भक्तपुरमा गाईजात्रा सम्पन्न

डिसी नेपाल
१० भदौ २०८१ २१:१९
24
Shares

भक्तपुर। यही भदौ ४ गतेदेखि भक्तपुरमा सुरु भएको गाईजात्रा पर्व आजबाट सम्पन्न भएको छ। जनैपूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि सुरु भएको भक्तपुरको गाईजात्रा पर्व आज तलेजुको पूजा गरेसँगै सम्पन्न भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

जनैपूर्णिमाको भोलिपल्ट गाईजात्राका दिन दिवंगत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने भए पनि अन्य दिनमा भने घिन्ताङघिसी नाच र व्यङ्ग्य प्रस्तुत गर्दै सात दिनसम्म गाईजात्रा मनाउने गरिन्छ।

गाईजात्रादेखि आजसम्म प्रत्येक दिन अपराह्न भक्तपुरमा घिन्ताङघिसी नाचसँगै हनुमान नाच, माक प्याख नाच, जंगली नाच, व्यङ्ग्यात्मक कार्टुन, प्ले कार्ड प्रदर्शन गर्दै टोलटोल घुमाइएको थियो। यसैगरी आजै भैरव मन्दिरमा नेवारी परम्परागत पहिरन हाकुपटासी लगाएर लामबद्ध सयौँ महिलाले टोलटोल घुमेर नारायणलाई बत्ती दिएका छन्।

श्रीकृष्ण जन्माष्टमी रहेकाले नारायणको पूजा गरी बत्ती बालेर भक्तपुरका बालबालिका एवं युवाहरूले टाउँको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, टौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी परिक्रमा गरेको थियो।

आज टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि विधिवत् रूपमा गाईजात्रा सम्पन्न भएको मानिने मूल नाइके जोशीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *