राष्ट्रिय इतिहास लेखनमा चासो दिने इतिहासविद् बैद्यको सम्झनामा श्रद्धाञ्जली सभा
कीर्तिपुर। नेपालको राष्ट्रिय इतिहास लेखिनुपर्दछ भनेर आवाज उठाइरहने लुम्बिनी विश्वविद्यालयका पूर्व उपकूलपति तथा त्रिवि इतिहास केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख इतिहासविद् प्रा. डा. तुलसीराम बैद्यको मृत्युले देशले ठूलो क्षति व्यहोरेको इतिहासकारहरुले बताएका छन्।
त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रीय विभाग कीर्तिपुरले आइतबाार आयोजना गरेको स्वर्गीय तुलसीराम बैद्यको स्मृतिमा आयोजना गरेको श्रद्धाञ्जली सभामा विभागका विभागीय प्रमुख प्रा. डा. विष्णु सापकोटाले आफ्नो जीवनको शुरुवात नै बैद्यसरबाट भएको बताउँदै राष्ट्रिय इतिहास लेखनको लागि जहिले पनि चर्चा गरिरहने व्यक्तित्वका रुपमा स्वर्गीय तुलसीराम बैद्यलाई स्मरण गरेका छन् ।
श्रद्धाञ्जली सभामा लुम्बिनी विश्वविद्यालयका पूर्व उपकूलपति तथा त्रिवि इतिहास केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख प्रा. डा. त्रिरत्न मानन्धरले बैद्यसरले जहिले पनि इतिहास लेख्दा आलोचनात्मक ढङ्गले लेख्नु पर्दछ भनेर सिकाएको स्मरण गरे ।
इतिहास केन्द्रीय विभागका पूर्व विभागीय प्रमुखहरु प्रा. डा. राजाराम सुवेदी, प्रा.डा. कृषण बहादुर थपा, प्रा.निरञ्जन शर्मा, प्रा. डा. तीर्थप्रसाद मिश्र, प्रा. डा. राजकुमार पोखरेल र प्रा.डा. घनश्याम भट्टराईले श्रद्धाञ्जली सभामा इतिहास लेखन, अध्यापनका क्षेत्रमा स्व. तुलसीराम बैद्यको योगदान अतुलनीय रहेको बताएका छन् । सबैले आफूसंग भएको संगतको प्रसंग उठाउँदै जीवनमा बैद्यसरबाट सबै विभागीय प्रमुखहरुले केही न केही ज्ञान प्राप्त गरेको बताएका थिए ।
कार्यक्रममा प्रा. डा.तीर्थप्रसाद मिश्रले तुलसीराम बैद्यसरको कामलाई हामीले अनुशरण गरेको बताए । त्रिवि सेवा आयोगका अध्यक्ष प्रा. डा. घनश्याम भट्टराईले नेपालको इतिहास अध्ययनलाई उचाईमा पु¥याउनका लागि बैद्य गुरुको योगदान जीवनमा भुल्न नसक्ने बताए ।
कार्यक्रम प्रा.डा. रमेश कुमार श्रेष्ठले सञ्चालन गरेका थिए । इतिहास केन्द्रीय विभागमा आयोजित उक्त श्रद्धाञ्जली सभामा प्रा. डा. बद्रीनारायण गौतम लगायत विभागका सबै प्राधयापकहरुको सहभागिता रहेको थियो ।
इतिहास केन्द्रीय विभागका विभागीय प्रमुख समेत रहिसक्नु भएका प्रा. डा. तुलसीराम बैद्यको जन्म वि.सं. १९९६ फागुण १७ गते भएको थियो । उहाँको देहवसान वि.सं. २०८१ साउन २ गते काठमाडौंमा भएको हो ।
स्व. बैद्य त्रिभुवन विश्वविद्यालयको डीन, राष्ट्रिय विकास कार्यक्रमको अध्यक्ष, कीर्तिपुर विश्वविद्यालय क्याम्पसका क्याम्पस प्रमुख, इतिहास केन्द्रीय विभागको विभागीय प्रमुख तथा लुम्बिनी विश्वविद्यालयको उपकूलपति रहीसक्नु भएको थियो । नेपालमा इतिहासमा विद्यावारिधीको शुरुवात गराउने श्रेय उहाँलाई नै जाने गरेको इतिहास केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. विष्णु सापकोटाले बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment