मुलुकको बिग्रँदो अवस्था सुधार्न एमाले सरकारमा सहभागी भएको होः पद्मा अर्याल

डिसी नेपाल
२६ जेठ २०८१ २२:३४
28
Shares

अर्घाखाँची। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकको बिग्रँदो अवस्था सुधार्न आफ्नो पार्टी सरकारमा सहभागी भएको बताएकी छन्।

नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अर्यालले एमाले मिसन २०८४ सफल बनाउने उद्देश्यसहित सरकारमा सहभागीको बताइन्। ‘एमाले अहिले गठबन्धनको सरकारमा छ। यसबाट धेरै उपलब्धि हासिल गर्न नसकिए पनि मिसन २०८४ लाई सफल बनाउने हाम्रो उद्देश्य हो । यो अभियान सफल पार्न सरकारको भूमिका पनि हुने भएकाले हामी सरकार र जनताको बीचबाट अभियान सफल पर्न लाग्ने छौँ’, उनले भनिन्। रोजगारी सिर्जना र युवा पलायन रोक्न प्रमुख शक्तिका रूपमा रहेका एमाले र नेपाली कांग्रेससहित सबै लाग्नुपर्ने उनको भनाइ थियो।

पोलिट्ब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले जनप्रतिनिधिको काम र विकास योजनामा तालमेल हुन नसकेको बताए। आफू मुख्यमन्त्री हुँदा किसानलाई दूधमा उत्पादनका आधारमा अनुदान दिन सुरु गरेको तर अहिले बन्द भएकाले त्यस कार्यलाई अगाडि बढाउन आग्रह गरे।

अधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा अर्घाखाँची इन्चार्ज ठाकुर गैरे, केन्द्रीय सदस्य चेतनारायण आचार्य, बोमबहादुर विक, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, जनार्दन खनाललगायतले मन्तव्य राखेका थिए। अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *