मुख्यमन्त्री अधिकारीद्वारा मुग्लिन–पोखरा सडक योजना अनुगमन

डिसी नेपाल
२८ वैशाख २०८१ २०:१४

दमौली। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाको आज स्थलगत अनुगमन गरेका छन्। उनले योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा, बेलचौतारामा सडकको कामका बारेमा अनुगमन गरेका हुन्।

सो अवसरमा मुख्यमन्त्री अधिकारीले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिँदै काममा तीव्रता दिन निर्देशन दिएका छन्। सडक आयोजनाको काम ढिलाइ हुँदा जनतालाई सास्ती भइरहेकोप्रति सचेत रहन मुख्यमन्त्री अधिकारीले आग्रह गरे।

उक्त खण्डअन्तर्गत शुक्लागण्डकी नगरपालिकामा घर–टहरा भत्काउन ढिलाइ भएको छ। शुक्लागण्डकी नगरपालिकास्थित शेराटारदेखि कोत्रेसम्म सडक मापदण्डभित्र निर्माण गरिएका एक सय ४६ संरचना हटाउन ढिलाइ भएको हो।

संरचना हटाउने प्रयोजनका लागि रितपूर्वक पेस भएका निवेदकहरुलाई क्षतिपूर्ति वितरणको कार्य प्रारम्भ भए पनि कतिपयले क्षतिपूर्ति रकम लिएर पनि घर भत्काउन ढिलाइ गरेको जनाइएको छ।

पश्चिम खण्डमा हालसम्म २३ प्रतिशत प्रगति भएको छ। पश्चिम खण्डमा हालसम्म नौ किलोमिटर एकतर्फी कालोपत्र सकिएको छ। जामुनेदेखि पोखरासम्मको ३८ किलोमिटर दूरीमध्ये २० किलोमिटर सडक छ लेनको हुने पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए।

पश्चिम खण्डका चार ठाउँमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माण गरिनेछ। तनहुँको म्याग्देखोला, कुम्लेखोला, कोत्रेको सेती नदी र विजयपुलमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माणको काम अगाडि बढाइएको छ। पश्चिम खण्डको काम विगतमा केही सुस्त भए पनि अहिले कामले तीव्रता पाएको पौडेलको भनाइ छ।

पश्चिम खण्डको म्याद अवधि विसं २०८१ भदौ १२ गतेसम्म रहेको छ। यो खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *