सोलुखुम्बुमा ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखा उपचार

डिसी नेपाल
३ जेठ २०८१ २३:२२
68
Shares

सल्लेरी। हिमाली सोलुखुम्बुको फाप्लुमा आँखाको ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार सेवा सुरुआत गरिएको छ। जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले आजदेखि उक्त प्रविधिबाट सेवा थालनी गरेको हो। सो प्रविधिबाट यहाँका आँखाका बिरामीलाई तिलगंगा आँखा अस्पताल काठमाडौंका विशेषज्ञले ‘अनलाइन’मार्फत प्रत्यक्ष सेवा दिन सक्ने आँखा केन्द्र प्रमुख विधान ताम्राकारले जानकारी दिए।

आँखा केन्द्र प्रमुख ताम्राकारले भने, ‘प्रविधिको मध्यमबाट यहाँका बिरामीलाई हामी आँखाको रेटिनामा भएका समस्याहरु पनि विशेषज्ञसँग परामर्श गराइ उपचार गराउने छौँ, आँखाको नानी फुलाएर नानीको पछाडिको समस्या पनि प्रत्यक्ष देख्न सक्ने भएकाले आँखा उपचार सेवाको क्षेत्रमा सोलुले अर्को फड्को मारेको छ।’

‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिले आँखाको पर्दामा देखिएको समस्या पहिचान गर्न सजिलो हुने छ।  यस्ता समस्यालाई फोटो खिच्ने र त्यही फोटो हेरेर विशेषज्ञले सेवा प्रदान गर्न सक्दछन्।  यसबाट फन्ड्स क्यामेरा प्रयोगमार्फत तिलगंगा आँखा प्रतिष्ठानको ‘टेलिअफ्थाल्मोलोजी’ शाखामा रहेका आँखारोग विशेषज्ञसँग प्रत्यक्ष कुराकानी गरेर बिरामीको रोगको उपचार गर्न सकिने आँखा सेवा कार्यकर्ता दिनेश राईले बताए।

विकट स्वास्थ्य संस्थामा आएका बिरामीको रिपोर्ट सिधैँ सुविधा सम्पन्न अस्पतालबाट विशेषज्ञले हेर्ने प्रविधिभन्दा ‘टेलिअफ्थाल्मोलोजी’ अलिक प्रभावकारी प्रविधि भएको प्रमुख तामाङले जानकारी दिए। यो विधिबाट बिरामीले प्रत्यक्ष डाक्टरसँग कुराकानी गरी आफ्नो समस्या बताउन सक्छन्।

यो प्रविधि हिमाल स्वास्थ्य तथा वातावरणीय सेवा फाप्लु, हिमालयन क्याट्रयाक्ट प्रोजेक्टसँगको समन्वयमा प्रतिष्ठानले जिल्लामा पहिलो पटक सञ्चालनमा ल्याएको हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा फाप्लुका अध्यक्ष ङिमा तेण्डुप शेर्पाले बताए।

उनले भने, ‘दुरदराजका क्षेत्रमा पर्ने यहाँका नागरिक अब आँखाको विशेषज्ञ सेवा लिनकै लागि हजारौँ खर्च गरेर काठमाडौँ जानुपर्ने दिन गए, अब हामी यो प्रविधिको माध्यमबाट बिरामीलाई प्रत्यक्ष तिलगंगाका आँखा विशेषज्ञसँग परामर्श गराइ उपचार गर्नेछौँ।’

जिल्ला सामुदायिक आँखा केन्द्रले सञ्चालनमा ल्याएको यस प्रविधिले ग्रामीण भेगको दुरदराजमा रहेका बिरामीलाई काठमाडौं पुगेर सेवा लिन पर्ने झन्झटबाट मुक्त हुने अध्यक्ष शेर्पाको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *