गौशालामा महागरपालिकाले डोजर चलाएको भन्दै राष्ट्रिय मुक्ति पार्टीको आपत्ति

डिसी नेपाल
३० कार्तिक २०८१ १८:५९
192
Shares

काठमाडौं। सर्वोच्च अदालतमा पुनरावलोकन गरिएको मुद्दा अझै किनारा लाग्न बाँकी रहेको अवस्थामा काठमाडौं महागरपालिकाले आफ्ना कार्यक्षेत्र भित्र नपर्ने गौशालाका घरमा डोजर चलाएको भन्दै राष्ट्रिय मुक्ति पार्टीले आपत्ति जनाएको छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले महानगरपालिकाले नै स्वीकृति तथा निर्माण सम्पन्न प्रमाणपत्र प्रदान गरिसकेको गौशालाको घरहरुमा डोजर चलाउने प्रयासलाई संविधान, ऐन तथा कानुनको ठाडो उल्लघंनका रुपमा लिएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘ यस गैरकानूनी कार्यको विरुद्धमा शान्तिपूर्ण प्रतिरोध गर्न खोज्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिका संयोजक तथा राष्ट्रिय मुक्ति पार्टीका नेता सुमन सायमी, रविन्द्र कुमार श्रेष्ठ र दिपेन पन्त लगायतको समूहलाई गौशाला प्रहरीले गिरफ्तार गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। काठमाडौं महानगरपालिकाले विधिको शासनलाई बेवास्ता गर्दै गैरन्यायिक रूपमा यस्ता हस्तक्षेप गर्नु खेदजनक र अस्वीकार्य छ। कानूनी प्रक्रियालाई मिचेर गुण्डागर्दी शैलीमा तोडफोड गर्ने प्रयासप्रति हाम्रो घोर आपत्ति र भत्सर्ना छ।’

विज्ञप्तिमा यस प्रकारका कार्यहरूले भयावह परिस्थितिको जन्म दिन सक्ने चेतावनी दिँदै त्यसको सम्पूर्ण जिम्मेवारी काठमाडौं महानगरपालिका स्वयंले लिर्ने जनाएको छ। सो पार्टीले आफ्ना पक्राउ परेका नेता कार्यकर्ता तत्काल रिहा गर्नसमेत माग गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *