वीरगञ्जमा भेटिए कालाजार र डेंगीका बिरामी
वीरगञ्ज। वीरगञ्ज महानगर क्षेत्रमा एकजना कालाजार र सातजना डेंगीका बिरामी भेटिएका छन्।
स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण साहले वीरगञ्ज महानगर–९ रानीघाटमा बसोबास गर्दै आएकी एकजना महिलामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा परीक्षणका क्रममा कालाजारको लक्षण देखिएको बताए।
‘कालाजार देखिएको बिरामीको टेकुमा उपचार भइसकेको छ’, उनले भने, ‘कालागारको लक्षण देखिएको महिला वीरगञ्जमा बसोबास गरेकाले पनि सो क्षेत्रमा कालाजारको बिरामी हुनसक्ने भन्दै स्वास्थ्य स्वयंसेविकालाई सचेत गराउन अनुरोध गरेका छौँ।’ उनले लामो समयसम्म ज्वरो आइरहेका शङ्कास्पद बिरामीलाई परीक्षणका लागि अनुरोधसमेत गरे।
यसैगरी पर्सामा पछिल्लो तीन महिनामा यहाँका नौजनामा डेंगी भेटिएको बताए। पछिल्लो तीन महिनामा सात जना डेंगीका बिरामी महानगरभित्रै र अन्य दुई बिरामी ठोरी गाउँपालिका र विन्ध्वासिनी गाउँपालिकामा भेटिएका हुन्।
डेंगी ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो। डेंगीको विषाणुद्वारा संक्रमित भएको पोथी लामखुट्टेले यो रोग सार्दछ। रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमाभन्दा सहरी क्षेत्रमा बढी पाइने गरेको साहले बताए।
कालाजार भुसुनाको टोकाइबाट सर्ने सरुवा रोग हो। भुसुनाले रोगी मानिसलाई टोकेर स्वास्थ्य मानिसलाई टोक्दा यो रोग सर्छ। यो रोग झापादेखि बारासम्म १२ जिल्लामा पाइए पनि अन्य तराईका जिल्लामा फाट्टफुट्टरुपमा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment