सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य

डिसी नेपाल
२३ साउन २०८१ २१:३३
20
Shares

सुदूरपश्चिम। यही साउन ८ गतेदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशसभा अधिवेशन आज रातिदेखि अन्त्य हुँदैछ। तत्कालीन विपक्षी दल नेपाली कांग्रेस, नेकपा (एमाले)लगायतले नेपालको संविधानको धारा १८३ को उपधारा (३)बमोजिम अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले अधिवेशन आह्वान गरेका थिए।

कांग्रेसका नेता कमलबहादुर शाहको नेतृत्वमा गठित प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले आज राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

अधिवेशन अन्त्यसँगै सरकारलाई अध्यादेशमार्फत चालु आर्थिक वर्ष २०८१/८२ का लागि बजेट ल्याउनसक्ने बाटो खुलेको छ । गएको असार १ गते तत्कालीन सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल गर्न गरिएको ढिलाइले उक्त बजेट पारित हुन सकेको थिएन।

सत्तासमीकरण फेरिएसँगै असार २३ गते नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि प्रस्तुत उक्त बजेट पारित हुन नसकेर अलपत्र परेको थियो। जसका कारण साउन १ गतेदेखि प्रदेश सरकार मातहतका निकायको राजस्व संकलन र खर्च गर्ने कार्य ठप्प छ।

अल्पमतमा परेका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अध्यदेशमार्फत बजेट ल्याउने प्रयास गरे पनि कांग्रेस, एमालेले अधिवेशनको माग गरेका थिए। मुख्यमन्त्री शाहले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बजेट शून्यताको अवस्थालाई संविधान र कानुनअनुसार तत्काल हटाएर राजस्व संकलनको अवस्था सिर्जना गर्ने पहल गर्न लागिएको बताए।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, नेकपा (एमाले) का ११, नेकपा (माओवादी केन्द्र) का सभामुख बाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *