पशुपतिनाथमा भेटी चोरीको अभियोगमा पक्राउ परेका पाँच जनालाई थुनामा पठाउने आदेश
काठमाडौं। जिल्ला अदालत काठमाडौंले पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गरेको अभियोगमा पक्राउ परेका छ जनामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश गरेको छ।
न्यायाधीश कपिलमणि गौतमको इजलासले उक्त अभियोगमा पक्राउ परेकामध्ये एक जना सत्यनारायण जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको र अन्य पाँच जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
उनले भने, ‘पशुपतिनाथको भेटी चोरी प्रकरणमा सोधपुछका लागि प्रहरीले पक्राउ गरेका सत्यनारायण जोशीलाई मात्रै काठमाडौं जिल्ला अदालतलले धरौटीमा रिहा गर्ने आदेश गरेको र अन्य सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश दिएको छ।’
गत जेठ ७ गते पशुपतिनाथमा भेटी गणनाका क्रममा चोरी गरेको सिसिटिभी फुटेजमा देखिएपछि विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, सञ्जय कपाली, कुमार दमाईं र अनिल परियारलाई विकास कोषले प्रहरीलाई खबर गरी पक्राउ गरेको प्रवक्ता अधिकारीले बताए।
उक्त प्रकरणमा सत्यनारायण जोशीलाई भने सोधपुछका लागि भन्दै केही दिन ढिला प्रहरीले पक्राउ गरेको थियो। पशुपतिनाथ मन्दिरको भेटी चोरी गरेको खुलेसँगै प्रहरीवृत्त गौशालाले प्रतिवादीलाई हिरासतमा राखेर अनुसन्धान गरिसकेपछि मुद्दा अदालतमा पेस गरेको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका छ जनाविरुद्ध रु दुई करोड ३० लाख १० हजार बिगो माग दाबी गरेर मुद्दा दायर गरेको विकास कोषका प्रवक्ता अधिकारीले बताए। उनले भने, ‘भेटी चोर्ने सबैलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र रु ५० हजारदेखि रु एक लाखसम्म जरिवानाको माग दाबी गरिएको छ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment