्रोजन तुलनात्मक रुपमा अत्यधिक छ। जो वनस्पतिको वृद्धिका लागि उपयोगी हुन्छ। ध्वनि सञ्चरणका लागि वायु परं आवश्यक तत्व हो। शब्द र स्पर्श वायुको प्रमुख गुण हुन्।

भवनको निर्माण गर्दा पर्याप्त मात्रामा वायुप्रवेशको विचार पु¥याउनु पर्दछ। भवनको ईशान कोणमा अतिनै शुभदायक ऊर्जा (अल्ट्रावयलेट) रहन्छ। अतः ईशानकोणमा फोहोर मैला राख्नु हुँदैन। त्यस्तो शक्तिको प्रवेशका लागि ईशान वा वायुकोण अन्यकोणका तुलनामा अधिक खुल्ला छाड्नुपर्दछ।

शब्द र स्पर्शका कारणले प्रकृतिविकृतिजन्य तत्वको उदय हुन्छ। अनि तिनै तत्वले मन मस्तिस्कमा प्रभाव पार्दछ र कर्ममा लगाउँछ। त्यसैले घर, भवनमा झ्याल, ढोका, बार्दली, बुर्जा, आँखीझ्याल वास्तुशास्त्रीय सिद्धान्तका आधारमा राख्नुपर्दछ।

घर, भवन, व्यापारिक संस्थान आदिमा समुचित र सकारात्मक वायु प्रवेशका लागि झ्याल, ढोका, आँखीझ्याल समुचित स्थानमा राख्नु पर्दछ। जस्तो कि मानव शरीरमा नवद्वार छन्। गवाक्ष छन्।

तर नाकबाट श्वासप्रश्वास जति सहज हुन्छ त्यति मुखबाट हुँदैन। त्यस्तै अन्य द्वारबाट झन गाह्रो हुन्छ। भवनको आयुका लागि वायुको मात्रा जति आवश्यक हुन्छ, प्राणीको जीवनका लागि पनि स्वच्छ वायु आवश्यक पर्दछ नै।

आकाश तत्व

वास्तुशास्त्रीय पञ्चतत्वमध्ये आकाशतत्व पनि महत्वपूर्ण तत्व हो। आकाशको गुण शब्द हो। यो व्यापक अनन्त अथाह छ। यो तत्व र पृथ्वीतत्वको तानातानमा यो ब्रह्माण्ड अडिएको छ। आकाशमा अनन्त शक्तिको सञ्चरण हुन्छ। आकाशमा नै आध्यात्मिक वैज्ञानिक मान्यता अनुसार आकाशगंगा रहन्छिन्।

यसलाई देवनदी पनि भनिन्छ। यही आकाशगंगामा हजारौं सूर्यअहरुले आ-आफ्नो मार्गमा यात्रा गर्दछन् अर्थात् प्रवाहित हुन्छन्, जल जसरी। ग्रह उपग्रहको यात्रा आ–आफ्नै वृत्तमा हुन्छ। आकाश भनेको शूण्य थप्दा जसरी दशौंगुणा लब्धि हुन्छ, त्यसैगरी आकाश अर्थात् शूण्य स्थान (खाली ठाउँ) भवनको अनिवार्य शर्त हो।

भवन निर्माणमा खाली ठाउँको अति नै महत्व रहन्छ। चाहे भवन बाहिरको खाली ठाउँ होस् वा भवनभित्रको खाली ठाउँ। यो शक्तिसञ्चरण गर्ने क्षेत्र पनि हो। मानव शरीरमा पनि आकाशतत्व रहेको छ।

जस्तै नाकेओढार, मुखेओढार, कानेओढार आदि। यो आकाशतत्व नरहने हो भने मानवको न त बोली, श्रवण, ज्ञान केहही हुँदैन। त्यस्तै भवनमा खाली ठाउँ भएन भने न त कोठा, सिलिङ केही रहँदैन। त्यसैले आकाशतत्वको अभावमा भवन, मनुष्य वा संसार सम्भव हुँदैन।

त्यसैले आकाशतत्वको समन्वयका लागि सही स्थान आधार अपनाउनु पर्दछ। जसले भवनलाई टिकाउपूर्ण बनाउँदछ भने निवास गर्नेलाई सुख, समृद्धि, आरोग्य, आयू, आनन्द प्रदान गर्दछ।

अनुचित स्थानमा खाली ठाउँ छोड्दा गलामा लगाउने माला कमरमा बाँधेजस्तो हुन्छ। शरीरको एकछेउ अर्थात् खुट्टामा लगाउने वस्त्र (माटो) त्यस्तै शरीरको अर्काेछेउ टाउकोमा लगाएजस्तो अनौचित्यपूर्ण हुन्छ।

मानव शरीरमा पञ्चतत्वको समन्वय छ, त्यसैगरी ब्रह्माण्डमा पनि पञ्चतत्वको जीवनचक्र र क्रम छ भने आवासीय वा व्यापारिक भवनमा नहुने कुरै भएन। वास्तुशास्त्रानुसार घर, भवन, दरवार बनाउँदा चार विदिशामा चारतत्व र मध्यमा आकाशतत्व रहनुपर्दछ।

वायूतत्वको अधिपति वायूईशानको जल, आग्नेयको अग्नि र नैर्ऋत्यकोणको पृथ्वी तत्व अधिपति हुन्। मध्यभागको आकाशतत्व अधिपति हुन्। त्यसैले भवनमा आन्तरिक सजावट वा कोठा निर्धारणमा ईशान वा नैर्ऋत्यकोण गृहस्वामीका लागि राख्नुपर्दछ भनिएको हो। मानव शरीरमा जल र पृथ्वीतत्व अधिक रहने हुँदा सोही विदिशामा निमास गर्नु वाञ्छनीय हुन्छ।

राशिफल(मई १देखि १५सम्म)

मेष राशि :चु,चे,चो,ला,लि,लु,ले,लो,अ

कार्यमा उत्साह र जाँगर बढ्ने देखिन्छ। आफन्तको सहयोगले अल्झिएका कार्य सुचारु हुनेछन्। शैक्षिक क्षेत्रमा गरेको लगानीले प्रशस्त प्रतिफल दिने छ। सवारीसाधन तथा घर घडेरीको प्राप्ति हुने योग छ।

पारिवारिक सुख प्राप्त हुनुका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। अध्ययनअध्यापनमा प्रगति हुनेछ।। राजनीतिक अवस्थाका कारण असमझदारी बढ्न सक्छ। मानसिक नैराश्यता बढ्न सक्छ। वैदेशिक व्यापारिक कार्यबाट सन्तोष प्राप्त हुनेछ।

वृष राशि : इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

समाजका विशिष्ट व्यक्तिहरुसँगको सम्बन्धले कार्य सफलता मिल्नेछ। वैदेशिक यात्राको योग रहेको छ। राज्यबाट मान सम्मान पाइएला। पतिपत्नीबीचको सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्यमा सामान्य सुधार आउनेछ।

पतिपत्नीबीचको सम्बन्ध सुमधुर रहनेछ। गरेका कार्यहरुबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। आफन्तजनको सहयोग प्राप्त होला। सामाजिक कार्यमा सहभागिताको अवसर प्राप्त हुनेछ।

मिथुन राशि : का,कि,कु,घ,ङ,छ,के,को,हा

धार्मिक कार्यमा सफलता मिल्नेछ। रमाइलो यात्राको योग छ। आर्थिक वृद्धि हुने देखिन्छ। राज्यको लागि विशिष्ट कार्य गर्ने अवसर मिल्ला। दाजुभाइमा मनमुटाव हुनेछ।

परिवारका सदस्यको स्वास्थ्य बिग्रिनाले तनाव हुनेछ। खाद्यान्न तथा अध्यापन जस्ता क्षेत्रमा सफलता प्राप्त हुनेछ। सामाजिक कार्यमा अवरोध आउला। व्यापारव्यवसायमा लगाएको लगानीको प्रतिफल उत्तम देखिन्छ।

कर्कट राशि : हि,हु,हे,हो,डा,डि,डु,डे,डो

राजनीतिक सक्रियता बढ्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ला। रोजगारीमा पदोन्नतिको अवसर प्राप्त होला। शैक्षिक क्षेत्रबाट प्रशस्त लाभ लिन सकिएला।

मनोरञ्जनात्मक यात्रामा सहभागी भइनेछ। प्रेमीप्रेमिकामा आपसी समझदारी बढ्नेछ। लामो समयदेखि रोकिएको कार्य आरम्भ हुनेछ। जागिरमा अस्थिरता रहनेछ।साझेदारी कामबाट त्यति लाभ प्राप्त गर्न नसकिएला। आकस्मिक धनलाभको योग छ।

सिंह राशि :  मा,मि,मु,मे,मो,टा,टि,टु,टे

परिश्रम बढ्ने देखिन्छ। दैविक प्रकोपको सामना गर्नु पर्ला। खर खजाना प्राप्तिको योग देखिन्छ। सुरक्षा क्षेत्रमा प्रसस्त लाभ मिल्नेछ। स्वास्थ्य प्रतिकूल रहनेछ। कला साहित्य तथा सिर्जनाको क्षेत्रबाट प्रसस्त लाभ प्राप्त होला।

सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नेछ। अग्निभयको योग छ। वाणिज्यव्यापारमा अपेक्षाकृत लाभ नहोला। लामो यात्राको योग रहेको छ। प्राज्ञिक क्षेत्रमा उन्नतिको अवसर प्राप्त हुने देखिन्छ

कन्या राशि : टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

पारिवारिक मेलमिलाप बढ्नेछ। प्रेमी प्रेमिकाबीचको सम्बन्ध प्रगाढ हुनेछ। व्यवसायिक भागेदारी बढ्न सक्छ। सन्तानसुख प्राप्त होला। अचल सम्पत्तिको कारोवार राम्रो रहनेछ। वैदेशिक यात्रा हुने छ।

धार्मिक कार्यमा संलग्नता रहनेछ। सामाजिक सद्भावमा विचलन आउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। शत्रुहरु सबल हुनेछन्। अध्ययन अध्यापनमा सुधार आउने भए पनि स्मरणशक्ति क्षीण हुने देखिन्छ। साझेदारी व्यापारमा प्रसस्त लाभ मिल्नेछ।

तुला राशि : रा,री,रु,रे,रो,ता,ती,तु,ते

स्वास्थ्यसम्बन्धी समस्याले सताउला। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। मनोरञ्जनपूर्ण यात्रा गर्नुपर्नेछ। व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्ने छ। अध्ययनअध्यापनमा मन जानेछ।

साहित्य, संगीत र कलाक्षेत्रबाट सफलता प्राप्त हुने छ। उद्योग, कल कारखानामा गरिएको लगानीबाट सफलता मिल्नेछ। जागीरमा पदोन्नतिको योग छ। मानसम्मान मिल्ने देखिन्छ। न्यायिक तथा कूटनीतिक कार्यमा सफलता मिल्नेछ।

वृश्चिक राशि : तो,ना,नी,नू,ने,नो,या,यि,यू

विलासिताका सामग्री किनबेचको योग छ। रोगबाधक क्षमतामा वृद्धि हुनेछ। स्वास्थ्यमा सुधार आउने देखिन्छ। बोलीको प्रभाव बढ्नेछ। सामाजिक कार्यबाट निरास हुने सम्भावना रहेको छ।

वाणीको प्रभाव रहनेछ। आफन्तसँगको सम्बन्धमा सुधार आउने छ। स्वास्थ्य गडबडी नै रहने देखिन्छ। पार्टीमा सहभागी हुने अवसर मिल्नेछ। राजनीतिक अन्योलता बढ्नेछ। कूटनीतिक प्रयासबाट थालिएका कार्यहरु सुचारु हुनेछन्।

धनु राशि : ये,यो,भा,भी,भू,धा,फा,ढा,भे

धन धान्यमा वृद्धिका सम्भावनाहरु देखिनेछन। सिर्जनात्मक लेखनको क्षेत्रमा प्रगति भएर जानेछ। दाजुभाइको सहयोग प्राप्त मिल्नेछ। प्रेमी प्रेमिकाबीचको सम्बन्ध सुमधूर रहनेछ। स्वास्थ्यको लागि धन खर्चिने योग छ।

अध्ययन अध्यापनमा सुधार आउनेछ। धार्मिक कार्यमा रुची बढ्नेछ। आम्दानीका नयाँ सम्भावनाहरु खुलेर जानेछन्। वैदेशिक लगानीबाट लाभ मिल्नेछ। घर घडेरीको व्यापार व्यवसायमा लाभ मिल्ने देखिदैन।

मकर राशि : भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी

आफन्तसँगको सम्बन्धमा सुधार आउने छ। पार्टीमा सहभागी हुने अवसर मिल्नेछ। खान पान तथा यात्रामा सावधान रहनु होला। राजनीतिक अन्योलता बढ्ने छ। विलासिताका सामग्री किनबेचको योग छ।

रोगबाधक क्षमतामा वृद्धि हुने छ। स्वास्थ्यमा सुधार आउने देखिन्छ। बोलीको प्रभाव बढ्नेछ। लेखन कार्यमा सफलता मिल्ने छ। नयाँ घरघडेरी किन्ने योजना बन्ने च छ। वाणीको प्रभाव रहनेछ।

कुम्भ राशि : गु,गे,गो,सा,सी,सु,से,सो,द

कूटनैतिक तरिकाबाट राजनीतिक कार्यमा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्ने छ। उद्योग, कल कारखानामा गरिएको लगानीबाट सफलता मिल्नेछ। जागीरमा पदोन्नतिको योग छ।

मानसम्मान मिल्ने देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउला। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। मनमा चञ्चलता उत्पन्न हुनेछ। मनोरञ्जनपूर्ण यात्रा गर्नुपर्नेछ। मानसिक अन्तद्र्वन्द बढ्न सक्छ।

मीन राशि :दी,दु,थ,झ,ञ,दे,दो,चा,ची

शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ। पारिवारिक सद्भाव कायम रहनेछ। व्यापारव्यवसायबाट सफलता मिल्नेछ। सामाजिक कार्यमा अपजशको सामना गर्नुपर्ला। धनहानीको योग देखिन्छ। मानसिकरुपमा नैराश्यता उत्पन्न हुनसक्छ।

सामाजिक दायित्व बढ्नेछ। मित्रहरुको सहयोगले महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ। वैदेशिक कार्यमा सफलताका सम्भावनाहरु देखिन्छन्। कलाको क्षेत्रमा लगानी बढ्नेछ। आफन्तको सहयोगबाट भएका कार्यहरु सुचारु हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *