वरिष्ठ संगीतज्ञ रन्जित गजमेरलाई अमेरिकामा सम्मान गरिने

डिसी नेपाल
२ जेठ २०८१ १२:१०

काठमाडौं। वरिष्ठ संगीतज्ञ रन्जित गजमेरलाई अमेरिकामा सम्मान गरिने भएको छ। बलिउडका ‘मादल उस्ताद’ समेत रहेका जनजनको मन मुटुमा बस्न सफल वरिष्ठ संगीतज्ञ गजमेरको सम्मानमा अमेरिकामा रहेका भुटानी नेपालीहरुले रन्जित गजमेर उत्सव आयोजना गरेर उनको सम्मान गर्न लागेका हुन्।

लोकप्रिय गायक , संगीतकार तथा कार्यक्रमका संयोजक किशोर शिवाकोटीका अनुसार नेपाली संगीत जगतका प्रतिष्ठित गजमेरको सम्मानमा ‘रन्जित गजमेर उत्सब जिन्दगानी दर्पाण छायाँ’ नामक कार्यक्रम आगामी जुन २२ तारिखका दिन अमेरिकाको ओहायो राज्यको सिन्सिनाटीमा आयोजना गर्न लागिएको हो ।

‘सम्झना’, ‘कुसुमे रुमाल’, ‘बासुदेव’, ‘साइनो’, ‘लाहुरे’, ‘चिनो’, ‘दुई थोपा आासु’, ‘कोसेली’, ‘दर्पण छायाँ’ जस्ता लोकप्रिय चलचित्रहरुमा संगीत भरिसकेका वरिष्ठ संगीतज्ञ गजमेर सन् १९८१ मा ‘बाँसुरी’ नामक नेपाली चलचित्रबाट संगीतकारको रुपमा उदाएका अग्रज स्रष्टा हुन्।

संगीत क्षेत्रमा संघर्ष गर्न काठमाडौंबाट सोझै बम्बई हानिएका उनले राहुल देव आरडी बर्मनसँग सहकार्य गरेका थिए । गजमेरले भरेको मादलको धुन धेरै बलिउड सिनेमामा सुन्न पाइन्छ। उत्सवमा गजमेरले संगीत भरेका गीतहरुलाई अमेरिकाका प्रतिष्ठित संगीतज्ञहरुको साथमा नेपाली संगीतकर्मीहरुले अर्केस्टामा प्रस्तुत गर्नेछन्। जसमा संगीतको नोबेल पुरस्कार मानिने ग्रामी अवार्ड हासिल गरेका केही संगीतकर्मीहरुको सहकार्य रहनेछ, जुन कुरा बिरलै अरु अवसरहरुमा देख्न पाइन्छ ।

उत्सवमा बरिष्ठ गायक तथा प्रसारक रविन शर्मा, प्रकाश श्रेष्ठ, सुजता बर्मा, द भोइस अफ नेपाल सिजन ३ टाइटल विजेता किरण गजमेर, मन्जु लामा, कान्छी माया सुब्बा लगायत अरु २ दर्जन बढी कलाकारहरुले प्रस्तुती दिनेछन्। सोही उत्सवमा वरिष्ठ संगीतज्ञ गजमेरलाई पुनर्वास भई अमेरिका पुगेका नेपालीभाषी भुटानी समुदायबाट सामूहिक अभिनन्दनसमेत गरिने आयोजक संस्थाहरु मेनुका मेमोरियल फाउन्डेशन, नक्षत्र फाउण्न्डेसन र भुटनिज नेपाली आर्टिष्टको भनाई रहेको छ।

नेपाली गीत संगीतको क्षेत्रका यी शिखर पुरुषलाई सम्मानार्थ आयोजना गर्न लागिएको कार्यक्रममा नेपाली संगीत प्रेमीहरुको बाक्लो उपस्थिती रहने आयोजकले जनाएको छ । कार्यक्रममा वरिष्ठ संगीतज्ञ गजमेरलाई नगद राशि सहित सम्मान अर्पण गर्न लागिएको हो।

कार्यक्रममा गजमेरका चर्चित गीतहरु साउने झरी, झझल्को, वीरताको चिनो, सपना भई आँखामा, लगायत दर्जन भन्दा बढी गीतहरु गुन्जिनेछन् । कार्यक्रम बारे जानकारी दिँदै नक्षत्र फाउण्न्डेसनका अध्यक्ष अर्जुन सुवेदीले यो सम्मानले सबैमा उत्साह थप्ने बताए । सुवेदी भन्छन् यस्ता कार्यक्रमहरुले संगीत कर्ममा लाग्नेहरुमा थप उर्जा भर्ने विश्वास लिएका छौँ।

आयोजक मध्येका एक लामिन तामागंले (जनसम्पर्क) अमेरिकी र नेपाली कलाकारहरुको यस्तो निरन्तर सहकार्य र प्रस्तुतीले नेपाली गीत संगीत र कलाकारहरुको सम्बन्ध विकास गर्दै थप उचाईमा पुर्याउनका साथै यसको संवृद्धि र विश्वव्यापीकरणमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रमलाई समास फाउण्डेसन, कोकोम्हेंदो आन्सम्बल, भुटनीज अमेरिकन म्युजिक एसोसिएसन ९बामा०, ग्लोबल भुटनीज अर्गनाइजेसन (जिबियो), ग्लोबल भुटनीज लिटरेरी अर्गनाइजेसन (जिबिएलओ), लगायतका अन्य संघ संस्थाहरुको सहयोग रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *