न्युरोड क्षेत्रको फुटपाथ विस्तारमा स्थानीयको अवरोध (फोटोफिचर)
काठमाडाैं। न्यूरोडमा फुटपाथ विस्तारको काम पुनः सुरुभएसँगै स्थानीयहरुले विरोध गरेका छन्। काठमाडौंको न्यूरोडमा फुटपाथ विस्तार गर्न नहुने भन्दै स्थानीयहरुले शुक्रबार विरोध गरेका हुन् ।

उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएपछि काठमाडौं महानगरले बुधबारदेखि पुनः काम सुरु गरेको थियो। तर स्थानीयहरुले नयाँ सडक बचाऔं, न्युरोड साँघुरो गर्न पाइँदैन भन्दै विरोध जनाएका हुन्।

स्थानीयहरुको विरोधपछि ठूलो संख्यामा नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो। काठमाडौं महानगर वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले स्थानीयको साथ लिएर मात्रै विकास निर्माण काम गर्नुपर्ने भन्दै दमन स्वीकार्य नहुने बताए।

उनले वडा नम्वर २४ मा गरिएको फुटपाथ विस्तारको कामलाई दशैंसम्म परीक्षणको रुपमा हेर्नुपर्ने र त्यसपछि सकारात्मक देखिमात्रै २२ वडामा विस्तार गर्न सुझाव दिए। उनले जनतालाई दमन गरेर घेरावन्दीमा विकासको काम गर्न नहुने जिकिर गरे।

यसअघि काठमाडौं महानगरले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे काटेको थियो। त्यसपछि सडक डिभिजन कार्यालयले हस्तक्षेप गरी महानगरले काटेको कालोपत्रे टालेको थियो।

सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरले उच्च अदालत पाटनमा रिट दिएको थियो। त्यसपछि उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएसँगै महानगरले काम सुरु गरेको हो।

No ads found for this position

डिसी नेपाल
Facebook Comment