बंगलादेशमा नेपाली विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन

डिसी नेपाल
२१ साउन २०८१ १७:१९
84
Shares

काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बंगलादेशमा जारी रहेको आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्नसक्ने अप्ठेरोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छन्।

मन्त्री डा राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोन मार्फत त्यहाँको पछिल्लो अवस्थाका बारेमा आज जानकारी लिएपछि त्यहाँ रहेका नेपालीहरुको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न सो निर्देशन दिएकी हुन्।

त्यस अवसरमा बंगलादेशमा नेपाली विद्यार्थी लगायत सबै नेपाली नागरिक सुरक्षित रहेका बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले जानकारी गराएका थिए।

मन्त्री डा राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरुको सुरक्षाका लागि उनीहरुको सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूतावासलाई निर्देशन दिइन्।

ढाकास्थित नेपाली दूतावासले बंगलादेशमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएकाले त्यहाँ रहेका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन आज सूचना जारी गरेको छ।

सो सूचनामा बंगलादेशबाट अधिकांश विद्यार्थी स्वदेश फर्किसकेका, हाल त्यहाँ करिब ४०० विद्यार्थी रहेका र उनीहरु सुरक्षित रहेका जानकारी पनि दिइएको छ।

सो सूचनामा नेपाल फर्कन चाहनेहरुले दूताबाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक समन्वयका लागि दूतावासको सम्पर्क ठेगाना पनि दिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *