एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक : प्रतिवेदनमाथि १२ समूहमा छलफल जारी

डिसी नेपाल
२ जेठ २०८१ १४:०८

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ।

ललितपुरको बालकुमारीमा मङ्गलबारदेखि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्न १२ वटा समूह बनाइएको छ।

राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक सांस्कृतिक पक्ष, समसामयिक विषयवस्तु उल्लेख गरिएका छन्। देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यलाई जोड दिइएको छ।

समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदनमा समाजवादको स्वरुप, अन्तर्राष्ट्रिय अभ्यास, आर्थिक रुपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय समावेश छन्। विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ।

साङ्गठनिक दस्तावेजमा देशभर पार्टी संगठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त सङ्गठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख छन् । समूहगत छलफलबाट आएका निष्कर्षलाई टोलीनेताले प्रस्तुत गरेपछि प्रतिवेदनमा समावेश गरी त्यसलाई अन्तिम रुप दिइने तयरी गरिएको छ।

पार्टीले आगामी असार १६ देखि २० गते काठमाडौँमा राष्ट्रिय महाधिवेशनको तयारी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *