सञ्चारकर्मीको कथा : रेडियोबाट सञ्चारकर्म थालेका भण्डारी टेलिभिजनमा रमाउँदै

डिसी नेपाल
१७ जेठ २०८१ १४:४४
984
Shares

काठमाडौं। २०५८ सालदेखि सञ्चारकर्मको यात्रा थालनी गरेका  धनकुटाका सूर्य भण्डारीले यही क्षेत्रमा आफ्नो यात्रालाई आजपर्यन्त निरन्तरता दिइरहेका छन्।

रेडियो नेपालबाट २०५८ मा सुरु भएको उनको सञ्चार कर्मको यात्रा हालसम्मै अनवरतरुपमा जारी छ। सञ्चारको श्रव्य माध्यमबाट यस क्षेत्रमा पाइला चालेका उनी अहिले श्रव्यदृष्य सञ्चार क्षेत्रसम्म आइपुगेका छन्। रेडियोबाट सञ्चार क्षेत्रमा प्रवेश गरेका उनी हाल टेलिभिजनको दुनियामा रमाइरहेका छन्।

२०३१ सालमा धनकुटाको साविकको लेगुवा गाविस ३ (हालको महालक्ष्मी नगरपालिका) खानीखर्कमा जन्मिएका भण्डारी बाल्यकाल उतै गाउँमै बिताए । युवाअवस्थामा प्रवेश गरेपछि रेडियोमा बोल्ने हुटहुटीले सञ्चार क्षेत्रतर्फ आकर्षित गरेको उनी सुनाउँछन्।

‘गाउँमा रेडियो सु्न्दा आफूलाई पनि त्यस्तै बोल्न मन लाग्थ्यो ’, उनले विगत स्मरण गर्दै भने, ‘त्यसपछि काठमाडौं आएर रेडियो नेपालको रिपोर्टिङ शाखाबाट २०५८ देखि यस क्षेत्रमा जोडिए।’

उनी त्यसयता यही क्षेत्रलाई आफ्नो कर्मथलो बनाउँदै निरन्तरता दिइरहेका छन्। यद्यपि समयक्रम अनुसार माध्यम फेरिए पनि पेशा भने सञ्चार क्षेत्र नै यथावत रहेको छ।

रेडियो नेपालबाट सञ्चारकर्मीको रुपमा आफूलाई हिँडाएका उनले त्यसपछि अन्य एफएम रेडियोमा पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै टेलिभिजनको यात्रा तय गरेको उनको यस क्षेत्रमा २३ वर्षे अनुभव छ।

‘प्रविधिको विकाससँगै सञ्चार माध्यममा आएको बदलावले रेडियोबाट टेलिभिजनको यात्रा तय भयो। अहिलेसम्म टेलिभिजनमार्फत सञ्चारकर्मलाई निरन्तरता दिएको छु।’, उनले हालको अवस्था चित्रण गर्दै सुनाए।

विशेषतः उनले मनोरञ्जनात्मक क्षेत्रका लोकदोहोरी विधा आफ्नो रुचीकर क्षेत्र भएकाले सोही अनुरुप ‘देउराली’ कार्यक्रम सञ्चालन गर्दै आएको बताउँछन्। रेडियोबाट सुरु गरेको उनको सञ्चार कर्म अन्र्तगत कार्यक्रम सञ्चालन एवं प्रशारण सञ्चार क्षेत्रको विकास अनुरुप पछिल्लो समय टेलिभिजनमा स्थानान्तरण हुन पुगेको छ।

लोकगीत संगीतमा समेत रुची भएका भण्डारीले गीती एल्बम पनि निकालेका छन्। उनले ‘धनकुटाको देब्रे बासैमा’,‘ज्वाइँको खाँचो छ’ र ‘अरुण तरेर’लगायत गीती एल्बम एल्बम निकालेका हुन्।

‘त्यो समय एल्बमको समय थियो। लोक दोहोरी गायनतर्फ रुची भएकाले तीनवटा दोहोरी एल्बम निकालियो, निकै चर्चित पनि भए’ उनी विगत सम्झदै भन्छन्।

सञ्चार कर्म र कलाकारितालाई सँगसँगै अघि बढाउँदै आएका भण्डारी माउण्टेन, मेगा हुँदै अहिले कृषि टेलिभिजनमा आबद्ध रहेका छन्। नेपाल कृषि प्रधान मुलुक भएकाले देशको समृद्धिमा कृषि क्षेत्रको महत्वपूर्ण भूमिका रहने उनको बुझाइ छ ।

कृषि क्षेत्रलाई टेवा पुर्याउने उद्देश्यले विशुद्ध कृषिसँग सम्बन्धित कार्यक्रम मात्रै प्रशारण हुने कृषि टेलिभिजनसँगको आफ्नो यात्रा सुरु गरेको उनी बताउँछन्।अहिले कृषि टेलिभिजनको प्रमुख रहेका भण्डारी आगामी दिनमा पनि सञ्चार क्षेत्रलाई नै निरन्तरता दिने प्रण गर्छन्।

यस क्षेृत्रमा लागेकोमा कुनै गुनासो नरहेको बताउने उनले भविष्यमा सञ्चारकर्मबाट कृषि क्षेत्रको आधुनिकीकरणमा सघाउन आफ्नो भूमिका नियमितरुपमा रहने तर्क गरे। आजसम्म कुनै पनि राजनीतिक दल सम्बद्ध पत्रकार संगठनमा आबद्धता नरहेको जिकिर गरेका उनले श्रमजीवी पत्रकार संगठनको मात्रै सदस्यता लिएको बताउँछन्।

‘विशुद्ध सञ्चारजगतका मर्कामा परेका श्रमजीवीको पक्षमा आवाज उठाउँदै आएकाले श्रमजीवी पत्रकार संगठनको सदस्यता लिएको हुँ’,उनले भने। त्यसबाहेक अन्य कुनै पनि संगठनमा नरहेको उनले प्रष्ट्याए।

इमान्दारिपूर्वक आफ्नो पेशामा लाग्न उनले सबै सञ्चारकमीलाई सुझाउँछन्। आफ्नो पेशाप्रति इमान्दारिपूर्वक कटिबद्ध भए कसैले औंला ठड्याउन नसक्ने उनको विश्वास छ।

आजसम्मको यात्रामा अनेकौं अभाव छिचोलेका भण्डारी आफ्नो पेशाप्रतिको लगाव यथावत रहे एकदिन अवश्य सफल हुने सल्लाह दिन्छन्। कसैप्रति वैरभाव नराखेर आफ्नो कर्मप्रति लगनशीलता कायमै राखेमा सफलतालाई कसैले रोक्न नसक्ने यस क्षेत्रमा लाग्ने हरुलाई उनको सुझाव छ।

कृषकका समस्यालाई प्राथमिकता दिँदै त्यसको समाधान तर्फ राज्यलाई दबाव दिने प्रयत्न जारी राख्ने उनी बताउँछन्। कृषकका पीडा र कृषि क्षेत्रको उपेक्षा हटाउन कृषि टेलिभिजनको माध्यमबाट आफ्नो पेशागत दायित्व निरन्तर निर्वाह गर्ने ध्येयमा रहेको उनी सुनाउँछन्।

‘विगतदेखिको कर्म यथावत नै छ तर माध्यम मात्रै फरक परेको हो।’, उनी भन्छन्, ‘हिजो मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरियो आज कृषि क्षेत्रका समस्या र कृषकका पीडा उजागर गर्दै त्यसलाई सम्बोधन गराउन प्रयत्नशील छु।’

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *