‘अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ’

डिसी नेपाल
२ जेठ २०८१ १८:३१

काठमाडौं। भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले निर्माणाधीन राममन्दिरमा बन्ने ‘रामदरबार’मा नेपालको धनुष राख्न सकिने बताएका छन्।

नेपाल भ्रमणमा रहनुभएका राय र नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँगको भेटमा उनले धनुषयज्ञमा आधारित अयोध्या र जनकपुर तथा सीता र रामको सम्बन्धलाई जीवन्तता दिन मन्दिरमा सो प्रतीक राख्न आफूले पहल गर्नेसमेत बताए।

‘नेपाल र भारतको ऐतिहासिक सम्बन्ध छँदैछ, त्यसैमा अयोध्या र जनकपुरको विशिष्ठ सम्बन्ध छ। त्यो सम्बन्ध धनुषयज्ञमा आधारित राम र सीताको विवाहले सम्भव भएको हो’, रायले भने, ‘त्यसैले जनकपुरवासीका तर्फबाट धनुष प्रदान गरिएमा त्यसलाई ऐतिहासिक राममन्दिरको दोस्रो तलामा बन्ने रामदरबारमा राख्ने विषयमा मेरो पहल रहन्छ। त्यसले हाम्रो सम्बन्धलाई थप मजबुत बनाउने मेरो विश्वास छ।’

त्यसैगरी उनले नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरी ल्याइएको शिला (देवशिला) बाट रामललाको मूर्ति बनाउने भनिए पनि कालिगढले केही प्राविधिक पक्ष देखाएर प्रयोग नगरेको समेत बताए। हाल सो शिलालाई दैनिक पूजाअर्चना गर्ने गरी रामसेवक पुरममा राखिएको उनको भनाइ छ।

‘हामीले मूर्ति बनाउने भनेरै नेपालको कालीगण्डकी नदीबाट शिला लिइएको कुरा सबैको जानकारी मै छ। त्यहाँ मूर्ति बनाउनेक्रममा कालिगढले केही प्राविधिक कारणले प्रयोगमा ल्याउने अवस्था भएन तर हाल नेपालको पहिचान झल्किने गरी दैनिक हजारौँ भक्तजनले पूजाअर्चना गर्ने ठाउँमा राखिएको छ। त्यसको महत्व, सम्मान र आस्थामा कमी हुन दिएका छैनौँ’, उनले भने।

त्यसक्रममा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका नेता निधिले सीताबिना राम र जनकपुरबिना अयोध्या अधुरो रहने भन्दै राममन्दिरमा राखिने धनुष नेपालकै हुनु अझ बढी सान्दर्भिक हुने बताए। उनले भने, ‘भारतीय पक्षकै मागअनुसार नै हामी धनुषको स्वरुप, धातु, आकार बनाउन तयार छौँ। त्यसैले सीता र रामको सम्बन्धलाई सधैँ स्मरणीय राख्न पनि त्यहाँ नेपालको धनुष राख्नुपर्छ भन्ने हाम्रो मत हो। त्यसमा तपाईं (राय) को भूमिका महत्वपूर्ण छ।”

उनीहरूबीच आगामी अक्टोबरमा द्विपक्षीय छलफल गरेर यो विषयलाई टुंग्याउने सहमति भएको नेता निधिको सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *