पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै विश्वासपात्रबाट
काठमाडौं । जग्गा विवादका कारण पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै विश्वासपात्रबाट भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले रायको हत्यामा संलग्न रहेका दुई जनालाई सार्वजनिक गर्दै हत्याको कारण पत्ता लगाएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रविन्द्र सिंहका अनुसार अभियुक्तमध्ये एक जना पूर्व राज्यमन्त्री रायको विश्वासपात्र भएको उनको राय जग्गा विवाद रहेको थियो । विगत १० वर्षदेखि पूर्व राज्यमन्त्री रायको घरमा भान्सा लगायत आवश्यक अन्य काम गर्दै आएका २५ वर्षीय राम उजैन रायलाई प्रयोग गरेर विरेन्द्र रायले हत्या गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिंहले राम उजैन राय र चन्द्रनगर गाउँपालिका १ का ४६ वर्षीय वीरेन्द्र रायलाई पूर्व राज्यमन्त्री रायको हत्यामा संलग्न रहेको जनाकारी दिए।वीरेन्द्र राय र पूर्व राज्यमन्त्रीबिच जग्गाको विवाद रहेको तथा वीरेन्द्र रायले नै हत्या गर्न दुई लाख दिने प्रलोभन दिएका थिए । वीरेन्द्र राय र पूर्व राज्यमन्त्री राय सँधियार हुन्।
वीरेन्द्रको दृष्टिमा पूर्व राज्यमन्त्री रायले आफ्नो जग्गा मिचेका थिए । वीरेन्द्र रायले आफूलाई पूर्व राज्यमन्त्रीको अगाडि बोल्न तथा आफ्नो कुरा राख्न सक्ने हैसियत नभएकोले हत्याको योजना बनाएको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीको दाबी छ ।
दश वर्षभन्दा लामो समयदेखि विश्वासपात्रको रुपमा काम गरिरहेका राम उजैन रायलाई प्रलोभनमा पारेर हत्या गर्न लगाएका थिए ।
‘पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या गरेमा दुई लाख रुपैया नगद दिने तथा व्यवसाय गर्न फर्मसमेत बनाइदिने प्रलोभन दिएको र सोही प्रलोभनमा परेर विश्वासपात्र राम उजैनले पूर्व राज्यमन्त्रीको हत्या गरेको बयान राम उजैन रायले प्रहरी समक्ष दिएका छन्’, एसपी सिंहले भने ।
वीरेन्द्र रायको उक्साहटमा राम उजैन रायले गत साउन ७ गते राति पूर्व राज्यमन्त्री राय निदाइसकेको मौका छोपी फर्सा ९दबिया० ले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। हत्या गरेपछि राम उजैन रायले नै पौने १ बजे राति इलाका प्रहरी कार्यालय केशरगंज ईश्वरपुरलाई पूर्व राज्यमन्त्री रायको हत्या भएको जानकारी गराएका थिए ।
घटना भएको राति ९ बजेतिर तिन जना नचिनेको मानिस आएको र आफूलाई सुत्न पठाएको बताउँदै मध्यरातमा उठेर हेर्दा पूर्व राज्यमन्त्री रायको हत्या भएर मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेको बयान राम उजैन रायले दिएका थिए। घटनाका दुवै अभियुक्तलाई नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतबाट दश दिनको म्याद थप भएको छ।
रामचन्द्रको हत्यारा पत्ता लगाउन केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसन्धान अधिकारीहरु खटिएका थिए । उनीहरुको अनुसन्धानबाट जग्गा विवादका कारण हत्या भएको खुलेको हो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment