ताप्लेजुङमा पहिराले दुई घर बगायो

डिसी नेपाल
३० साउन २०८१ २०:११
44
Shares

ताप्लेजुङ। गएराति गएको पहिराले फक्ताङ्लुङ गाउँपालिका–६ मा दुई वटा घर बगाएको छ। पहिराले कञ्चनजंगा आधार शिविर जाने पदमार्गअन्तर्गत घुन्सा खोलाको पुलसमेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिए।

पुल नजिकै स्थानीय छिरिङथाक्चे शेर्पाले होटेल सञ्चालन गर्दै आएको घर पहिराले बगाएको हो। उनकै अलैँची बगानमा रहेको अर्को घर पनि पहिराले पुरेको वडाध्यक्ष शेर्पाले बताए।

होटेल सञ्चालक शेर्पा आज दिउँसो सदरमुकाम गएको र होटलमा रहेकी उनकी छोरीसमेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति नभएको बताइएको छ। ‘साँझदेखि नै पानी पर्न सुरू भएको थियो, राति करिब २ बजेपछि पहिराले दुई घर बग्यो, घरमा कोही नभएकाले मानवीय क्षति भने भएन। घुन्सा खोलाको ८१ मिटर लामो पुलसमेत बगाएपछि ओहोरदोहोरमा समस्या छ, यसको विकल्प खोजी रहेका छौँ’, वडाध्यक्ष शेर्पाले भने।

पुल बगेकाले ओहोरदोहोरमा हुने समस्या समाधानका लागि तत्कालका लागि तुइन व्यवस्थापन गर्ने वा कुनै विकल्प गर्ने भन्ने बारेमा गाउँपालिकासँग समन्वय भइरहेको बताइएको छ। यही पुल भएर कञ्चनजंगा आधार शिविर जाने पदमार्ग पुग्ने गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *