द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो

डिसी नेपाल
११ जेठ २०८१ २३:२९

काठमाडौं। तराई/मधेस द्रुत मार्ग सडक आयोजनाअन्तर्गत धेद्रे सुरुङमार्ग छिचोलिएको छ।

मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग जोडेर एक हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग आज छिचोलिएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

कार्यक्रममा रक्षामन्त्री श्री हरिप्रसाद उप्रेती, प्रधानसेनापति महारथी प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा, रथीवृन्दलगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैरसैनिक व्यक्तिको उपस्थिति थियो । धेद्रे सुरुङमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको छ।

यसैगरी, यही जेठ ४ गते लेनडाँडा सुरुङमार्ग जोडेर काठमाडौंबाट निजगढतर्फको एक हजार ६ सय ३३ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको थियो। सोही अवसरमा रक्षामन्त्री उप्रेतले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्गलगायत द्रुतमार्गका निर्माणाधीन संरचनाको अवलोकन गरेको निर्देशनालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *