अविरल वर्षाः ललितपुरमा चार जनाको मृत्यु, महांकालमा प्रहरी चौकी बग्यो

डिसी नेपाल
१२ असोज २०८१ १२:४३
124
Shares

ललितपुर। अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा दुई जनाको मृत्यु भएको छभने गोदावरी नगरपालिका-३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ।

गोदावरी नगरपालिका-१० का वडध्यक्ष शेखर न्यौपानेका अनुसार टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र आठ वर्षीया बालिकाको मृत्युु भएको छ। गोदावरी-३ का वडाध्यक्ष सानुराजा घिमिरेले गोदावरी-३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको जानकारी दिए। उनका अनुसार गोदावरी कुण्ड नजिकैको घर पहिरोको उच्च जोखिममा रहेको छ।

महांकाल गाउँपालिका–३ मा तीन वटा घरसहित प्रहरी चौकी बाढीले बगाएको महांकाल-३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुलीले बताए। “वैतर्णीधाम मन्दिर र प्रहरी चौकी बगाएको छ, चौकीका सवारीसाधनसहित तीन वटा घर पनि बगेका छन्। त्यहाँ पाँच जना थिए। उनीहरु सम्पर्क छैनन्”, उनले भने। प्रहरीहरु भने सुरक्षित स्थानतर्फ गएको उनले बताए।

बागमती गाउँपालिका–६ आश्राङमा एउटा गोठ बगाउँदा १६ वटा पशुचौपाया बगाएको वडाध्यक्ष नारायण भोम्जनले जानकारी दिए। “हालसम्म मानवीय क्षति भएको छैन”, उनले भने।

बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ। “बागमती पुलमा क्षति भएको छ, खानीखोला हाइड्रोपावर डुबानमा परेको छ, बागमती ३ नं वडा कार्यालय जोखिममा छभने वडा नं ५ का रणबहादुर दर्लामीको घर खोलाले बगाएको छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *