वर्षाका कारण रारा विमानस्थलमा चार दिनदेखि हवाईसेवा अवरुद्ध, यात्रु मर्कामा

डिसी नेपाल
२२ असार २०८१ ११:५३
104
Shares

मुगु। हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।

निरन्तर वर्षा हुँदा मुगु, जुम्ला र हुम्लामा उडान ठप्प छ । विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा मर्कामा परेका छन् । तीन दिनदेखि जहाजको प्रतीक्षामा रहेका हरिकृष्ण ऐडीले शुक्रबार बसमा काठमाडौं जानुपरेको बताए।

“मौसममा सुधार आउने अवस्था नदेखेपछि बसको टिकट काट्न बाध्य भए”, उनले भने।

निरन्तरको वर्षाले चार दिनदेखि नेपालगञ्जबाट हवाई उडान नभएको रारा नागरिक उड्डयन कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले बताए। उनका अनुसार उडान बन्द भएपछि मुगुदेखि नेपालगञ्ज, सुर्खेत, काठमाडौँतर्फ जाने यात्रु र नेपालगञ्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिएका छन्। आज पनि मौसमका कारण उडान हुने सम्भावना न्यून छ।

हवाईसेवा अवरुद्ध भएपछि यात्रु जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य भएका छन् । हुम्लामा पनि वर्षाले तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ । खराब मौसमका कारण बुधबारदेखि हवाई सेवा अवरुद्ध भएको नागरिक हवाई उड्डयन कार्यालय सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए। हवाईसेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् ।

नेपालकै प्रमुख पर्यटकीय क्षेत्र रारा घुम्न आउने पर्यटक रारा विमानस्थलबाट हवाई यात्रा गर्ने गर्दछन्। यो विमानस्थलमा निजी तथा सरकारी स्वामित्वको विमानले दैनिक तीन÷चार उडान भर्दै आएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *